सर्वोच्च अदालतको अवज्ञा : आम्दानीको नाममा सटर बनाउँदै विद्यालय
बुटवल : सर्वाेच्च अदालतले दुई वर्षअघि सामुदायिक विद्यालयको जग्गा भाडामा लगाउन नपाउने आदेश जारी गरेको थियो। असारमा आएको पूर्ण फैसालामा भनिएको छ, ‘विद्यालयको हाता खुला र फराकिलो रहँदा पर्याप्त खेल मैदान र बाल बगैंचा कायम रहँदा आदर्श शैक्षिक वातावरण निर्माणमा मद्दत पुग्छ।’
रुपन्देहीका केही सामुदायिक विद्यालयले आर्थिकस्रोत बढाउन भन्दै विद्यालयका जग्गामा व्यावसायिक भवन बनाएर भाडामा लगाउन थालेका छन्। सर्वाेच्चको आदेशपछि पनि धेरै विद्यालयले भवन निर्माण रोकेका छैनन। विद्यालय ढाक्ने गरी बनाइएका भवनले शैक्षिक गुणस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ।
विद्यालय खुला स्थानमा हुनुपर्ने मान्यता छ। यहाँका ठूला र नमूना मानिने कालिका मानव ज्ञान, कान्ति, नवीन औद्योगिक, उजिरसिंह मावि नै व्यावसायिक भवनको बीचमा खुम्चिएका छन्। बुटवल–१ मा रहेको उजिरसिंह माविले भाडामा दिन सटर निर्माण गरिरहेको छ। यसरी बनाइएका व्यावसायिक भवनले विद्यालय पहिचानमा समेत कठिनाइ हुन थालेको छ। बुटवलको देवीनगर चौपारी अगाडि विद्यालयको जग्गामा व्यावसायिक भवन निर्माण गरिएको छ। माविले व्यावसायिक भवन बनाएर २५ वटा सटर भाडामा लगाएको छ। सटरको भाडावापत महिनामा सवा लाख रुपैयाँ आम्दानी हुने नवीन औद्योगिकका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानकारी दिए।
बुटवलको राजमार्ग चौराहबाट केही दक्षिण लागेपछि विद्यालयकै जग्गामा सटरको लस्कर देखिन्छ। विद्यालय क्षेत्र भएपनि सटरका कारण बजार वा व्यापार क्षेत्र हो की जस्तो लाग्छ। यसले अध्ययनअध्यापनमा पनि बाधा पुर्याइरहेको स्थानीयको भनाइ छ। कालिका नगरको कालिका मानविज्ञान माविले १७ वटा सटर भाडामा लगाएको छ। सटरवापत महिनामा साढे २ लाख रुपैयाँ विद्यालयलाई आम्दानी हुन्छ।
व्यावसायिक भवन बनाउँदा विद्यालयलाई आर्थिक फाइदा भए पनि शैक्षिक वातावरण कमजोर हुने अभिभावकको गुनासो छ। अर्कोतर्फ विद्यालय क्षेत्र संकुचित भएको छ। कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले विद्यालय छेकिएको स्वीकारे। ‘विद्यालयको ठूला र आकर्षक भवन छ। तर बाहिरबाट हेर्दा विद्यालय विद्यालय जस्तो देखिँदैन। विद्यालय नै लुकेको छ’, उनले भने, ‘विद्यालयलाई केही आम्दानी भएको छ र राजमार्गमा गुड्ने गाडीका आवाज पनि कम आउँछ। त्यसले पनि फाइदा पुर्याएको छ।’
बुटवल हाटबजारस्थित कान्ति माविले ५४ वटा सटर भाडामा लगाएको छ। भाडावापत महिनामा ३ लाख रुपैयाँ आम्दानी हुने विद्यालयले जनाएको छ। सटर भाडामा लगाउँदा निजी स्रोतका शिक्षकलाई तलब खुवाउन सहज भएको कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए।
मणिग्रामको शान्ति नमूना माविले २५ वटा सटरसहित केही जग्गा भाडामा लगाएको छ। सटर बनाएर भाडामा दिँदा विद्यालयको आम्दानी बढे पनि विद्यालयमा अध्ययनअध्यापनको वातावरण संकुचित र कमजोर बन्ने पक्का छ। शिक्षाशास्त्रका प्राडा नारायण बेलवासेले विद्यालय परिसरमा व्यावसायिक भवन बनाउँदा पढाइमा असर पुग्ने बताउँछन्। ‘विद्यालयलाई केही आम्दानी त होला तर बालबालिकालाई जुन वातावरण चाहिन्छ त्यस्तो वातावरण पाउँदैनन्’, उनले भने, ‘शैक्षिक वातावरण शान्त र खुल्ला हुनुपर्छ। विद्यालय परिसरमा बजार बसालेपछि भिडभाड र कोलाहल बढ्छ।’
केही विद्यालयले आफ्नो जग्गा लिज तथा भाडामा दिएर कमाइखाने बाटो बनाएका छन्। तर विद्यालयलाई चाहिने खेलकुदलगायत अन्य पूर्वाधारमा ध्यान दिएको देखिँदैन। चितवन भरतपुरमा रहेको चितवन उच्च मावि जग्गा भाडामा लगाउने विद्यालयको निर्णय बदर गर्दै अदालतले विद्यालयको खुला जग्गा संकुचित बनाउन कुनै काम नगर्न भनेको छ। विद्यालयलाई चारै तर्फबाट पर्खालले घेरा गरी विद्यालय वा बन्दीगृह के हो नछुट्टीने गरी भाडा प्रायोजनका लागि संरचना बनाउन नमिल्ने फैसलामा उल्लेख छ।
चितवन माविको यो फैसला मुलुकभरका विद्यालयको लागि नजिर भन्दै फैसला कार्यान्वयन अभियान चलाएको चितवनकी अभियन्ता तारा बरालको भनाइ। ‘फैसला देशै भरका लागि हो। सर्वोच्चबाट सबै जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासनमा फैसलाको पाठ गइसकेको छ’, उनले भनिन्, ‘विद्यालय प्रायोजनभन्दा बाहेकका भवन प्रयोग गर्न पाइँदैन।’ तर सर्वोच्चको आदेशको अवज्ञा गर्दैै विद्यालय प्रांगणमा व्यावसायिक संरचना बनाएर भाडा उठाउने प्रवृति बढ्दो छ।
प्रतिक्रिया दिनुहोस !