सहयोगबापत शरीरै चाहिने ?

सहयोगबापत शरीरै चाहिने ?

घर र पत्रकारिताको तालिम हुने स्थानबीचको दूरी २० किलोमिटर। २० किलोमिटरको दूरीमा पाँच किलोमिटर मात्र यातायातको साधन उपलब्ध थियो। बाँकी १५ किलोमिटर जंगलको बाटो हिँडेर वा कसैको सहयोगले मात्र पुग्न सकिन्थ्यो। कहिले हिँडेर, कहिले कसैको साइकल मागेर त कहिलेकाहीँ बाटोमा कोही भेटिएमा साइकल वा मोटरसाइकलमा आउनेजाने गरेर १२ दिने तालिममा सहभागी हुने गरेकी थिएँ। 

एक दिन जंगलको बाटो भएर तालिममा जाँदै थिएँ। पछाडिबाट एकजना अपरिचित पुरुषले मोटरसाइकल लिएर मेरोअगाडि रोकी ‘बस बैनी, म पनि उतै जाँदै छु, म छोडिदिन्छु’ भन्यो। उसको कुरा मलाई ठीकै लाग्नुभन्दा पनि त्यो घना जंगल पार गरेर ८ बजेको तालिममा सहभागी हुनुपर्ने थियो। त्यही भएर हुन्छ भनी मोटरसाइकलमा बसेँ। 
त्यो व्यक्तिले केही भन्छ वा गर्छ भनेर केही शंका भएन। जब घना जंगलमा पुगियो, त्यसपछि थाहा भयो— सहयोग गरेबापत पुरुषलाई हाम्रो शरीर नै चाहिने रहेछ ! आधा जंगलमा पुगेर बाइक रोकियो। ‘के भयो दाइ, बाइक 

बिग्रियो कि ?’
‘होइन बाइक बिग्रिएको होइन ।’
‘तेल सकिएको हो दाइ ?’
‘...’
‘के भयो त दाइ ?’
उसले जे जसरी भन्यो, सुनेर म अचम्भित भएँ। 
भन्यो, ‘मलाई भाडा चाहियो ।’ 
झोलाबाट पैसा निकालेर ‘इ लिनुस् कति भयो’ भनेर दिएँ। ‘पैसाको भाडा चहिँदैन, पैसा नभएको भए बाइक चढ्ने थिइनँ। मलाई अरू केही चाहिन्छ ।’ 

उसको अनुहार बदलिइसकेको थियो। उसले आफ्नो हात यौनांगमा घुसारेको थियो। घना जंगल। सुनसान। म डरले चिच्याएँ। त्यति बेला मेरो होश उडिसकेको थियो, जति बेला उसले आफ्नो यौनांग निकाल्यो। 
म निःशब्द बनाइएँ। 

पछाडिबाट एउटा गाडी आउँदै गरेको देखँ। त्यो व्यक्ति डरले हुनुपर्छ, आफ्नो मोटरसाइकलमा चढ्यो। आएको बाटोतिर भाग्यो। मैले लामो सास फेरेँ। सास त फेरेँ, तर अब के गर्ने ? 
सोचेँ, यसले पनि फेरि यस्तै गर्ने हो कि ? झन् डर लाग्यो। डरले मेरो शरीर वशमा थिएन। शरीर काँपिरह्यो, पसिनाले भिजिसकेकी थिएँ, गाडी नजिक नजिक पुग्न लागेको थियो। अनि पुनः गाडी रोकाएर चढूँ भन्ने हिम्मत भएन र त्यही जंगलभित्र पसेँ ।
 
पहिला स्कुल जाने बेलामा पनि साथीसँग वा एक्लै बाटोमा हिँड्दा गाडी आएको देखेमा वा गाडीको आवाज सुन्नेबित्तिकै भागेर जंगलमै लुक्ने गरेका थियौं। किनभने म पढ्ने विद्यालय र मेरो घरबीचको दूरी करिब तीन किलोमिटर र तीनवटा नर्सरी अर्थात् सामुदायिक वन पार गरेर विद्यालय जाने गरेकी थिएँ। 
         
बिहानको ८ बजिसकेको थियो। तालिम सुरु भइसकेको थियो। बीच जंगलमा म रूखको छेउमा लुकेर बसिरहेँ। मन त्रस्त थियो। जगंलबाट सडकमा आउने हिम्मतसमेत थिएन। केही समय सोचेँ, अगाडि जाऊँ कि 
पछाडि। अगाडि गए घना जंगल र तालिमको समय दुई घण्टा बितिसकेको; पछाडि फर्केर जाऊँ, त्यो व्यक्ति उतै गएको छ। 

जसोतसो गरेर बिस्तारै बिस्तारै यताउता हेर्दै बाटोमा आएँ। बाटो सुनसान थियो। सोचेँ, पछाडि फर्केर त्यो मानिस गएकोतिर जानुभन्दा त अगाडि बढ्नु नै राम्रो हो। अगाडि गएमा त्यो व्यक्तिसँग त भेट हुँदैन। 
अगाडि पछाडि हेर्दै हिँडिरहेँ। कहीँ दौड्ने, कहीँ हिँड्ने गरेँ। हिँड्दाहिँड्दै चरा, जनावर वा हावा चल्दा कुनै किसिमको आवाज आयो भने झसंग हुन्थेँ। 
घना जंगल पार गरी पासिनाले भिजेर १० बजे तालिमस्थलसम्म पुगेँ। साथीहरूले सोधे, ‘सोना के भयो ? किन यस्तो पसिनाले भिजेको ?’
‘त्यस्तो केही होइन, गर्मी भएर हो ।’

जसोतसो तालिममा बसेँ। थकाइले आँखा बन्द भइरहेको थियो। तालिममा बस्न सक्ने हिम्मतसमेत थिएन। आँखामा त्यही ‘दुर्भाग्य’ झलझली आइरहेको थियो। लाजले आफ्नो समस्या कसैलाई पनि भनिनँ। लाग्यो, आखिर भनेर के हुन्छ? उल्टै बेइज्जत मात्रै हुने न हो। 

तालिम सकियो। सबै बाटो लागे। म पनि हलबाट निस्केँ। अब फेरि त्यही घना जंगलको बाटो भएर जानु छ। झन् बढी तनाव बढ्यो। अगाडि चोकमा आएर इमिलिया जान जंगलबाहेक अरू कुनै बाटो छ कि भनेर सोधेँ। त्यहीँका एक जना बासिन्दाले खेतैखेतको बाटो भएर पनि पुगिने बताए। अनि त्यही खेतैखेतको बाटो हुँदै दिउँसो १ बजेको लु लाग्ने घाममा हिँड्दै घर पुगेँ। 

घरमा पनि कसैलाई भनिनँ। परिवार हाम्रै तर्फबाट बोल्न सक्ने किसिमको भएको छैन भन्ने लाग्यो। उल्टै आफ्नै छोरीबेटीको बानीमाथि आरोप लगाउने वा गलत ठहर्‍याउने प्रवृत्ति छ। अगाडि बढ्ने बाटो खुलाउनुभन्दा पनि अगामी बाटो बन्द गरिदिनेतर्फ लाग्ने हाम्रो घरपरिवार र 
समुदाय हो। 

यो कुरा मैले आजसम्म कसैलाई भनेकी थिइनँ। आजसम्म पनि त्यो घटनाले मलाई सधैं झसंग गराइरहन्छ। कसैको सहयोग लिएर कहीँ आउनु जानुभन्दा बरु नजानु नै बेस ठान्छु। यौन दुव्र्यवहार भोग्न नपरोस् भन्छु। 
अहिले धेरै साथीले सहयोग गरेबापत विभिन्न प्रस्ताव राख्ने र त्यसलाई स्वीकार नगरेमा सहयोग नगरिदिने, काममा बाधा पुर्‍याउने समेत गरेको कतिपय महिला पत्रकार साथीहरू सुनाउनुहुन्छ। 
के गर्ने यहाँ यस्तै छ !
महिलालाई समाज अझै नर्कै छ !  

[email protected] खटिक सामुदायिक रेडियो कपिलवस्तुकी स्टेसन म्यानेजर हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.