लालीगुराँसले रंगिए म्याग्दीका वनपाखा (फोटोसहित)
म्याग्दी : वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको उच्च पहाडी क्षेत्रका वनपाखा लालीगुराँसले रंगिविरंगी भएका छन्।अहिले पाखाभरी ढकमक्क फुलेका लालीगुराँस पर्यटक भित्र्याउने माध्यम बनेका छन्।
अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, मालिका गाउँपालिको सोले, धवलागिरी गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसको सौन्दर्यमा रमाउन पर्यटकको आगमन बढेको छ।
नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबीलगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। पृष्ठभूमिका हिमाल र लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यमा रमाउन चैत, बैशाख महिनामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने घोडेपानीका होटल व्यवसायी शुशिल पुनले बताए।
यो वर्ष फागुन महिनाको अन्त्यसम्म हिमपात भएकाले गुराँस फुल्न केही ढिलाई भएको छ। लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी हिमालको साथै सुर्योदयको अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन पाउनु घोडेपानी क्षेत्रको आकर्षण हो।
अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग सञ्चालन भएको छ। गुराँसको जंगललाई प्राकृतिक बगैचा बनाई वन्यजन्तु र पंक्षिको संरक्षण गरी पर्यटक भित्र्याउने योजना रहेको अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले बताए।
घोडेपानीका बासिन्दाले गुराँस बचाउनका लागि गुराँसको रुख नकाट्ने नियम बनाएका छन्। जथाभावी रुपमा काठ, दाउराका लागि रुख काट्दा गुराँसको जंगल मासिएपछि यस्तो नियम बनाएका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ समेत गरिएको घोडेपानीका अगुवा टेकसर बुद्धुजाले बताए।
अव्यवस्थित रुपमा जंगल मासेर खनिने सडक र वन डडेलो गुराँस संरक्षणको प्रमुख चुनौतीको रुपमा देखिएको छ। स्थानीय तह, प्रदेश र संघीय सरकारका निकायका साथै पर्यटनसँग सम्बद्ध संघ संस्थाले एकीकृतरुपमा घोडेपानी क्षेत्रमा पाइने गुराँसको अध्ययन अनुसन्धान, संरक्षण र प्रचारप्रसार गर्न सर्न सकेमा पर्यटन विकासमा सहयोग पुग्ने देखिन्छ।
_20190331051730.jpg)
_20190331051731.jpg)
_20190331051733.jpg)
_20190331051732.jpg)
_20190331051732.jpg)
_20190331051732.jpg)
_20190331051732.jpg)
_20190331051732.jpg)
प्रतिक्रिया दिनुहोस !