सहिद स्मृति फुटबलको फाइनलमा दाउफिन्स र मकवानपुर भिड्ने
हेटौंडा : सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि मकवानपुर–११ र अफ्रिकन टोली दाउफिन्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार भएको सेमिफाइनलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै दाउफिन्सले फाइनलमा स्थान बनाएको हो।
हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो। टाइब्रेकरमा दाउफिन्सका एंगमा एंगोल, बिजिक, प्रिसो एम्जाम्बे, हान्सा एसा र यानिक ओआनाले गोल गरे।
थ्रीस्टारका रञ्जित धिमाल, मान्सा र विजय धिमालले मात्र गोल गरे। थ्रीस्टारका अनिल गुरुङले प्रहार गरेको बल बाहिरिएको थियो। थ्रीस्टारका गोलरक्षक अनिल गुरुङले राम्रा प्रहार विफल पारे पनि टोलीलाई फाइनलमा पुर्याउन सकेनन्। खेल अवधिभर दाउफिन्सले थ्रीस्टारलाई दबाबमा राखेको थियो।
उपाधिका लागि दाउफिन्सले आयोजकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानको सुविधा पाएको मकवानपुरलाई स्थानीय दर्शकको समेत साथ हुनेछ। नेपाल आएपछि चार उपाधि जितेको दाउफिन्सबाट उपाधि जोगाउन भने मकवानपुरले कडा मेहनत गर्नुपर्नेछ।
खेलको ६०औं मिनेटमा दाउफिन्सका यानिक ओआनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। थ्रीस्टारका रञ्जन विष्टले ७०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले दाउफिन्सले फल खेलेकाले हार बेहोर्नु परेको बताए। ‘खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु’, उनले भने ‘तर दाउफिन्सले धेरै फल खेल्दा हाम्रो धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था सिर्जना भएको छ।’ थ्रीस्टारका कप्तान एलन न्यौपानेले भाग्यले साथ नदिँदा पराजित भएको प्रतिक्रिया दिए।
दाउफिन्सका टिम व्यवस्थापक आशिक थापामगरले प्रतियोगिताको फाइनलमा अझै सुधारिएको खेल खेल्ने बताए। उनले रेफ्रीले समयमै निर्णय लिन नसक्दा खेलमा केही तनावको अवस्था सिर्जना भएको बताए। प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछन्।