नेपालकै होचो ठाउँमा स्तम्भ मात्रै
दमक : झापाको कचनकवल नेपालकै होचो ठाउँ हो। समुद्री सतहबाट ५८ मिटर उचाइमा छ। तर, यहाँ कचनकवल स्तम्भ निर्माणबाहेक अन्य भौतिक पूर्वाधार छैन। यस क्षेत्रको विकास हुन नसकेकामा कचनकवल गाउँपालिका–४ का साकिर मियाँ चिन्तित छन्। स्तम्भ जीर्ण बने पनि यसको संरक्षणमा कसैले चासो नदेखाएको उनले बताए।
‘यस ठाउँको धार्मिक तथा ऐतिहासिक महŒव छ’, उनले भने, ‘कचनकवलको प्रवद्र्धन गरे पर्यटक आउँथे। रोजगारी पनि बढ्थ्यो।’ स्तम्भ अवलोकन गर्न पुग्दा दुःख लागेको धान सुपरजोन कार्यान्वयन इकाइ बनियानीमा कार्यरत सिर्जना नेपालीले बताइन्। ‘मैले किताबहरूमा पढ्दा कचनकवल हेर्न रहर लागेको थियो’, उनले भनिन्, ‘पहिलो पटक देख्दा छक्क परें। एकदमै अव्यवस्थित रहेछ।’
पाँच बिघा आठ कट्ठा चार धुर क्षेत्रफलमा बनाइएको स्तम्भ जीर्ण बन्दै गएको छ। यहाँ प्रयोग गरिएका टायल चर्किएका छन्। यही बाटो हुँदै नेपाल–भारत आउजाउ हुने गरेको छ। नेपाल–भारत सीमा एक किलोमिटर दूरीमा छ। पर्यटकीय सम्भावना बोकेको यो क्षेत्रको विकासमा तीनै तहका सरकारले चासो नदेखाएको स्थानीयको गुनासो छ।
आदिवासी बाहुल्य यस क्षेत्रमा उनीहरूले रुचाउने संरचना निर्माण भए छोटो समयमा परिवर्तन आउने स्थानीयको बुझाइ छ। भारतलाई पनि मध्यनजर गरी स्थानीय सरकार लागिपरे विश्वसामु चिनाउन सजिलो हुने गाउँपालिकाका इन्जिनियर अमित ढुंगानाले बताए।
२०४४ पुस १६ गते राजा वीरेन्द्र शाहको भ्रमणका क्रममा स्तम्भ नामकरण गरिएको थियो। त्यति बेला सिमेन्टको एउटा स्तम्भ अनावरण गरिएको थियो। त्यही स्तम्भ होचो ठाउँको चिनारी भएको छ। छट झिललाई वीरेन्द्रले कचनकवल नामकरण गरेको स्थानीयको भनाइ छ। राजवंशीले झिललाई केचना भन्छन्। गाउँपालिका अध्यक्ष अन्जार आलमका अनुसार केचनाको पुरानो नाम छट झिल हो। राजवंशीले कछुवालाई कचन भन्ने भएकाले कचनकवल नामकरण भएको अग्रजको भनाइ छ।
भद्रपुर विमानस्थलबाट २९ किलोमिटर दक्षिणमा छ यो ठाउँ, जहाँ पुग्न यातायातको सहज सुविधा छैन। बनियानी बजारबाट यस क्षेत्रमा आइपुग्न नौ किलोमिटर कच्ची सडकको यात्रा तय गर्नुपर्छ। कचनकवल क्षेत्रमा दुइटा गेट, एउटा चौतारो र शौचालय छन्। यी पनि जीर्ण र अव्यवस्थित छन्।
गुरुयोजना बनाएर विकासको काम अघि बढाइरहेको गाउँपालिका अध्यक्ष आलमले बताए। उनका अनुसार गाउँपालिकाबाट स्तम्भ मर्मत गर्न १५ लाख बजेट विनियोजन गरिएको छ। ‘हामीले स्तम्भ मर्मत गर्ने तयारी गरेका छौं’, उनले भने, ‘गुरुयोजनाले यो क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास छ।’ १२ करोड लागतसहितको गुरुयोजनाबारे प्रदेश सरकार र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।
बनियानीबाट स्तम्भसम्म पुग्ने सडक राम्रो नहुँदा पर्यटकको चाप बढाउन नसकिएको उनले बताए। बनियानी–कचनकवल चार किलोमिटर बाटो ८० लाखमा ठेक्का लागिसकेको उनले सुनाए। होमस्टे, बोटिङको व्यवस्थासहित पार्क बनाउने योजना रहेको इन्जिनियर ढुंगानाले बताए।
प्रतिक्रिया दिनुहोस !