बाँदर नियन्त्रण गर्न स्थानीय प्रविधि
कुस्मा : पर्वतको महाशिला गाउँपालिकाले बाँदर छोप्न स्थानीय प्रविधिको विकास गरेको छ। ०७४/७५ को पहिलो गाउँसभाबाट संकल्प प्रस्ताव पारित गरी बाँदर नियन्त्रण अभियान थालेको पालिकाले स्थानीय प्रविधि प्रयोग गरी एकैदिन दर्जनौं संख्यामा बाँदर छोप्न सकिने बनाएको हो।
सुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर छोप्दै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट सजिलो र थोरै समयमा धेरै बाँदर नियन्त्रण गर्न सकिने गरी विकास गरिएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ। एउटा फलामको जारी र बाँसको नमुना घर बनाइएको छ र त्यसमा फलामको ढोका प्रयोग गरिएको छ। बिहीबार मात्रै २१ वटा बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष पौडेलले बताए।
उनका अनुसार अब छोटो समयमै धेरै बाँदर नियन्त्रणमा लिन सकिने विश्वास गाउँपालिकाले लिएको छ। गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रमअन्तर्गत नियुक्त गरेका स्वयंसेवक र तालिम नै दिएर तयार गरिएका केही कर्मचारीलाई उक्त कार्यका लागि परिचालन गरिएको अध्यक्ष पौडेलले बताए। यसअघि करिब साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएको छ। स्थानीय जनशक्ति तयार भएलगत्तै भारतीय नागरिकलई फिर्ता पठाइएको छ। बिहीबार पहिलोपटक सुरु गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिइन्। उनले भनिन्, ‘अब खेतबारी बाँझो राख्नुपर्ने अवस्था रहँदैन, ढुक्कसँग सबै सिजनमा खेती लगाउन सकिन्छ। ’ जतिबेला बाँदरको संख्या बढ्छ त्यति नै बेला नियन्त्रण गरिहाल्ने भएपछि समस्या नहुने उनको भनाइ छ।
बाँदरले बालीनाली सखाप पारेको गुनासो चुलिएपछि महाशिलाले अभियान नै चलाएर बाँदर छोप्न थालेको हो। चालु वर्षको कात्तिकसम्म नियन्त्रणमा लिइएका तीन सय ३० वटा बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएको र फेरि छोपेर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले बताए।
उनका अनुसार यतिको संख्यामा बाँदर नियन्त्रणमा लिन १२ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। गाउँपालिकाले बाँदर नियन्त्रण गर्न ०७५/०७६ मा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। गाउँपालिकाको दोस्रो गाउँसभाबाट बजेट नैै छुट्ट्याएर बाँदर नियन्त्रण योजना अघि सारिएको थियो। कात्तिकसम्म छोपिएका बाँदर सबै निकुञ्जमा पठाइएको र फेरि हिउँदे बाली पाक्ने बेला भएकाले नियन्त्रणमा लिन सुुरु गरिएको उच्चैले बताए।
गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकलाई ठूलो राहत मिलेको छ। पहिलेजस्तो बाँदरको आतंक नभएको उनले बताए। यो अभियानलाई अझै निरन्तर सञ्चालन गरिने पनि गाउँपालिकाले जनाएको छ। नियन्त्रणका लागि स्थानीय जनशक्ति र प्रविधि तयार भएपछि जुन ठाउँमा जुन समय आवश्यक प¥यो तत्काल खटाउन सकिने अध्यक्ष राजुप्रसाद पौडेलले बताए।
गाउँपालिकाअन्तर्गत ६ वटै वडामा पूर्णरूपमा बाँदर नियन्त्रण गर्नेगरी अभियान थालिने भएको छ। नियन्त्रणमा लिइएका बाँदर निकुञ्जमा लैजान धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही झन्झटिलो भने देखिएको छ। गाउँमा उत्पादित फलफूल, मकै, धान, तरकारीलगायत बाँदरले सखाप पारेपछि महाशिलाको गाउँसभाबाटै प्रस्ताव पारित गरिएको थियो। गाउँपालिकाका सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्तावसमेत पास गराएका थिए।
प्रतिक्रिया दिनुहोस !