तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो (तस्बिरसहित)
बेनी : बेनी नगरपालिका- ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ।जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेर उपचार गर्न आएका बिरामी तथा आन्तरिक पर्यटकको घुइँचो लागेको हो।
केही दिनयता देशका विभिन्न स्थानबाट कुण्डमा स्नान गर्न आउनेको चाप अत्याधिक रुपमा बढेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।उनका अनुसार अहिले दैनिक दुई हजार जनाले कुण्डमा स्नान गरिरहेका छन्।
बिरामीको चाप बढेपछि बिहान ५ बजेदेखिनै ६ वटा समय तालिका बनाएर दुई/दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको छ। तातोपानी कुण्डमा स्नान गरेमा चोट पटक लागेको, सर्के मर्केको, ग्यास्ट्रिक, गानोगोला, नशा, छाला सम्बन्धी समस्या निको हुने जनविश्वास छ।
छोटो समयका लागि र भ्रमणका लागि आउने पर्यटकका लागि कुण्ड परिसरमा छुट्टै पोखरी र तीनवटा सयनकक्ष बनाएर जुनसुकै बेला पनि पालो नफर्खीकन स्नान गर्न सक्ने व्यवस्था मिलाइएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा, कांग्रेस नेता रामचन्द्र पौडेललगायत शीर्ष राजनीतिज्ञले समेत स्नान गरेकाले यस वर्ष तातोपानी कुण्ड स्नान र अवलोकन गर्न आउनेको चाप बढेको कुण्ड व्यवस्थापन समितिका पदाधीकारीले बताए।
तातोपानीमा डुबेर उपचारका लागि देशका विभिन्न स्थानका साथै विदेशबाट समेत गरेर वार्षिक १६ हजार पाहुना आउने गर्छन्।तीन सय रुपैयाँ शुल्क तिरेर दश दिनसम्म स्नान गर्न सकिन्छ।कुण्डको आम्दानी र चन्दा सहयोगबाट कुण्डको संरक्षण, कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना नीजि स्रोतका शिक्षकको तलबभत्तामा परिचालन हुने गरेको छ।



प्रतिक्रिया दिनुहोस !