६७ वर्षीया युगमाया नातिसँगै एसईई दिँदै
ओखलढुंगा : लिखु गाउँपालिका- ६ का ६७ वर्षीया युगमाया कार्कीले नाति रोहन कार्कीसँग एसईई परीक्षा दिँदै छिन्। उनले काठमाडौंको उत्प्रेरणा महिला मावि सुविधानगर काठमाडौंबाट नियमित विद्यार्थीका रुपमा एसईई दिएकी हुन्।
युगमायाका अन्तरे छोरा बुद्धिबहादुर कार्कीका छोरा (नानी) रोहन भने काठमाडौंकै जेनेभ एकेडमीबाट परीक्षा दिँदैछन्। उनी कागेश्वरी मनहरा नगरपालिकामा बस्छिन्। युगमायाका ७ भाइ छोरा ५ जना नाती नातिनी छन्। अहिले काठमाडौं बस्दै आएकी उनी २००८ सालमा लिखु गाउँपालिका- ९ पोकलीमा जन्मेकी हुन्।
उनका कान्छा छोरा बेदबहादुर कार्की लिखु गाउँपालिका ६ गाम्नाङटारका वडाअध्यक्ष छन् भने दाजु गोविन्द पौडेल लिखु गाउँपालिकाका अध्यक्ष हुन्। सानै उमेर विवाह गरेर पढाइ छोडेपछि बुढेसकालमा फुर्सदमा नातिसँगै पढ्ने रहर पलाएको कार्कीले बताइन्।
उनलाई आइतबार बिहान ७ बजे संघीय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले खादा लगाएर शुभकामना दिँदै विदाइ गरे। उनले बुढेकाकालमा युगमायाको जोशले सबैलाई प्रेरणा दिने बताए। पूर्ण साक्षर घोषणा गरिएको ओखलढुंगालाई पूर्ण एसईई पास जिल्ला बनाउने अभियानमा उनको एसईई कोशेढुंगा हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस !