आत्मनिर्भर बनाउँदै मिथिला चित्रकला

आत्मनिर्भर बनाउँदै मिथिला चित्रकला

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–२ की ५० वर्षीया निर्मला झा २१ वर्षदेखि मिथिला चित्रकलामा रमाउँदै आएकी छन्। २२ वर्षअघि श्रीमान् ईश्वरचन्द्र झाको निधन भएपछि उनलाई सन्तान हुर्काउन समस्या भयो। उनले आमा अर्हुल झाबाट थोरबहुत सिकेको मिथिला चित्रकलालाई जीवन चलाउने माध्यम बनाइन्।

छोरा लोकेश, छोरीहरू मीनु र मनितालाई पालनपोषण र शिक्षादीक्षा दिलाउन उनले मिथिला चित्रकलालाई व्यावसायिक रूप दिइन्। तर यहाँ मिथिला चित्रकलाको पढाइलेखाइमा समस्या भएकाले उनी भारत गइन्।

फागुन १८ देखि २३ सम्म जनकपुरधाममा धूमधामका साथ जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाइयो। महोत्सवमा मिथिला चित्रकला बिक्री गर्दै भेटिएकी उनले भनिन्, ‘नेपालमा मिथिला चित्रकलाको ज्ञान लिने ठाउँ छैन। अनुभवका अधारमा मिथिलानी महिला रंगीबिरंगी चित्र बनाउँछन्।’ अहिले उनी चित्रकलाबाटै छोराछोरीको विवाह र पढाइलेखाइ गराउन सफल भएको बताउँछिन्। छोरा लोकेश स्नातकोत्तर पढ्दै छन् भने दुवै छोरीको उनले धूमधामसँग विवाह गरिसकेकी छन्।

‘मिथिला चित्रकलाले यहाँका महिलाको सशक्तीकरणसँगै रोजगारी प्रदान गर्दै आएको छ’, निर्मलाले भनिन्, ‘चित्रकलाले मैथिलवासीकै पहिचान स्थापित गरेको छ। अब यसको पाठ्यक्रम स्कुल तहबाटै लागू गरिनुपर्छ।’

प्रदेश २ को राजधानी जनकपुर मिथिलाको बौद्धिक, सांस्कृतिक र कलाको दृष्टिले निकै अग्रणी र सम्पन्न छ। चित्रकलाले मिथिलाको कला, साहित्य र संस्कृति बचाइरहेको छ। महोत्तरीको जलेश्वर नगरपालिका–४, सुगाकी सुनैना ठाकुरले मिथिला चित्रकला बनाएर अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेकी छन्। ९ कक्षाको नेपाली किताबमा मिथिला चित्रकलाको पाठ पढेर चित्र कोर्न थालेकी सुनैनाको पहिचान मिथिला चित्रकलाले दिलाएको छ। उनी भन्छिन्, ‘मिथिला चित्रकलामा पूरै जिन्दगी समर्पण गरेकी छु। तर, हामीकहाँ न यसको पाठ्यक्रम छ न त पढाइ नै हुन्छ।’ भारतमा मिथिला चित्रकला पढिरहेकी उनी भन्छिन्, ‘मिथिलाको धरोहरका रूपमा मिथिला चित्रकला छ। तर राज्यको यसमा लगानी खासै छैन।’ सुनैना मिथिला आर्ट ग्यालरी चलाइरहेकी उनी नयाँ पुस्तालाई मिथिला चित्रकला पढाउन सकिएमा मिथिला परम्पराको विकास हुने बताउँछिन्।’

सर्लाहीको हरिपुर्वाकी २३ वर्षीया मनीषा साहले डाक्टर बन्ने सपना पाखा लगाएर मिथिला चित्रकला पढ्ने सोच बनाइन्। तर, उनले नेपालमा मिथिला चित्रकला पढ्ने ठाउँ नै पाइनन्। उनी भन्छिन्, ‘काठमाडौंको ललितकला क्याम्पसमा पढ्दै छु तर यहाँ मिथिला चित्रकला पढाइ नै हुँदैन।’ उनले जनकपुरका कलाकार अजित साहबाट मिथिला चित्रकला सिकिरहेको बताइन्।

नेपाली लोककलाको हिस्सा मानिने मिथिला चित्रकलाको आफ्नै इतिहास छ। विशेषतः मैथिल क्षेत्रका बासिन्दाले आफ्ना घरआँगन र भित्तामा कोर्दै आएको यो चित्रकला पछिल्लो समय व्यावसायिक बन्दै छ। परम्परागत मैथिल जनजीवन, रीतिरिवाज र पौराणिक घटनालाई मिथिला चित्रकलामा प्रस्तुत गरिएको साहित्यकार तथा संस्कृतिकविद् धीरेन्द्र प्रेमर्षि बताउँछन्। उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकारले मिथिला क्षेत्रको विकासका लागि लगानी गर्नुपर्छ।’

प्रगतिशील साहित्यकार रोशन जनकपुरीले मिथिला क्षेत्रको विकासमा सरकारको लगानी न्यून रहेको बताए। उनले भने, ‘मिथिला चित्रकलाको किताब लेखियो तर राज्यले नीतिगत रूपमा पाठ्यक्रम बनाएन।’

मैथिली विकास कोष जनकपुरधामका अध्यक्ष जीवनाथ चौधरीले मिथिला क्षेत्रको विकासका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए। जनकपुरधाममा स्थापित राजर्षि जनक विश्वविद्यालयमा मिथिला चित्रकलाको पढाइको व्यवस्था मिलाउने माग उनले गरे।

मिथिला कला, साहित्य तथा संस्कृति विश्वमा प्रख्यात रहेको प्रदेश २ का आन्तरिक तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जनाए। उनले भने, ‘पाठ्यक्रम बनाएर मिथिलाको संस्कार, संस्कृति र कलालाई स्कुल, क्याम्पसमा लागू गछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.