लगानी सम्मेलन : विश्व बैंकका उच्च प्रतिनिधि काठमाडौंमा
काठमाडौं : लगानी सम्मेलनमा भाग लिन विश्व बैंकको उच्च प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। विश्व बैंक समूहका दुई उपाध्यक्ष तथा विश्व बैंकको मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी (मिगा) का प्रमुख कार्यकारी अधिकृत नेपाल आएका छन्।
सम्मेलनले मुख्य पूर्वाधार योजनाहरुमा निजी लगानी आकर्षित गर्ने उद्देश्य राखेको छ। लगानी सम्मेलनमा भाग लिन मिगाका कार्यकारी उपाध्यक्ष कीको होन्डा, विश्व बैंकको दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हर्त्विग साफर तथा अर्थशास्त्र र निजी क्षेत्र विकास मामला हेर्ने उपाध्यक्ष हान्स पिटर लन्कस नेपाल आएका हुन्।
तीनै जनाले प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री डा.युवराज खतिवडासँग भेटेर विश्व बैंकको सहयोग बारे छलफल गर्ने विश्व बैंक नेपाल कार्यालयले जनाएको छ। साफरले सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्नेछन् भने होन्डा र लन्कसले शनिबारको सत्रमा पूर्वाधारमा वित्तिय लगानीसम्बन्धी अनुभवबारे बोल्ने कार्यत्रम छ।