बीपी : मानसपिता
बीपी कोइराला नभएको भए देशको राजनीति के हुन्थ्यो ? देश कता जान्थ्यो ? नेपाली साहित्यको हैसियत कहाँनेर हुन्थ्यो, म भन्न सक्तिनँ। हो, यत्तिचाहिँ भन्न सक्छु— बीपीको नाउँ, राजनीतिमा मात्र टाँसिएर साहित्यमा नगाँसिएको भए पनि मचाहिँ लेखक हुने थिइनँ।
साहित्य भनेको विराट् समुद्र हो। हर पाठकले आआफ्नो तिर्खा र समझको भाँडोले त्यो समुद्रमा तैरिएका÷डुबेका ज्ञान, मनोरञ्जन, शिल्प, दर्शन, वाद, सूचना, तर्क, तथ्य, आफ्नो क्षमताअनुसार उबाउने हो। लेखकले पोखेको अनुभवको त्यो विराट् समुद्रबाट हर पाठकले उति नै परिमाण र उस्तै स्वरूपमा सिञ्चित हुनुपर्छ भन्ने छैन। र यो सम्भव पनि छैन। हरेक लेखकले पोख्ने भिन्न आकार र स्वरूपको एउटा एउटा समुद्र छ। र, त्यसमा पनि सबै पाठकका रुचि र स्वादका फरकफरक अनुभव रहन्छन्।
आफूले पढ्न चाहेकोजस्तो लेखकले लेखिदेओस् भन्ने हरपाठकको चाहना हुन्छ। आफूले लेखेको हर सिर्जना पाठकले रुचाइदेओस् भन्ने चाहना हर लेखकको हुन्छ। तर त्यो नपाउँदैमा पाठक त्यही लेखकलाई जबरजस्ती पढिरहन अभिषप्त रहँदैन।
बीपी कोइरालाले पोखेको समुद्रबाट मैले कति साहित्य उबाएँ र कुन कुन समयमा कति तिर्खा मेटाएँ, म यही निजी अनुभवलाई लेख्ने दुस्साहस गरिरहेको छु।
ठ्याक्क सम्झना त भएन, कक्षा सात वा आठमा पढ्दा ताकाको कुरा हुँदो हो, हरेक शुक्रबार स्कुलमा अतिरिक्त क्रियाकलाप हुने गथ्र्यो। तीमध्ये ‘हाजिरी जवाफ’ हुँदा एउटाट प्रश्न यो पनि हुन्थ्यो, ‘दोषी चस्मा’का लेखक को हुन् ?
जवाफमा ‘बीपी कोइराला’ भनी पाँच वा दस अंक खातामा बटुलेर जिततर्फ एक पाइला बढाउनका लागि सबै टिमका कप्तान व्यग्र हुन्थे।
हो, यस्तै बेलाबाट बीपी कोइरालाको नाउँलाई चिनेको। भलै ‘दोषी चस्मा’ आद्योपान्त पढेको थिइनँ, केवल महेन्द्रमालामा सोही पुस्तकको शीर्ष कथा र ‘शत्रु’ कथा पढेको भरमा उनलाई हाइस्कुलका विद्यार्थी उनका पाठकको हैसियतमा आफूलाई राख्न सक्थे।
कहिलेकाहीँ सरमिसहरूले सोधेको बेला अथवा साथीभाइको अटोग्राफ भर्ने बेलामा ‘मन पर्ने लेखक’को कोलममा स्वतः बीपी कोइरालाको नाउँ मस्तिष्कबाट अवतरित हुन्थ्यो। उनलाई पढ्नु अलग कुरा। बुझ्नु झन् सुदूरको कुरा। नपढीकनै, उधारोमै बीपी मेरा ‘मन पर्ने लेखक’ भइसकेका थिए। कतिपय साथीहरूका पनि आआफ्ना मन पर्ने लेखक र मन पर्ने पुस्तकका सूची थिए। कसैको मन पर्ने पुस्तक ‘वार एन्ड पिस’ र मन पर्ने लेखक ‘लियो टोल्स्टोय’ थिए। कसैका मन पर्ने पुस्तक ‘थ्री मिन इन अ बोट’ र मन पर्ने लेखक ‘जेरम के जेरम’ हुन्थ्यो। कसैका ‘द मिल एन्ड द फ्लस’ र ‘जर्ज इलियट’ थिए। पढ्नु पर्दैनथ्यो, नाउँ सुनेकै भरमा यो तय हुन्थ्यो।
‘शत्रु’ र ‘दोषी चस्मा’ नाउँ गरेका कथा निम्न माध्यमिक तहमै दाइदिदीको महेन्द्रमालाबाट लुकीचोरी पढिसकेपछि घरको सानो पुस्तकालयमा खुम्चिएर बसेको दुब्लो पातलो, किताब फेला पारेँ—‘दोषी चस्मा’। ‘जीडी पन्त’को गणितभित्र लुकाएर एकै दिनमा पढिसकेको बीपी कोइरालाको पहिलो पुस्तक हो यो। बडो सुरुचिपूर्वक स्वाद मानीमानी, मुख मिठ्याई मिठ्याई, कट्याककुटुक थोपा, बाछिटै बाँकी नराखी एकै बसाइमा खाई चाटी सक्काएको जीवनको पहिलो पुस्तक सम्भवतः यही हो। मेरो काँचोकचिलो किशोर मस्तिष्कमा ‘अब म पनि लेखक बन्छु’ भनेर बीउ छरिदिने पहिलो पुस्तक यही थियो। मेरो मस्तिष्कमा शब्दहरू स्पन्दित भएको, हृदयमा आफ्ना पनि कथाका तानाबाना बुनिन थालेको यही पुस्तकबाट हो।
तिनताका एसएलसी दिइसकेपछिको समयको फुर्सदमा धेरैजसोको ब्रिजकोर्स वा कम्प्युटर कोर्सतिर लाग्ने चलन थियो। म भने कतै नलागीकन नेपाली साहित्यलाई पढ्न थालेँ। ‘नरेन्द्रदाइ’, ‘तीन घुम्ती’, ‘बाबु, आमा र छोरा’, ‘मोदिआइन’, ‘श्वेतभैरवी’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘जेल जर्नल’, अनि ‘आत्मवृत्तान्त’ मैले त्यही बेला पढेँ। एसएलसी दिएर फुर्सदमा बसेको कारणले योपटक मैले जीडी पन्तको किताबभित्र लुकाएर यी किताबहरू पढ्नु परेन।
हर पुस्तकले एउटा नयाँ लोकमा पुर्यायो। हर पात्रले मनमा सानोतिनो ठाउँ बनायो। हर परिवेशले मस्तिष्कलाई धेरथोर उद्वेलित बनायो। हर वाक्य, हर हरफ, हर विम्ब, प्रतीक, हर कथाले बीपीको कारिगिरी झल्कायो। हर कथाले मभित्रको अर्ध सुषूप्त कथाकारलाई धेरथोर कोट्याइरह्यो। यो पनि पक्कै हो कि बीपीको साहित्य मजस्तो बामे नै सर्न नजानेको, दाँतको हार नबसेको नवजात पाठकका लागि सम्पूर्ण रूपमा ग्राह्य हुन सकेन। कठिन भाषा, अत्यधिक संस्कृत शब्दहरूको प्रयोग, लामालामा वाक्य, दुर्बोध्य दर्शन कताकता पठन रफ्तारमाथिको अंकुश थियो। तथापि मगजले जेजति लिन सक्थ्यो लियो। र जति लियो, लिएको मध्येले नै उनले सिर्जेको समग्र साहित्यलाई सुस्वादिलो बनाइदियो।
पन्ध्र सोह्र वर्षको उमेरमा नरेन्द्रदाइ पढ्दा बीपीले गरेको गाउँको डिटेलिङ र पात्रहरूको चरित्रचित्रणमा मेरो मन जेजति रमायो, गौरी र मुनरियाको मनोविज्ञान खोतल्दा बुझाइको अन्योलले मगज उति नै गम खायो।
बाबु, आमा र छोरा पढ्दा बनारस सहर आँखैअगाडि अवतरित भएको थियो, जहाँ म निर्बाध विचरण गरिरहेको छु। मानौँ पात्रहरूसितै एक छेउमा लुकेर, उनीहरूको दिनचर्यालाई नजिकबाट नियालिरहेछु। तर तिनका मनोविज्ञान म बबुरोलाई फलामकै च्यूरा साबित भयो।
तीन घुम्ती सरसर्ती पढ्दा कतिपय ठाउँमा बीपीको दार्शनिकता बुझ्न नसकेर निकै अल्झिएको थिएँ। इन्द्रमायाको जीवनको समग्र तीवनटा मोड र ती मोडले उनको जीवनमा ल्याएका सतही परिवर्तन मात्र बुझ्न सकेँ। उनको मनोविज्ञान, बडो दुरुह लाग्यो, क्लिष्ट लाग्यो। इच्छा हुँदाहुँदै पनि, बुझ्न खोज्दाखोज्दै पनि, नबुझ्न कर लाग्यो।
र मलाई त्यो बेला सबैभन्दा अप्ठ्यारो लागेको ‘सुम्निमा’। बाहिरी कथा र केही घटनाक्रम जति स्वाद लिईलिई पढेँ, त्यहाँभित्रको दर्शन छिचोल्न अलिक (होइन निक्कै भन्नुपर्ला), कठिन नै भयो।
मोदिआइनले बालकलाई सुनाएको महाभारतकालीन कथा बडो रोचक थियो। रोचक थियो हडहा पोखरीको किंवदन्ती पनि। यसै पुस्तकमा मोदिआइनले बालकलाई भनेको पंक्ति ‘ठूला मानिस थरीथरीका हुन्छन्। असल मानिस भने एक थरीका मात्र हुन्छन्। ठूलो हुनपटि नलाग्नू, असल हुनपटि लाग्नू...।’ आजपर्यन्त सबैले सम्झन र मनन गर्न लायक संवाद बनेको छ। समग्र पुस्तक कति बुझेँ, थाहा छैन तर यो पंक्ति उतिबेलैदेखि कण्ठस्थ हुन पुग्यो।
मेरो किशोर मस्तिष्कले श्वेतभैरवी कथासंग्रहका चारैवटा कथालाई पनि उत्कण्ठित भएर सुरुचिपूर्वक पढ्यो। सान्नानी त नरेन्द्रदाइबाटै अंश मागेर छुट्टिएर आएको कथाजस्तो लाग्यो। अझ सान्नानी कथाको जस्तो हविगत आफ्नै जीवनमा पटकपटक घटेकाले पनि यो कथा यसै विस्मृतिको शून्यमा लोप हुन सक्तैन, कमसेकम मेरा लागि। कतिपय आफन्त, साथीभाइलाई कैयौँ वर्षपछि भेट्न जाँदा जुन उत्साह लिएर म गएको हुन्छु, उनीहरू बडो अनुत्साही र उपेक्षाभावले मेरो उत्तेजनासहितको उपस्थितिलाई लोप्पा खुवाइदिएको कैयौं घटना मेरो स्मृतिमा साक्षात् छन्। शीर्ष कथा श्वेतभैरवीकी पात्रा फगुनी पनि नरेन्द्रदाइकै पात्र भए पनि उसको मनोविज्ञान विचित्रको छ। कोढ लागेका राइटरबाजे मेरा लागि त्यति सम्झनयोग्य पात्र होइनन्। बाँकी रह्यो एक रात। यो कथा पढ्नुभन्दा अघि यसै कथामा बनेको टेलिचलचित्र नेपाल टेलिभिजनको सानो पर्दामा हेर्ने अवसर पाएको थिएँ। कथा पढ्दा टेलिचलचित्रका कलाकारहरूको अनुहार टाँसेर पढेको थिएँ।
हिटलर र यहुदीका बारेमा मेरो बडो रोचक अनुभव रहेको छ। यो पुस्तकको पठन अनुभव पनि सुखद नै रह्यो। विशेषगरी जहाज यात्राको माहोलले बडो लोभ्यायो। रेवा र नारायाणन बडो यादगार भएर मस्तिष्कमा बसे। पछिल्तिर, पुस्तकमा दोस्रो युद्धले जर्मनीमा छाडेका दुःखका अवशेष र पीडाका घाउहरूको चित्रण अनि हिटलरको गह्रुँगो उपस्थिति, त्यसमा मलाई कुनै अभिरुचि भएन। न हिटलरलाई राम्रोसित चिन्या, बुझ्या, न दोस्रो विश्वयुद्धको केही ज्ञान भएको। यस्तोमा ती प्रसंगहरू निरस लाग्नु स्वाभाविक हुँदो हो।
पछिल्तिरका प्रसंग जतिसुकै निरस लागे पनि हिटलर र यहुदी पढेर सक्काएँ। अब मलाई पनि लेख्न मन लाग्यो। लेख्न पनि सानोतिनो कथा होइन, एकैचोटि उपन्यास लेख्ने मन भयो। पसल गएर दस रुपियाँ पर्ने कापी किनेर ल्याएँ। यो पचासको दशकको मध्यतिरको कुरा हो। दस रुपियाँमा ठीकठीकै कापी पाइन्थ्यो। पहिलो पृष्ठमा शीर्षक राख्नुपर्यो भन्ने भयो। राखेँ। ठूला अक्षरमा इन्भर्टेड कमा दिइवरी लेखेँ, ‘मनोकांक्षा’। आफूले राखेको शीर्षक आफैँलाई वजनदार लाग्यो। मुख मिठ्याएँ। बारम्बार त्यही शीर्षक पढेँ। अनि पन्ना पल्टाएर उपन्यासको थालनी गरेँ।
करिब आठदस दिन लगाएर ७५ प्रतिशत कापी भरेँ। अनि कस्तो लेखिएछ ? भन्ने कौतूहल भयो। पढेँ। पढिसकेर आफैँसित हाँसेँ। मैले लेख्न खोज्या उपन्यास हिटलर र यहुदीको अग्रभागबाट यति धेरै प्रभावित रहेछ कि म आफैँले आफैँलाई अनुहार देखाउन पनि लज्जित भएँ। मैले निर्माण गरेको एउटा पुरुष पात्रमा हिटलर र यहुदीको मद्रासी पात्र नारायाणन कालो अनुहारमा सेता दाँत टिलिक्क देखाउँदै गरेको फेला पारेँ र स्त्री पात्रमा गुजराती महिला रेवा देसाई। पात्रहरूलाई जबरजस्ती दार्शनिक बनाउन खोजिएको हास्यास्पद प्रयास देखेर पछि पछिसम्म पनि म हाँसिरहेँ। हिटलर र यहुदीकै झैं सेटिङका लागि पात्रहरूलाई समुद्रतिर पनि लगेँछु। जहाज पनि चढाएँ।
धत् !
त्यसपछि लेख्नै छाडिदिएँ। ‘बाबु सुबिन ! एकैचोटि धेरै ठूलो फड्को होइन, पहिला बामे सर्ने प्रयास गर्।’ अन्तरआत्माभित्र यस्तो गुञ्जिएको सुनेँ, अनि लेख्न थालेँ छोटा कथाहरू।
प्लस टुमा साइन्स पढ्न थालेपछि साहित्य सितको सम्बन्ध सौतनीतुल्य भयो। धन्न नेपालीको एउटा विषय बाह्रमा थियो र साहित्य बिरानो हुन पाएन। ब्याचलर्स पुगेपछि नेपाली भाषासितै बैर भएजस्तो भयो। यद्यपि घरको मिनी लाइब्रेरीबाट झिकेर कुनै दिन बीपीका उही किताबहरू नदोहोर्याएको होइन।
बीपीलाई दोस्रोपटक पढ्दा मेरो पठन स्तर अलिकति समृद्ध भएको महसुस गरेँ। योपटक फलामको होइन, हामीले खाइरहने अन्नकै च्यूरासरह पाएँ। उसबेला नबुझेका कुराहरू यसबेला अलिक बुझेँ। यद्यपि बीपीलाई पढेर आज पनि सम्पूर्ण रूपमा बुझेँ भन्नु मूर्खता हुँदो हो। बीपीका पुस्तकहरू, दर्शनहरू, जति कोट्याउँदै गयो, उति नै ज्ञानका नयाँनयाँ खनिज र पोषक तत्वहरू भेटिँदै जान्छन्। हरेकपटक पढ्दा केही नयाँ कुरा भेटिन्छन्, जसलाई पछिल्लोपटक पढ्दा छेउछाउमै भएको भए पनि हामीले नभेटिरहेका अथवा बेवास्ता गरिरहेका हुन्छौँ। आज पनि बीपीको जुनसुकै पुस्तक उठाएर पढूँ, केही नौलो कुरा म भेट्छु नै जो अघिल्लोपटक यस्सै छोडिएको हुन्छ।
उसबेलाको किशोर मस्तिष्कले नबुझेको गौरी र मुनरियाका अन्तरकुन्तरलाई यसबेलाको युवा मस्तिष्कले अलिक मज्जाले बुझ्यो। ‘एक चिम्टी छाती नभएकी गौरी र त्यै अञ्जुलीभरि बोकेर हिँड्ने मुनरिया’का फरक मनोदशाहरू अलग रूपमा बुझेपछि ती कुराहरू झनै सुन्दर लाग्यो। ‘जुन प्रेम गौरीको कहिल्यै भएन, त्यसलाई मैले खोसेको कसरी भन्नू ? ’ भन्ने मुनरियाको तर्क साँच्चै तर्कसंगत लाग्यो। अनि माया मारिसकेको नरेन्द्र, जो फर्केर आउँछ भन्नेमा सायदै विश्वस्त थिइन्, तिनै गौरी मानसिक रूपमा नरेन्द्रको प्रत्यागमनबाट अति खुसीले असन्तुलित हुन्छिन्। मस्तिष्क यस्तो अंग हो जसमा दुःखमात्र होइन, सुखको पनि अधिक भार पर्न गयो भने असन्तुलित हुन सक्छ— यो गौरीको अवस्थाबाट छर्लंग हुन्छ।
उसबेला ‘तीन घुम्ती’मा इन्द्रमायाका जीवनका मोटामोटी घुम्तीहरू मात्र विचार गरेको थिएँ। उति बेला उनको मनको ढोका खोलाउनै नसकेको मलाई दोस्रोपटक पढ्दा इन्द्रमायाले छेस्किनीसम्म खोलिदिइन्। आज पनि मलाई तीन घुम्ती यस्तो पुस्तक लाग्छ, जहाँ इन्द्रमायाका तीनवटा कदमको कड्ढाललाई तर्कै तर्कको मांसले परिवेष्टित तुल्याएर चिटिक्कको आकार दिइएको छ। आफ्नो पति पीताम्बर जेल गएको बेला परपुरुष (पीताम्बरकै राजनीतिक साथी) रमेशसित यौनसम्बन्ध राखी बच्चा जन्माउने इन्द्रमायाको कथामा लेखकले तर्कको यस्तो जालो बुनिदिन्छन् कि पाठकलाई फस्न कर लाग्छ। त्यो बेलाको समाजले इन्द्रमायाको चरित्रमाथि जेजस्तो लाञ्छना लगाऊन्, पाठक भने उही इन्द्रमायाप्रति करुणा बर्षाउन बाध्य हुन्छ। यो तर्कको शक्ति हो। यो हो लेखकको शक्ति।
वास्तवमा ‘तीन घुम्ती’बाट मैले सिकेको, लेखाइमा सबभन्दा बलियो आधार भनेको तर्क हो। जेसुकै लेखौँ, पाठकलाई कन्भिन्स गर्ने गरी लेख्नुपर्छ। मलाई यो सरल सूत्र सिकाउने बीपी नै हुन्।
पछि बीपीको जेल जर्नल पढ्दै जाँदा एक ठाउँमा पुगेर झल्याँस्स भएँ। डायरीको कुनै एउटा दिनको घटनाक्रममा लेखेका छन्— ‘आज एउटा कथा लेख्न सुरु गरेँ। यसको रमेश भन्ने पात्र मै हुँ।’ थाहा छैन बीपीले त्यहाँ भन्न खोजेको रमेश उही ‘तीन घुम्ती’को रमेश हो वा होइन।
अनि सुम्निमा दोहोर्याएर पढ्दा छर्लंग भएँ। सोमदत्त, पुलोमा र सुम्निमामध्ये मलाई सबैभन्दा मन परेकी पात्र सुम्निमा। सबैलाई सुम्निमा नै मन पर्दो हो। पढ्दै जाँदा सोमदत्त र सुम्निमाका जीवनलाई हेर्ने बुझ्ने दर्शनदेखि नै सोमदत्तलाई मनले ‘मूर्ख’ भनिरह्यो। जीवन बाँच्न त सुम्निमाले कति मीठोसित सिकाएकी। पुलोमासितको पटकपटकको समागमपश्चात् पनि सन्तान उत्पादनमा विफल सोमदत्तलाई सुम्निमाको अलौकिक (सोमदत्तको दृष्टिकोणबाट) ‘फोरप्ले’को सहायता लिनुपर्छ।
सोमदत्त भन्छ— जुगजुगान्तर आकाश छउन्जेल रहने आत्माको स्याहार गर्नुपर्छ, शरीर त क्षणभंगुर हो, यसलाई स्याहार्नुको, प्रेम गर्नुको के औचित्य ? सुम्निमाको दर्शन बीपीरत छ। शरीर चाँडै नष्ट हुने हनाले यसको चाहिँ स्याहार गर्नुपर्छ। सधैँ रहने चीजलाई हेरचाह गर्ने के अर्थ ? जो अनित्य छ त्यसको रक्षा गर्नु, नित्य त आफैँ जोगिएको छ। त्यसैले सक्किने आनन्दलाई भोगिहाल्नुपर्छ। जेलाई सोमदत्त धर्म भनेर आजीवन आफैँलाई सास्ती दिइरह्यो, सुम्निमा कति सजिलै खण्डन गरिदिन्छे— धर्म झुट्टाको शून्य आकाशमा झुट्टा पखेटा फड्फडाइरहेको एउटा झुट्टा चरो हो। धर्म शरीरलाई सास्ती दिनुमा होइन, शरीरलाई प्रेम गर्नुमा छ।
पत्रपत्रिका पढ्दा ‘पुस्तक वार्ता’ आउँथ्यो कतै कतै। जहाँ एउटा प्रश्नमा मेरो खुब चाख रहेको थियो। ‘एक दिन बिताउन पाए कुन पात्रसित बिताउनुहुन्थ्यो ? ’ भन्ने प्रश्नमा धेरैको जवाफ ‘सुम्निमा’ हुन्थ्यो। पहिलोपटक सुम्निमा पढ्दा मेरो किशोर मस्तिष्कले सुम्निमाको दर्शन, बौद्धिकतालाई भन्दा नग्नतालाई बढी चिनेको, खोजेको थियो। अर्कोपटक अर्कोपटक पढ्दै जाँदा सुम्निमालाई शरीरले होइन विचारले बढी चिन्यो, विचारमै बढी खोज्यो।
मोदिआइनले युद्धलाई गरेको कटाक्ष आज क्रान्तिका नाउँमा युद्धको पक्षपोषण गर्ने दल, गुट, गिरोह, सरकार, समाज वा राष्ट्रका लागि मननयोग्य छ। युद्ध भनेकै विध्वंसको द्योतक हो। धर्म र सत्यका नाउँमा सीमित व्यक्ति या झुण्डको स्वार्थका लागि लाखौँ निर्दोष जनता र तिनका निरपराध परिवारले बलि चढ्नुपर्ने परम्पराको विरोध टड्कारो गरिएको छ। यद्यपि यो बहसकै विषय होला। युद्ध, शान्ति, सत्य र धर्मको सीमारेखा शब्द र दर्शनको धमिलो कुँडाले कहीँकतै पुरिएको हुँदो हो। नभए विधुवाको आँसु, माताको रित्तिएको कोख, अथवा पुत्रले गुमाएको वात्सल्यलाई संसारका कुनै पनि तर्कशास्त्रीले सम्बोधन गर्न सक्लान्। युद्धको कारणलाई बुद्धि र तर्कको कित्तामा उभ्याएर हेर्न त सकिएला, तर त्यसको परिणतिलाई मानिस हृदयको धुकधुकीले नै बढी ग्रहण गर्छन्।
हिटलर र यहुदी नाउँको ढुंगो म आज पनि फोरिरहेको छु। जहाजको रमझम अनि रेवा र नारायणको सत्संगमा मात्र अल्मलिने मेरो पठन, पछिपछि हिटलर र ईश्वरको पुर्पक्षलाई पनि पढ्न र पर्गेल्न थाल्यो। ईश्वरका हरेक लाञ्छनाको बडो सहज तरिकाले खण्डन गर्छ हिटलर। आफ्नो अमानवीय निष्ठुरताको प्रतिवादमा हिटलर ईश्वरलाई जवाफ दिन्छ— निष्ठुरता, दया यी दुवै चीजबाट म मुक्त छु। ईश्वर र मानवमा यही फरक छ, कि ईश्वर लिप्सा र स्पृहबाट मुक्त छ, जहाँ मानव आशक्तियुक्त। कसैले प्रेमले या घृणाले या निष्ठुरताले कसैलाई मार्छ भने त्यो पाप हो। किनभने त्यस हत्याको क्रिया प्रेमको आशक्तिमा, घृणा र निष्ठुरताको उत्तेजना र उन्मादमा सम्पन्न भएको हुन्छ। तर त्यही हत्या आशक्तिरहित छ भने, हत्याराको वैयक्तिक आशक्ति मुछिन गएको छैन भने, त्यो धर्मसम्मत हुन्छ। गीतामा कृष्ण र अर्जुनको कथा त एउटा रूपक मात्र हो। राजनीतिमा लागेको व्यक्ति अरू पेसाका मानिसभन्दा झन् बढी शक्तिको पथको यात्री हुन्छ।
यसरी आफ्नो अपराधलाई गीताको आँखाबाट हेर्न हिटलर ईश्वरलाई सुझाव दिन्छ। ईश्वरलाई नै चुनौती दिँदै भन्छ, मलाई पृथ्वीलोकमा मानिसहरू घृणा गर्छन् भने त्यसको पनि पछुतो छैन। हे ईश्वर तिम्रो पनि निरंकुशताको तख्ता उल्ट्यो भने र तिमी मर्यौ भने याद राख— जुन घृणा म आज मानिसबाट पाउँदै छु, तिम्रो स्तुतिगान पनि त्यही तुल्य हुनेछ, घृणा, आक्रोश, द्वेष, प्रतिहिंसामय श्राप, फोहोर, थुक...।
हिटलर र यहुदीलाई पटकपटक पढेर त सिद्याइसकेँ तर यसलाई बुझ्ने क्रम अझै जारी छ।
र जारी छ बीपीका सबै साहित्यलाई अझै बुझ्ने क्रम।
किशोरावस्थामा बीपीलाई पढ्दा अर्को एउटा काम म जो गर्ने गर्थेँ। उनले प्रयोग गर्ने शब्दहरू पुस्तकमा रेखांकन गर्थेँ र पछि त्यसलाई शब्दकोषमा खोज्थेँ। यसरी त्यति बेला मैले आफ्नो शब्दभण्डार बढाएको थिएँ। मलाई स्मरण छ, उनले प्रयोग गर्ने गरेका शब्दहरू, किनकि ती शब्दलाई मैले पनि आफ्नो लेखाइमा जबरजस्ती प्रयोग गर्ने कोसिस गर्थेँ। कहीँ ठ्याक्कै सुहाउँथे। कहीँ लाग्थ्यो, त्यो शब्द हाल्नकै लागि म सम्पूर्ण वाक्यको संरचना गरिरहेको छु। यस्तो देखिन्थ्यो त्यो शब्द, आर्मीको पोसाक लगाएकाहरूको हूलमा पाइलटको पोसाक लगाएको व्यक्तिलाई हुलेजस्तो।
जे होस्, कति शब्दहरू जुन सामान्य थिए, ती शब्दहरूसित परिचय गराइदिने माध्यम नै बीपीका पुस्तक भए।
उदाहरणका लागि अरण्य, निरभ्र, वपुमान, प्लावनता, तप्त, अहर्निश, प्रपात आत्मवञ्चना, उद्दीप्त, तृण, गुल्मी, दग्ध, आतप, विकीर्ण, मेघाच्छन्न, उच्छिष्ट, उद्भिज, उद्भाषित, पुथुल, रुक्षता, सद्यस्नाता...।
अनि बीपीको दुईवटा शब्दलाई जोडेर नयाँ शब्द बनाउने कौशल पनि मलाई खुब मन पर्ने। जस्तो कि हठाग्रह (हठ् र आग्रह), करुणाद्र (करुणा र आग्रह), आनन्दोत्सव (आनन्द र उत्सव), साख्याग्रह (सखी र आग्रह), आत्मोत्सर्ग (आत्मा र उत्सर्ग), न्यायानुमोदन (न्याय र अनुमोदन), सह-शय्यावती (सह र शैय्यावती) ईश्वरारूढ (ईश्वर र आरूढ) प्रणयशैय्या (प्रणय र शैय्या), जनारण्य (जन र अरण्य)....।
शब्दहरू आयात गर्न पनि उनलाई कसले भेट्ने ? अहिलेका लेखकले ती शब्दहरू आयात गरेर प्रयोग गरे, पाठकको एउटा ठूलो झुण्डले प्रतिकार गर्छन्। मलाई भने लेखक स्वतन्त्र हुनुपर्छ जस्तो लाग्छ, यस मामलामा। जे जति छ, त्यति नै प्रयोग गर्ने भन्ने होइन। भाषा यसै समृद्ध हुँदैन। त्यसो त बनारस बसी पढ्दाको प्रभाव पनि हुनसक्छ बीपीमा। जस्तो कि ः चश्मदिद गवाह, निराला, शराब, पसन्द, मुलाकात, खिदमत, इन्तजाम, मजाल, वारेस, दरमियान, बेहतर, अजनवी आदि। सुन्दा, पढ्दा हिन्दी भनेर आक्षेप लगाइने यी शब्दहरू अधिकतर अरबी र फारसीबाट आयातीत छन्।
बीपी कोइराला नभएको भए देशको राजनीति के हुन्थ्यो ? देश कता जान्थ्यो ? नेपाली साहित्यको हैसियत कहाँनेर हुन्थ्यो, म भन्न सक्तिनँ। हो, यत्तिचाहिँ भन्न सक्छु— बीपीको नाउँ, राजनीतिमा मात्र टाँसिएर साहित्यमा नगाँसिएको भए पनि मचाहिँ लेखक हुने थिइनँ। जुन बाटोबाट यात्राको पहिलो पाइला चालेँ, त्यो बाटो नभेट्टाएर यात्रा अर्को बाटोबाट चाल्नु परेको भए बाटो कत्तिको सहज हुने थियो, या हुने थिएन, त्यो झनै भन्न सक्तिनँ। मैले यो महायात्रामा, मेरो प्रस्थानबिन्दुमा गुलदस्ता र दूबो बिछिएको बाटो भेटेको हो, बीपी साहित्यमा हुनुले कम्तीमा यति सहज मलाई भएकै हो।
उनको दार्शनिकताको कुहिरोमा बेलाबेला अल्मलिएको, हराएको, बाटो बिराएकोे भए पनि नबिझाउने, नतर्साउने उनका पुस्तकका आकारले सुरुआती, सिकारु, दिनहरूमा मजस्तो साहित्यानुरागीलाई साहित्यप्रति वितृष्णा पैदा गरेन। योचाहिँ भयो बरु, कि उनका प्रत्येक पुस्तक दर्जनौँपटक किनियो, दर्जनौँपटक पढ्छु भनेर माग्दा नदिने छुच्याइँ गर्न मन लागेन र तिनले फिर्ता नगर्दा उस्तो चित्त पनि दुखेन।
मेरो पठन अनुभव सधैँ सुखदै सुखद अनुभव पनि रहेको म भन्दिनँ। झिनामसिना असन्तोष पनि छन्। दोषी चश्माको शीर्ष कथाको प्लट चेखभको द क्लर्कसित मिलेको देख्दा मनमा किरिक्क गरेको थियो। कतिपय ठाउँमा एउटै कुरा दोहोरिइरहेको देख्दा सम्पादन किन भएन भनेर प्रश्न पनि कहिलेकाहीँ गर्न मन लाग्छ। लेख्दालेख्दै अति क्लिष्ट हुन्छन् बीपी कहीँकहीँ। उनका कथाका अधिकतम पात्र र तिनले बोल्ने संवाद देख्दा भव्य दार्शनिकझैँ लाग्छन्।
तर उनका शक्तिका अघिल्तिर यी कमजोरी केही होइनन्। उनको शिल्प, भाषा, विचार, तर्क, क्राफ्ट सबैसबै उच्च तहका छन्। कति लेखक आफ्नो एउटा कृतिले चिनिएका छन्। बीपी कोइराला अपवाद हुन्। उनी हर कृतिले चिनिएका छन्। उनी यस्तो ठाउँमा छन्, जहाँ पुग्ने इच्छा त जोकोहीले गर्ला तर त्यो ठाउँ आफैँमा यति अग्लो छ कि तल बसेर हेर्दै आरिस मात्र गर्न मिल्छ।
subinbhattarai1कथाकी पात्र, समर लभ, प्रिय सुफीजस्ता आख्यानका लेखक हुन्।