आदिल हुसैनसँगको त्यो साँझ

आदिल हुसैनसँगको त्यो साँझ

मोक्ष प्राप्तिको कामना राखेका बाबु, दैनिक जीवनमा अति व्यस्त छोरा तथा त्यस वरपरका सम्बन्धहरूको सेरोफेरोमा घुमेको कथावस्तु बोकेको छ, बलिउड सिनेमा ‘मुक्ति भवन’ (होटल साल्वेसन) ले। यो सिनेमा दुई वर्षअघि प्रदर्शन भएको थियो। सुभाशिष भुटानियाको निर्देशन र मुख्य कलाकारद्वय आदिल हुसैन र ललित बहलको सशक्त अभिनयले सिनेमा सर्वोत्कृष्ट बनेको छ।

सर्वोत्कृष्ट यस अर्थमा, २५ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल रह्यो, यो सिनेमा। यसै सिनेमाका एक मुख्य पात्र आदिल हुसैन उत्कृष्ट अभिनयका लागि भारतीय राष्ट्रिय सिनेमा पुरस्कार (स्पेसल जुरी अवार्ड) २०१७ बाट सम्मानित भए। मानवीय सम्बन्धहरूबीच घट्दै गएको समवेदनालाई ब्यूँत्याउँदै जिम्मेवारीबोधलाई मन छुने तरिकाले प्रस्तुत गरिएको छ, सिनेमामा।

दक्षिण एसियाली विदेशी पत्रकारहरूको संस्था (एफसीसी) सिनेमा क्लबले गत फेब्रुअरी १२ मा संस्थाका सदस्यमाझ यो सिनेमाकोे विशेष प्रदर्शन तथा आदिल हुसैनसँगको साक्षात्कार कार्यक्रम राखेको थियो। नेटफ्लिक्समा अपलोड भइसकेको यो सिनेमा कार्यव्यस्तताका कारण हेर्ने मौका मिलेको थिएन। त्यसैले सिनेमा हेर्ने र नायकको कुरा सुन्ने अवसर गुमाउन चाहिनँ।

बेलुकी सात बजे सिनेमा स्क्रिनिङको समय निर्धारित थियो। म एफसीसी क्लबका अध्यक्ष एस बैंकेट नारायणसँग भलाकुसारी गर्दै थिएँ। समयनिष्ठ आदिल तोकिएको समयभन्दा पाँच मिनेटअघि नै आइपुगे।

‘लाइफ अफ पाई’, ‘इङ्लिस विङ्लिस’ तथा ‘जेड प्लस’ सिनेमाबाट उनको अभिनयको प्रशंसक भएको थिएँ म। व्यावहारिक अभिनेतासँगको पहिलो भेटमै सहज भइसकेको पत्तो नै पाइनछु। द वायर अनलाइनको अन्तर्वार्तामा केही समयअघि उनले भनेका थिए, ‘जात, पहिरन, सिद्धान्त, विचार, लिंग र स्तरका आधारमा नभएर सामुन्नेको व्यक्तिलाई आफूसँग कुराकानीका लागि सहज बनाउनु आत्मविश्वास हो।’ कन्फिडेन्सको योभन्दा उत्कृष्ट परिभाषा आफूले नभेटेको उनले उल्लेख गरेका थिए। यसलाई उनी व्यवहारमा पनि लागू गर्दा रहेछन् भन्ने एउटा त सञ्चारमाध्यमा उनीबारे स्टारहरूले दिएको सकारात्मक टिप्पणीबाट पनि थाहा हुन्छ। अर्को पहिलो भेटमै पंक्तिकारलाई पनि उनले यो अनुभूत गराए।

बैंकटेशमार्फत मेरो परिचय उनले पाइसकेका थिए, नेपाली पत्रकारका रूपमा। उत्साही भएर हात मिलाए। ६ फुट एक इन्चको हाइट भएका ओजिलो आवाजका धनी आदिलले पहिलो भेटमै मन जिते। उनीसँग धेरै गफिन मन थियो। आसाममा जन्मे र हुर्केबढेका यी कलाकारको नेपालसँगको कनेक्सनबारेको जिज्ञासा मनमा थियो।

प्रसंग मोडियो, मनीषा कोइरालातर्फ। दुई साताअघि मनीषा आसामको एक कार्यक्रममा क्यान्सरपीडितको सहयोगका लागि सहभागी थिइन्। त्यसको आदिलले ट्विटरमा प्रशंसा गरेका थिए। यसै प्रसंगमा कुरा गर्दै उनले मनीषासँग आफूले सिनेमा खेल्न लागेको जानकारी सेयर गरे। ‘मनीषा र म पहिलो पटक एउटा सिनेमाका लागि अनुबन्ध भएका हौं। श्रीमान्, श्रीमतीको भूमिकामा छौं, हामी। सिनेमामा मनीषाको भूमिका निकै सशक्त छ’, उनले थपे। उनका अनुसार यो सिनेमाको कथावस्तु अत्याधुनिक सोच भएकाहरू अनि पश्चिमा संस्कृति पछ्याउनेहरूले देखावटी रूपमा समाजमा एडजस्ट गर्दै गरेको द्वैध मानसिक चरित्रका पात्रहरूको वरपर घुमेको छ। नयाँ पुस्ताकी निर्देशक गीता मलिकले निर्देशन गर्न लागेको यो सिनेमाको सुटिङ अमेरिकास्थित एटलान्टामा हुनेछ।

कुराकानीका क्रममा सिनेमा सुरु हुन १५ मिनेट ढिलो पो भइसकेछ। आदिलले बैंकटेशलाई सम्झाए। सबैजना हलतर्फ लाग्यौं।

०००

सिनेमा प्रदर्शनपछि पत्रकारसँग कुरा गर्दै मृत्युलाई सहज रूपमा व्याख्या गरे आदिलले, ‘मृत्यु शाश्वत छ। तर मृत्युको समयबारे हामी अनभिज्ञ छौं, थाहा छैन हामी कहिले मर्छौं। तर, निश्चित रूपमा एक दिन मर्छौं। जीवनको अन्तिम सत्यका लागि म हरदम तयार छु। र, आफूले अभिनय गरेका कथावस्तुमा पनि म उत्तिकै विश्वस्त हुन्छु।’

‘मुक्ति भवन’ सिनेमामा काशीमा गएर मोक्ष प्राप्त गर्ने बुवा (दया)को इच्छा पूरा गर्न अनिच्छुक छोरा (राजीव)को भूमिका गरेका छन् आदिलले। ‘मुक्ति भवनले पर्दामा उतारेको विषयलाई मेरो जीवनमा पनि अनुसरण गरेको छु। र, यसलाई व्यवहारमा उतार्न पनि हमेसा कोसिस गर्नेछु’, उनले थपे। आध्यात्मिक यात्रा तर्फको झुकाव उनको आकर्षक व्यक्तित्वको अर्को पाटो थियो।

बेलायती पत्रिका ‘दी गार्जियन’ले ‘मुक्ति भवन’ सिनेमालाई निर्देशक भुटानियाको काल्पनिक कमेडी ड्रामाका रूपमा टिप्पणी गरेको छ। पत्रकार लेस्ली फिल्पेरिनले उल्लेख गरेकी छन्, ‘आफ्नो बुवाको अन्तिम यात्राको आरम्भमा निस्केको एउटा चतुर व्यापारी छोराको कथा जसले बिस्तारै मन्त्रमुग्ध पार्दै लैजान्छ। र, बिस्तारै विश्वसनीय लाग्दै जान्छ।’

०००

आसामको ग्वालपारा सहरको मध्यमवर्गीय मुस्लिम परिवारमा जन्मिएका आदिल (५३) को कलाकार बन्ने सपना सहजै पूरा भएको भने होइन। बुवालाई म एक्टिङ गर्न चाहन्छु भनेको उहाँको जवाफ थियो, ‘यो ठूला मान्छेहरूको सपना हो, यसको कुनै तुक छैन, हावामा महल नबनाऊ।’

उनले आफ्नो बुवाको कुरा सुनेनन्, आफ्नो भित्री हृदयको कुरा सुने। तर आफ्नो मध्यमवर्गीय परिचयको लघुताभासबाट निस्कन उनलाई झन्डै चार दशक लाग्यो। दृढ इच्छाशक्ति, सहयोगी साथीभाइको सहयोगले आफ्नो सपना बाँच्न पाएको उनले ‘द वायर’को अन्तर्वार्तामा भनेका छन्।

साक्षात्कारकै क्रममा उनले मनीषा र श्रीदेवीबारे निकै गहिरो टिप्पणी गरे। कलाकारको अनुहार पर्दाअगाडि र पर्दापछाडि फरक हुन्छ। तर आदिलले मनीषालाई पहिलो पटक पर्दामा निकै सुन्दर देखे। र, वास्तविक भेटमा पनि उही सुन्दरता कायम देखे। मनीषाको मुहारसँगै पवित्र भावना आदिललाई सुन्दर लाग्छ। ‘म उनको प्रशंसक पनि हुँ, उनीप्रति आकर्षित पनि थिएँ’, सुन्दरताको प्रशंसापछि उनको अभिनय क्षमताको तारिफ गर्दै आदिलले भने, ‘मैले एउटा कुरा भन्नैपर्छ, मनीषा र श्रीदेवी जस्ता कलाकारले क्षमताअनुरूपको भूमिका पाएनन्। उनीहरूको सिर्जनशील अभिनय क्षमतामा निखार ल्याउने पटकथा नै लेखिएन।’

आदिलको विचारमा मुख्य भूमिकाका लागि मनीषा र श्रीदेवी निकै सक्षम भए पनि उनीहरूलाई त्यो अवसर दिइएन। त्यही भएर उनलाई तुलनात्मक रूपमा बलिउड सिनेमाका पटकथाहरू अपरिपक्व लाग्छ। ‘तर आगामी सिनेमामा मनीषाले अहिलेसम्मकै सशक्त भूमिका गर्दै छिन्’, सेक्सपियरको दुःखान्त नाटक ‘ओथेलो’का लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रशंसा बटुलेका आदिलले भने।

नेपाल कनेक्सन

साक्षात्कार सकिएलगत्तै आसामका नेपाल र नेपाली समुदायबारे मैले राखेको जिज्ञासामा आदिलले भने, ‘म नेपाल गएको छैन तर त्यहाँ मेरा साथीहरू छन्, विद्यार्थीहरू छन्।’ उनले नेपाली नाट्य क्षेत्रका स्थापित कलाकार अनुप बरालको नाम लिए। बरालले उनलाई नेपाल बोलाएका पनि थिए। १९९०-१९९३ को सत्रमा आदिल एनएसीमा हुँदा अनुप स्नातकोत्तर गर्दै थिए। आदिलको अभिनयको प्रशंसा गर्दै अनुप भन्छन्, ‘आदिल हामीभन्दा सिनियर थिए। तर, उनी निकै सहज सरल, मिलनसार र सहयोगी थिए। सिकाउन उनी हमेसा तयार रहन्थे। उनको पढाउने र सिकाउने क्षमता अद्वितीय छ। उनको जीवन्त अभिनय क्षमताबाट म कायल थिएँ।’

भारतको उत्तरपूर्वी राज्य आसामको ग्वालापारामा अढाई दशक बिताएका आदिलको नेपाल र नेपाली समुदायसँगको सम्बन्ध गहिरो रहेछ। ‘नेपाली समुदायको बीचमा नै हुर्केको हुँ, आसाममा नेपालीहरूले निकै राम्रो गरिरहेका छन् र उनीहरू खुसी पनि छन्’, उनी भन्दै गए, ‘मेरो बाल्यकालका साथी नै नेपाली थिए।’ उनले बाल्यकालको साथीको नाम पनि सम्झिए, दिलीप क्षेत्री। अनि शारीरिक शिक्षा पढाउने शिक्षक मदन क्षेत्री पनि नेपाली नै थिए उनका।

०००

अभिनयका क्षेत्रमा ३३ वर्ष बिताएका, राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) बाट स्नातक हुसैन राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगत्मा राम्रा प्रशिक्षकका रूपमा पनि चिनिन्छन्। आसामेली, बंगालीदेखि हिन्दी, अंग्रेजी सम्मका नाटकहरूमा दमदार अभिनय गरेका आदिल पछिल्लो एक दशकदेखि बलिउड सिनेमामा पनि छाएका छन्। विशाल भारद्वाजको ‘कमिने’, ‘इश्किया’, ‘एजेन्ट विनोद’, मीरा नायरको ‘द रिलक्टेन्ट फन्डामेन्टलिस्ट’मा उनको अभिनय सम्झनलायक छ। तर, अभिनेताका रूपमा सन् २०१२ मा अस्कर अवार्ड विजेता सिनेमा ‘लाइफ अफ पाई’ र श्रीदेवीसँगको ‘इङ्लिस विङ्लिस’को सफलतासँगै उनी चर्चाको शिखरमा पुगे।

पाकिस्तानी समुदायको नर्वेजियन परिवारकी एउटी वयस्क छोरी तथा कन्जर्भेटिभ बाबुको सम्बन्धमा केन्द्रित नर्वेजियन सिनेमा ‘ह्वाट पिपुल से ? ’ (अरूले के भन्लान्)मा पनि आदिलको जीवन्त अभिनय छ। यसका लागि उनले उत्कृष्ट अभिनेताका रूपमा नर्वेजियन राष्ट्रिय अवार्ड २०१७ हात पारे। यसरी विदेशी मुलुकको राष्ट्रिय पुरस्कार जित्ने उनी पहिलो भारतीय कलाकारका रूपमा पनि चर्चामा छन्। यो सिनेमाको विशेष प्रदर्शनका लागि पत्रकारको टोलीसँग पुनः छिट्टै भेट्ने वाचासहित क्लबबाट उनी बाहिरिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.