क्लब विश्वकपमा २४ टिम
सन् २०२१ मा हुने क्लब विश्वकप फुटबलमा सहभागी टिमको संख्या २४ पुर्याइने भएको छ । अमेरिकाको मियामीमा बसेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) परिषद्को बैठकले २०२१ को क्लब विश्वकपमा २४ टिमलाई सहभागी गराउने निर्णय गरेको हो।
२४ टिमलाई आठ समूहमा विभाजन गरिनेछ र हरेक समूहका विजेताले क्वार्टर फाइनल खेल्नेछन् । यसअघि हरेक वर्ष हुँदै आएको क्लब विश्वकपमा छ महादेशका सात टिमले मात्र सहभागिता जनाउने गरेका थिए । सन् २०२१ मा हुने क्लब विश्वकप त्यसपछि चार वर्षको अन्तरमा हुनेछ । फिफाको यो निर्णयमा युरोपका क्लबले भने आपत्ति जनाएका छन् र उनीहरूले प्रतियोगिता बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।
बैठकले सन् २०२२ को कतार विश्वकपमा सहभागी टिमको संख्या ३२ बाट बढाएमा उसका छिमेकी कुनै एक देशलाई सहआयोजक बनाउने निर्णय गरेको छ । कतार विश्वकपमा कति टिम सहभागी हुन्छन् भन्ने निर्णय जुनमा हुनेछ । र, टिम बढेमा जुनमा नै मतदानबाट सहआयोजक देश छनोट गरिनेछ । फिफा परिषद्ले कतारलाई ३२ टिम नै सहभागी हुने गरी विश्वकपको तयारीलाई जारी राख्न पनि भनेको छ ।
सन् २०२६ मा हुने विश्वकपमा ४८ टिम सहभागी हुने यसअघि नै निर्णय भइसकेको छ । तर, फिफाले कतार विश्वकपमा पनि टिम बढाउने बारेमा अध्ययन गरिरहेको छ ।