पीडितले पाएनन् टाउको लुकाउने त्रिपाल (फोटो)

पीडितले पाएनन् टाउको लुकाउने त्रिपाल (फोटो)

भलुई भरवलिया (बारा) : राहत बोकेर आउने गाडीको भिड बढ्दो छ। जिल्ला भित्र मात्र नभई देशका विभिन्न स्थानबाट राहत सामग्री लिएर गाडीहरू बस्ती प्रवेश गरिरहेका हुन्छन्। साना सवारी साधनमा पनि राहतका सामग्री थुप्रै देखिन्छन्।

गाउँमा मानिसको भिड पनि उत्तिकै छ। तर हुरीले बितण्डा मच्चाएको फेटा गाउपालिका १ भलुई भरवलियाका पीडितले भने तीन दिन बितिसक्दा पनि टाउको लुकाउने राहत समेत पाएका छैनन्। उनीहरू अझै पनि भत्किएको घरको भग्नावशेषमै दिनरात काटिरहेका छन्।

सानो बस्तीमा ७ जनाको ज्यान जाने गरी आएको उदण्ड हावाहुरीले करिब २०० भन्दा बढी परिवारलाई घरबिहीन बनाएको छ। बस्तीका अन्य घरसमेत बस्न लायक छैनन्। राहत नपाएपछि भत्किएको घरमै पीडितले आफनो कष्टकर दैनिकी बिताइरहेका छन्।

घर भत्किएर भगनावशेमा बसिरहेका भलुईका अर्जुन पटेलले अहिलेसम्म राहत नपाएको गुनासो गरे। राहत बाँड्न भनेर दैनिकजसो गाउमा भिड लाग्ने गरेको भए पनि पेटभर खाने र सुत्न पाउने गरी राहत नपाएको उनको भनाई छ। उनको भनाईमा गाउँमा बिहानदेखि बेलुकासम्मै यस्तो खालको भिड लाग्छ। राहत बोकेर गाडी पनि आइरहेकै हुन्छन् तर त्यो राहत कता जान्छ थाहा हुँदैन। चार दिनदेखि यसैगरी बसिरहेका छौँ।’

राहत नपाएका कारण बस्तीका अधिकांश पीडित भगनावेशकै थुप्रोमा भेटिन्छन्। घटनाका घाइते समेत खुल्ला आकाशमुनि सुतिरहेका देखिन्छन्। हुरीले भत्काएका भगनावशेष पन्छाउने काम समेत भएको भएको देखिँदैन। बस्तीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको देखिन्छन्। तर तीन दिन बित्दा पनि घरबिहीनले टाउको लुकाउने त्रिपाल भेट्न सकेका छैनन्।

स्थानीय सुनिता यादव घटना भएको धेरै दिन बितिसक्दा पनि पीडितलाई बस्ने बासको ब्यवस्था हुन नसकेको बताउँछिन्। राहत बोकेर दैनिक गाडीहरू आइरहेपनि बास्तविक पीडित भने भगनावशेषमै देखिनु दुःखद् रहेको उनको भनाई छ। घटना भएको भोलिपल्टदेखि राहत बोकेर मानिसहरू आउन थालेका हुन्। 'कसैले खानेकुरा बोकेर आएका छन्, कोही त्रिपाल बोकेर आउँछन’ सुनिताले भनिन्, 'तर केही बाहेक अधिकांश पीडित भत्किएको घरकै भगनावशेषमा बसिरहेका छन्।’


>>> चोकचोकमा राहत, भित्री गाउँका पीडितले त्रिपाल पनि पाएनन्


भोक मेटाउनेसँगै टाउको लुकाउने राहत बास्तविक पीडितलाई वितरण गर्न सके थुप्रै परिवारको दैनिकी सहज हुने सुनिता बताउँछिन्। उनका अनुसार विभिन्न सरकारी निकाय, गैरसरकारी तथा सामाजिक संघसंस्था, राजनितिक दलका नेता कार्यकर्ता र विभिन्न जिल्लाका नागरिकको उपस्थिति हावाहुरी प्रभावित गाउँमा बाक्लै देखिन्छ। तर राहत वितरण प्रक्रियालाई ब्यवस्थापन गर्न नसक्दा पीडितले राहतको महसुस गर्न नसकेको उनले बताइन्।

गाउँमा आउने राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्ने ब्यवस्था मिलाउन नसक्दा बास्तविक पीडित भन्दा राहत अन्यको हातमा पुगिरहेको स्थानीयको भनाइ छ। बस्तीको बिचमा गाडीबाटै राहत वितरण गरिने गरिएको छ। उक्त राहत लिन स्थानीयको भिड समेत लाग्ने गरेको छ। भिडमा हुरीबाट घरबिहीन बन्न पुगेको पीडित छुट्याउन सकिने अवस्था नरहेको र जो कोहीले पनि लैजाने गरेको स्थानीय बताउँछन्।

पीडितले राहतको नाममा चाउचाउ, चिउरा, जुस, पानी बाहेक पाउन सकेका छैनन्। केही संघसंस्थाले खानाको ब्यवस्था गरेका छन्। तर सबैले खाना नपाएको स्थिति छ। नियमित खाना खुवाउन संघसंस्थालाई समेत चुनौती देखिन्छ। केही संघसंस्थाले झुल वितरण गरेका छन्। तर झुल अड्काउने ठाउँ पनि पीडितले भेटेका छैनन्। घर भत्किएकोले कतिपयले आफ्नो कपडा, चप्पल समेत फेला पार्न सकेका छैनन्।

हेर्नुस् हावाहुरीको चौँथो दिन बाँकी फोटोमा पीडितको व्यथा। फोटोहरूः दिवाकर भण्डारी/अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.