बिर्तामोडमा ‘चिकेन स्टेसन’
बिर्तामोड : झापाको बिर्तामोडमा ‘चिकेन स्टेसन’ खुलेको छ। यसअघि केएफसीजस्तै कुखुराको मासुको स्वाद लिन भारतको सिलगुडीसम्म धाउनुपर्ने बाध्यता ‘चिकेन स्टेसन’ खुलेपछि हट्ने भएको छ। झापाका ऊर्जाशील युवाले पूर्वी जिल्लामा चिकेन स्टेसन खोल्ने लक्ष्यका साथ शनिबारदेखि बिर्तामोडमा सञ्चालनमा ल्याएका हुन्।
स्थानीय युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङको संयुक्त लगानीमा बिर्तामोडमा ४० लाखको लागतमा ‘चिकेन स्टेसन’ सञ्चालनमा आएको हो। काठमाडौंलाई केन्द्र बनाएर यसअघि सञ्चालित ‘चिकेन स्टेसन’ पूर्वमा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले झापाको बिर्तामोडमा शाखा विस्तार गरेको सञ्चालक मदन राईले बताए। वैशाखभित्र दमक र बेलबारीमा पनि सञ्चालन आउने उनको भनाइ छ। तीनवटै स्थानमा स्टेसन सञ्चालन गर्न एक करोड २० लाख खर्च लाग्ने उनले बताए।
सस्तो र सर्वसुलभ मूल्यमा केएफसीभन्दा ४० प्रतिशत सस्तोमा आफूहरूले ‘सीएफसी’ ग्राहकलाई उपलब्ध गराइने सञ्चालक राईको भनाइ छ। चिकेन स्टेसनमा ३० भन्दा बढी कुखुराका परिकार पाइने अर्का सञ्चालक नगेन बुढाथोकीले बताए। हाल यहाँ नौ जनाले रोजगारी पाएका छन् भने तीनवटै स्थानमा सञ्चालनमा आएपछि करिब ४० जनाले रोजगारी पाउने सञ्चालक बिन्दु गुरुङले बताए।
कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेन्चाइज आइटम’ पस्केको सञ्चालकहरू बताउँछन्। स्टेसन परिसरमा धुम्रपान र मध्यपान प्रतिबन्ध गरिएकाले पारिवारिक वातावरणमा जोकोहीले चिकेनको मजा लिन सक्ने उनीहरूको भनाइ छ। उद्घाटनको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको र नजिकिँदै गएको होलीमा समेत स्पेसल अफर ल्याइने सञ्चालक राईले बताए।
प्रतिक्रिया दिनुहोस !