अमेरिकालाई उछिन्यो चीनले

अमेरिकालाई उछिन्यो चीनले

काठमाडौं : विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् ।

सन् २०११ मा अमेरिकामा चीनभन्दा दोब्बरले विद्युतीय सवारीसाधन गुड्ने गर्थे तर सन् २०१४ पछि चीनमा प्रयोगको दर विश्वमै बढी रहेको पाइएको छ । सन् २०१८ सम्ममा अमेरिकामा ३ लाख ६१ हजार ३ सय सात र चीनमा १२ लाख ५५ हजार विद्युतीय सवारी गड्दै आएका छन् ।

प्राथमिकताविहीन विद्युतीय सवारी

सन् २०३० मा युरोपलगायत देशले इन्धनका सवारी प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरेका छन् । नेपालले समेत वायु प्रदूषणको दर घटाउन विद्युतीय सवारीसाधनलाई बढावा दिने भने पनि प्राथमिकतामा राखेको छैन । सवारी प्रयोगको नीति, मापदण्ड र पूर्वाधार निर्माणमा राज्यले चासो नदिँदा प्राथमिकतामा पर्न नसकेको हो । राष्ट्रिय योजना आयोगले सरकारलाई तत्काल वातावरणमैत्री यातायात नीति ल्याएर विद्युतीय सवारीसाधनको प्रयोग बढाउन निर्देशन दिइसकेको छ ।

उपत्यकामा वायु प्रदूषणको दर ५ गुणा बढेपछि ०७३ माघ २५ गते राष्ट्रिय योजना आयोगले काठमाडौंको वायु प्रदूषण नियन्त्रण गर्न कार्यायोजनासहित निर्देशन दिइसकेको छ । विद्युतीय गाडी एकपटक चार्ज गरी ४ सय किलोमिटरसम्म गुड्न सक्ने उत्पादन भइसकेको छ । ब्याट्रीको आयु २५ वर्ष वारेन्टीको समेत उत्पादन गरेको छ । विद्युतीय गाडी ध्वनि प्रदूषण र कार्बन उत्सर्जन मुक्त भएकाले वातावरणमैत्री हुने वातावरणविद्को भनाइ छ ।

सेवाग्राहीले चाहे पनि राज्यले अनुकूल व्यवस्था नगर्दा सवारी प्रयोग गर्न नसकिएको यातायात व्यवसायीको आरोप छ । नीति निर्माण, प्रयोगकर्तामाथि विश्वास, प्राविधिक व्यवस्थापन, गाडीको क्षमता र विद्युतीय सवारीअनुसार सडक, खरिदमा राजस्व छुट , चार्जिङ स्टेसनलाई व्यापकता, भोल्टेजसहितको बिजुलीको व्यवस्था, मर्मत र ब्याट्री व्यवस्थापन र मर्मतमा दक्ष जनशक्ति उत्पादन गर्नु जरुरी भएको छ । नर्वेमा विद्युतीय गाडीलाई पार्किङ शुल्क लाग्दैन ।

यातायात व्यवस्था विभागले गाडीको क्षमतामा प्रश्न उठ्ने गरेकाले जाँचपासमा समस्या भएको भन्दै दुःख दिने गर्छ । इन्धनका सवारीजस्तै निर्माण कम्पनीले सञ्चालन क्षमताको ग्यारेन्टी दिए आवश्यक पूर्वाधारअनुसार सञ्चालनमा अनुमति दिने भने पनि विद्युतीय सवारीका लागि कुनै प्रावधान ल्याएको छैन । इच्छाशक्ति भए विद्युतीय गाडीको मापदण्ड तुरुन्त बन्ने सवारीसाधन परीक्षण केन्द्र टेकुका प्रमुख रामचन्द्र पौडेलले बताए । सडकमा हजारभन्दा बढी विद्युतीय सवारी गड्दै आए पनि कानुनी झन्झटले कतिपयले दर्तासमेत गरेको छैन । दर्ता गर्न सवारी परीक्षण केन्द्रले मापदण्ड नभएपछि सेतोगुम्बा उकालो चढाएर रिपोर्ट दिने गर्छ त्यो व्यावहारिक छैन । सवारीको सुरक्षा नहेरी कानुनी मापदण्डजस्ता समस्या मात्र दिने गरेको वातावरणविद् भूषण तुलाधरको आरोप छ ।

विद्युतीय सवारीसाधन निर्माण गर्ने विवाइडी अटो चिनियाँ कम्पनीले विद्युत् प्राधिकरणसँग सहकार्य गरी चार्जिङ स्टेसन निर्माण थालेको छ । तर, यो कार्यप्रति राज्यको चासो देखिएको छैन । कम्पनीले सुरुआती चरणमा पोखरा, भैरहवा, कुरिनटारलगायत मुख्य सहरमा स्टेसन राख्ने तयारी गरिरहेको छ । सर्वसाधारणलाई विद्युतीय सवारीबारे बुझाएर मुख्य सहर पोखरा, लुम्बिनी, नारायणगढ, मुग्लिन, धुलिखेल, काठमाडौं, हेटौंडालगायत सहरमा तत्काल चार्जिङ स्टेसन बनाउन जरुरी छ ।

विश्वका ठूला अटोमोबाइल कम्पनीले समेत सन् २०३० पछि पेट्रोल–डिजेल गाडी उत्पादन बन्द गरी विद्युतीय गाडी उत्पादन गर्ने घोषणा गरिसकेका छन् । त्यो अवस्थामा नेपाल पनि विद्युतीय गाडी प्रयोग गर्न बाध्य हुनेछ । बिएमडब्लु, टोयोटा, फियाट, किया, मर्मिडिज, बेन्ज, टोयोटा, होन्डा, रेनो, निसान, फक्सवागन, मित्सुबिसी र सेब्रोलेजस्ता चर्चित अटोमोबाइल कम्पनीले विद्युतीय सवारीसाधन बनाउन सुरु गरिसकेका छन् ।

पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी पु¥याउने लक्ष्य राखेर तीन सय विद्युतीय बस किन्ने निर्णयसमेत गरिसकेको छ । खरिद गरिएका विद्युतीय बस काठमाडौं उपत्यकामा मात्र नभई देशभर सञ्चालन गर्ने लक्ष्य सरकारको रहेको प्रवक्ता गोकुल बाँस्कोटाले बताए ।

यातायात व्यवस्था विभागको तथ्याङकअनुसार देशभर ३० लाखभन्दा बढी सवारीसाधन गुड्दै आएका छन् । यीमध्ये १३ लाख काठमाडौं उपत्यकामा गुड्छन् । इन्धनबाट गुड्ने सवारीकै कारण वायु प्रदूषणमा ३८ प्रतिशत हिस्सा ओगटेको भन्दै तत्काल न्यूनीकरण गर्न विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्ने सुझाव वातावरणविद्को छ । विद्युत् उत्पादनको दर बढेकाले विद्युतीयसवारी सञ्चालन उपयुक्त हुनेसमेत वातावरणविद्को सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.