0४४ सालमा फेल भएका वडा अध्यक्ष एसईई दिँदै
बेनी : म्याग्दीको अन्नपूर्ण-८ राम्चेका वडा अध्यक्षसहित तीनजना जनप्रतिनिधि आइतबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका छन्। वडाअध्यक्ष खमबहादुर गर्बुजा, वडा सदस्य गेममाया पुन (राममाया) र देवकुमारी खोरजा बेनीको प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका हुन्।जनप्रतिनिधिसँगै एसईईमा सहभागी हुनेमा नांगीकी सामाजिक अभियन्ता जसमाया पुर्जा पनि छिन्।
५० वर्षीय वडाअध्यक्ष गर्बुजाले शैक्षिक योग्यता बढाउन एसईई परीक्षामा सहभागी भएको बताए। '२०४४को एसएलसीमा गणित विषय लागेर कटाउन सकेको थिइन, गर्बुजाले भने, 'पारिवारिक र सामाजिक जिम्मेवारीले त्यतीबेला पढाइलाई निरन्तरता दिन नसकेर छाड्नुपर्यो।अहिले फेरी आवश्यक ठानेर एसईई दिन लागेको हुँ।'
यसैगरी रघुगंगा गाउँपालिका- ३ मौवाफाँटको ज्ञानोदय माविका दुईजना दृष्टिविहीन विद्यार्थी मुक्तिधाम मावि भगवतीबाट एसईईमा सहभागी भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताए।
म्याग्दीका ९ वटै परीक्षा केन्द्रमा १० वटा नीजिसहित ७१ वटा विद्यालयका १ हजार १सय ७ जना छात्रा र १ हजार १सय३१ जना छात्र एसईईमा सहभागी भएका छन्। चारजना छात्रा र दुईजना छात्र अनुपस्थित रहे। परीक्षा केन्द्रमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको पन्ध्र हजार रुपैयाँबाट सबै केन्द्रमा कुल छात्रा संख्याको पन्ध्र प्रतिशतका दरले सेनेटरी प्याड र अत्यावश्यक औषधिको व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया दिनुहोस !