गजनीदेखि अफगान स्टार

गजनीदेखि अफगान स्टार

जहरा हजारा समुदायकी चेली हुन्, जो अफगानिस्तानमा अल्पसंख्यक मानिन्छ। अनि हजाराको बाहुल्य रहेको ठाउँ, गजनी। जहराको जन्मघर पनि यहीँ हो। तर, लामो समयदेखि उनको घर भएको ठाउँ सरकार र तालिवानको मैदानको अखडा थियो। 


अफगानिस्तानकी १८ वर्षीय जहरा इल्हमलाई पहिलो दिनदेखि नै थाहा थियो, इतिहास उनको पक्षमा छैन । एक त महिला, त्यसमाथि संगीतकी सिकारु । अझ १३ सिजन चलेको प्रतियोगिताका सबै विजेता पुरुष । तर, जहराले नसोचेको भयो । जहराले मात्र के, कुनै पनि अफगानीले सोचेका थिएनन्— अफगानिस्तानकै सबैभन्दा ठूलो सांगीतिक प्रतियोगितामा जहराले बाजी मार्छिन् । तर, एउटा इतिहास ढाकेर नै अर्को इतिहास बन्छ ।

यसपालि त्यस्तै भयो । जनता जहराको स्वरमा मन्त्रमुग्ध भए । जहरा एकपछि अर्को चरण पार गर्दै फाइनलमा पुगिन् । र अन्त्यमा सम्पूर्ण पुरुष प्रतियोगीलाई पछि पार्दै ‘अफगान स्टार’ हुने पहिलो महिला प्रतियोगी बनिन् । रमाइलो के भने अडिसनबाट प्रतियोेगितामा जम्मा दुई युवती छानिएका थिए । काबुलकी सदिका मदादगर र गजनी प्रान्तकी जहरा इल्हम । सदिका सुरुका केही चरणबाटै बाहिरिइन् । जहरा अन्तिमसम्म रहिन् र पहिलो भइन् ।

यो जितसँगै जहरा सेलिब्रेटी बनेकी छिन् । संसारभरका मिडिया उनको जितमा खुसी छन् । अझ केहीले त जहरालाई अफगानिस्तानका स्वतन्त्र महिलाको विम्बको रूपमा चित्रित गरेका छिन् । यो जितको प्रभावबाट जहरा पनि बेखबर थिइनन् । त्यसैले जब उनले धन्यवाद भन्न माइक समातिन्, उनले त्यही भनिन् जुन अफगानिस्तानका महिलालाई भन्न जरुरी थियो । 
‘मैले सम्पूर्ण अफगानिस्तानका महिलाको प्रतिनिधित्व गरिरहेकी छु । आज जहरा इल्हमले मात्र जितेकी छैन, सारा अफगानिस्तानका चेलीले जितेका छन् ।’ 

जहराको जितका अनेक अर्थ छन् । किनकि अफगानिस्तानमा महिला र संगीत दुवै अल्पमतमा छन् । समाज न महिला स्वतन्त्रताको पक्षमा छ, न संगीतको । अफगानिस्तानको संगीत आज पनि धार्मिक भजन र सुफी गायनमा सीमित छ । आज पनि त्यहाँ प्रेमगीत र रकगीत गाउनेलाई समाजले तिरस्कार गर्छ । यस्तोमा महिलाले संगीतसँग साइनो गाँस्नुको मतलब अफगानी समाजलाई टेरपुच्छर नलाउनु । तर, जहराले हिम्मत गरिन् र अचम्मसँग यो पटक अफगानी जनता उनको हिम्मतमा टेवा दिन आए । र जहरा बनिन्— अल्पसंख्यक हजारा समुदायबाट इतिहास रच्ने पहिलो महिला ।

जहरा हजारा समुदायकी चेली हुन् जो अफगानिस्तानमा अल्पसंख्यक मानिन्छ । अनि हजाराको बाहुल्य रहेको ठाउँ गजनी । जहराको जन्मघर पनि यहीँ हो । तर, लामो समयदेखि उनको घर भएको ठाउँ सरकार र तालिवानको मैदानको अखडा थियो । तर, गत साल तालिवानसँग सरकार हार्‍यो । यो अखडा गतसालको अगस्टदेखि तालिबानले कब्जामा लियो । जहराको परिवार अलिअघि नै यो अखडाबाट विस्थापित भएको थियो । पछि थुप्रै हजारा फेरि विस्थापित भए । सोको दौरानमा उनले बारम्बार ती युद्ध सम्झिइन् । उनले युद्धका विरुद्धमा आफूलाई भोट दिन आग्रह गरिन् । महिला स्वतन्त्रताको आरिस गर्ने मानिसलाई जिल्याउन पनि आफूलाई भोट दिन आग्रह गरिन् । अफगानिस्तानमा यसपालि अचम्म भयो । उनको कुरा पुरुषले पनि माने । महिलाले पनि माने । देशमा बस्ने मान्छेले पनि माने, विदेशमा बसिरहेका अफगानीले पनि माने । जुन यसअघि पहिले कहिल्यै भएको थिएन । 

सन् २००५ मा ब्रिटिस गायन सो पप आइडलको प्रभावमा सुरु भएको अफगान स्टारको इतिहास एकै रसको छैन । यस्ता सोलाई लिएर त्यहाँको समाज मज्जाले विभाजित छ । नयाँ पुस्ता यस्ता टेलिभिजन कार्यक्रम हेर्न रुचाउँछ तर धार्मिक नेता यस्ता कार्यक्रम बन्द गर्ने अभियानमा छन् । दुई वर्षअघि त मुस्मिल धर्मगुरुहरूको भीडले यो प्रतियोगिताको अडिसन नै बिथोलेको थियो । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई धर्मभ्रष्ट गराएको भन्दै उनीहरू यसले देशलाई नै संकटमा पार्ने दाबी गर्दै आएका छन् । 

सन् २०१२ मा यो प्रतियोगिताका विजेतालाई एम्बुसमा पारेर मार्ने प्रपञ्च गरिएको थियो । सन् २०१६ मा त उनीहरू सफल नै भए । यो साल ‘अफगान स्टार’ प्रसारण गर्ने टेलिभिजनका स्टाफ चढेको बसमा आत्मघाती हमला भएको थियो जसमा सात जना टेलिभिजन कर्मचारीको ज्यान गएको थियो । 

प्रतियोगिता जित्न जहरालाई पनि सजिलो भएन । उनलाई पनि दुश्मनको कुनै कमी थिएन । मानिसहरू चोकचोकमा उनकोे उछित्तो काढ््थे । सामाजिक सञ्जालमा दिनदिनै निन्दा गरिएका पोस्ट प्रकाशित हुन्थे । उनलाई नाके गायिका भनेर उडाउँथे । अफगानिस्तानमा महिलाको सार्वजनिक जीवन साह्रै कष्टकर छ । सडकमा गएर बिना डरत्रास कसैसँग कुरा गर्न सक्ने वातावरण छैन । ‘कल्पना गर्नुस्, यस्तोमा मिडिया वा मानिसको अघि गाउन कति कठिन होला जब तपाईंलाई मानिसले बिना पूर्वाग्रह हेर्न सक्दैनन् ? ’ जहराले आफ्नो यात्रा स्मरण गर्दै भनेकी छिन् । 

अफगानिस्तनामा समाज परिवार दुवै महिलालाई बाहिर निकाल्ने मामलामा रुढिवादी छ । तर, जहराले अल जजिरा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूलाई प्रतियोगितासम्म पुर्‍याउन आफ्नी आमाको सबैभन्दा ठूलो हात भएको बताएकी छिन् । ‘छोरी गायिका बनोस् भन्ने चाहना बाबुआमा दुवैको थियो । तर, आमाले अझ धेरै त्याग गर्नुभएको छ,’ उनले सो अन्तर्वार्तामा भनेकी छिन् । 
२० वर्षीय इल्हमले जस्टिन बिबर, सेलेना गोमेज र आर्यना सइदलाई रोलमोडल मान्ने गरेकी छिन् । आर्यना सइद भने अफगानिस्तानकै गायिका हुन् । आर्यनालाई उनले लगाउने लुगामाथि आपत्ति जनाउँदै धर्मगुरुले ज्यान मार्ने धम्की दिएपछि लन्डन बस्ने गरेकी छिन् । 

अफगानिस्तानमा संगीत राजनीतिक अस्त्रका रूपमा प्रयोग हुँदै आएको छ । सन् १९७८ मा सुरु भएको यो क्रम आज पनि जारी छ । सन् १९७८ मा कम्युनिस्ट शासक नूर अहमत ताराकीले पहिलोपल्ट संगीतमा सेन्सर सुरु गरेका थिए । अफगानिस्तानमा १४ वर्ष शासन गरेका उनले उसबेला मानिसलाई खुला रूपमा गाउन बन्देज लगाएका थिए । नूरलाई गलहत्याएर सन् १९९२ देखि १९९६ सम्म शासन गरेका बुरहनुद्दिन रब्बानीले त संगीतलाई नियन्त्रण गर्ने मामलामा हदै पार गरेका थिए । कतिसम्म भने उनको शासनकालमा गायक संगीतकारलाई गाउन–बजाउन पनि सरकारसँग लाइसेन्स लिनुपथ्र्यो । अझ त्यसमा पनि महिलालाई त संगीतको ‘स’ उच्चारण गर्न पनि बन्देज थियो ।

सन् १९९६ मा रब्बानीलाई पनि विस्थापित गरेर तालिवानले शासन सुरु गरे । तर, यतिबेला पनि उनीहरूको निशानामा संगीत नै थियो । उनीहरूले धार्मिक भजन र तालिवानको गुणगान गाइएका गीतबाहेक सबै गीत गाउन–बजाउन निषेध गरेका थिए । उनीहरूको शासनकालमा न मानिसले आफ्नो घरमा संगीत सुन्न पाउँथे, न आफ्नो गाडीमा । जसले सुन्थ्यो, त्यो सीधै जेलमा ।

 इल्हमको जितले अफगागानिस्तानमा महिला अधिकारको बहसलाई ठूलो टेवा मिलेको छ । तर, आशंका पनि उत्तिकै छ । किनकि अहिले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा अमेरिका र तालिबानबीच शान्ति वार्ता चलिरहेको छ । र, तालिबान सत्तामा फर्किएमा फेरि पनि संगीत उनीहरूको निशानामा हुनेछ । मानौं तालिवान शासन अफगानिस्तानमा फर्कियो भने ? 
‘म संगीतमै उनीहरूविरुद्ध लड््छु किनकि मैले मेरो जीवनसंगीत र गायकीबिना कल्पना गररेको छैन,’ जहराको अठोट छ । 
–एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.