डोटीमा स्वास्थ्य शिविर, एकै दिन ७ सय ८५ ले पाए सेवा
डोटी : डोटीको बडीकेदार गाउँपालिकामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
बडीकेदार–१, बिपीनगरस्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा सञ्चालित स्वास्थ्य शिविरमा एक दिनमै सात सय ८५ जनाले स्वास्थ्य सेवा पाएको आयोजकले जानकारी दिएको छ ।
विशेषगरी मुटुरोग सम्बन्धी चेक जाँच तथा उपचारका साथै अन्य रोगका बिरामीहरुको समेत चेक जाँच तथा उपचार हुने गाउँपालिकाले जानकारी दिएको छ ।
बडीकेदार गाउँपालिकाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा विभिन्न संस्थाले सहयोग गरेको बताइएको छ । निःशुल्क स्वास्थ्य शिविर शनिबारसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा आवश्यक उपकरण सहित मनमोहन कार्डीयोलोजी अस्पतालका मुटुरोग विशेषज्ञ डा. अनिल भटराइको नेतृत्वमा सातजना विशेषज्ञ चिकित्सक सहित २१ जनाको टोली उपचारमा खटिएको छ ।
शिविरमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी लगायत ३० जना स्वास्थ्यकर्मीहरु पनि स्वास्थ्य सेवामा खटिए । आर्थिक अवस्था कमजोर भइ रोग पाल्न बाध्य स्थानीयलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बडीकेदार गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।