सबुत, डर र मीटू
सबुत र सत्य
सुन्तलाको बोटले पनि देख्यो
यांकेली गाउँ
बोखा, नागाल्यान्ड (स्क्रिन २– तेजिलो बयान (अमर कन्वर)
के सुन्तलाको बोटले साक्षीको बयान दिन सक्छ ? वा कुनै झ्याल, चन्द्रमा वा माटाका भाँडाहरूले ? यस्ता निर्जीव चिजहरूमा किन विम्ब देख्छन् मानिसहरू ? भारतीय कलाकार अमर कन्वरको ‘तेजिलो बयान’ (दि लाइटनिङ टेस्टिमोनिज) ले यौन हिंसाका यस्तै कथाहरूका यावत् पक्षलाई समेटेको छ।
भारतीय उपद्वीपमा विभिन्न समयमा भएका संघर्ष र लडाइँका क्रममा महिलामाथि भएका यौन हिंसाको लेखाजोखा गरिएको छैन। तर ती घटना मानिस (महिला)का मानसपटलबाट मेटिएका पनि छैनन्। यस्ता घटना सम्झिने–बिर्सिने आधारहरू, आफ्ना दुःख–पीडा पोख्ने विम्बहरू प्रत्येक महिलाका लागि भिन्न हुन सक्छन्। यस्ता घटना कथाका परिदृश्य जसरी महिलाका अगाडि आउँदा के उनीहरूले हुबहु बयान दिन सक्लान् ? महिलाका लागि यस्ता घटना सम्झँदै गर्दा पृष्ठभूमि र परिवेश महत्वपूर्ण हुन्छ कि हुँदैन ? महिलाका लागि विम्ब किन महत्वपूर्ण छन् ? तिनका अनुभूतिलाई ‘बेकारको गनगन’ भनेर किन खारेज गरिन्छ ? यस्ता प्रश्नहरूको उत्तर खोज्दै जाँदा प्रत्युत्तर कस्तो पाइएला ?
केही महिनाअघि हामी (मनीषा र निशा) ले यौन हिंसाको घटना बाहिर ल्याउँदा हाम्रा बयानमाथि यस्तैयस्तै थुप्रै प्रश्नवाचकहरू भेटिए। प्रश्नहरू यसरी तेर्सिए मानौं, हामी कुनै काल्पनिक कथा बुनिरहेका छौं। यस्ता प्रश्न तेस्र्याइने हामी पहिलो र अन्तिम होइनौं। अन्तर्राष्ट्रिय विमानस्थलमा बलात्कृत हुने सीता राई, दरबारमार्गमा बलात्कृत हुने महिला वा अन्य कुनै पनि पीडित महिलामाथि तेर्सिने साझा प्रश्न हुन् यी।
यौन हिंसाका घटनाबारे बोल्ने महिलाहरूलाई बरोबर दुइटा प्रश्न सोध्ने गरिन्छ। पहिलो, सबुत छ केही ? अनि दोस्रो, तिमी त्यो अवस्था वा ठाउँमा पुग्यौ नै किन ? सबुतका विषयमा प्रश्न उठ्नु स्वाभाविक हो। सबुतले नै विश्वासको आधार तयार पार्छ र यो कानुनी प्रक्रियाको महत्वपूर्ण पाटो पनि हो। तर डेढ वर्षयता संसारभरि फैलिएको ‘मीटू अभियान’माथि प्रश्नवाचक चिन्ह लगाउने आधार सबुत, साक्षी, प्रमाण र नियत हुन्।
सम्झिने कसरी हो ?
सत्यलाई कुनै विम्बको खाँचो हुन्छ ?
मानिसहरू माझ पनि शक्तिहीन हुने सत्यको महत्त्व के हुन्छ ?
–कश्मीर (स्क्रिन ८– तेजिलो बयान (अमर कन्वर)
मीटूको हल्लाखल्ला चलेपछि धेरै कुराकानी भए। कुराकानी किस्सा र अफवाहमा बदलिए। हाम्रा बयानहरूमा त्रुटि खोज्न थालियो, जसबाट ‘सत्य’को मापन गर्न सकियोस्। तर त्यस्तो ‘सत्य’को स्रोत के हो ? के सत्यको स्रोत व्यक्तिप्रतिको विश्वास हो ? हो भने, पीडितप्रति अविश्वास र पीडकप्रति विश्वास गर्नुपर्ने आधार के हो ? यस्तै प्रश्नका उत्तर खोज्दै प्रत्येक दिनजसो आउने प्रतिक्रिया केलाइरह्यौं।
सामाजिक सञ्जालमा तर्क वितर्क हुन थाले। धेरैले सोध्न थाले, ‘अबको बाटो के हुने हो ?’
‘न्याय ।’
अल्मलिएका हामीसँग यो बाहेक अर्को जवाफ हुन्थेन। तर न्यायको घेरा कानुनी प्रक्रियामा मात्र सीमित भएको मान्ने पक्षमा हामी थिएनौं। हामीलाई आएका प्रतिक्रियाहरूले कि हाम्रो चरित्रमाथि शंका गर्थे, कि प्रमाणित गर्न चुनौती दिन्थे।
‘व्यक्तिगत चरित्र, शील स्वभाव र बानी व्यहोरा थाहा पाउने जो कहिले पनि त्यो घटना भएको होला भनेर कदापि विश्वास गर्न सक्दैन ।’ पीडकमाथि ढाकछोप गर्ने पहिलो हतियार भनेको उसको काम र योगदानको सम्झना गराएर त्यस्ता व्यक्तिबाट यस्तो कार्य हुन नसक्ने दाबी गर्नु पनि हो।
‘नक्कली पीडित र नाम बदनाम गर्न खोज्ने केटीहरू, आफूलाई कत्ति न राम्री सोचेका होलान्, अस्तिसम्म सँगै अघिपछि लाग्थे, बाहिर गएर हल्ला गरेर पुग्दैन, प्रमाणित गर ।’
यसबाहेक सहरी क्षेत्रका महिलाको कुनै काम नहुने र यस्ता वाहियात अफवाहमा लाग्ने गरेको भन्ने खाले प्रतिक्रिया पनि नआएका होइनन्। शरीरमा चोटपटक नलागेको र बलात्कृत नभइसकेको अवस्थामा यौन हिंसा हुन नसक्ने र यो महिलावादको चरम सीमा र पुरुषविरुद्धको षड्यन्त्रका रूपमा लिने प्रतिक्रियाको पनि कमी भएन।
प्रतिक्रियालाई जवाफ दिन मुखभरि अनेक उत्तर आए पनि फेरि त्यसको कुनै औचित्य नरहेको कुरा गरेर हामी चुप रहन्थ्यौं। एक आपसमा कुरा गरेर मन हल्का गर्थ्यौं। कुनै पनि विषयमा यस्ता प्रतिक्रिया सामान्य हुन् तर यस्ता प्रतिक्रियाको बानी पार्न हामीलाई केही समय लाग्यो ।
के घटनास्थलले आफैं अदालतमा बयान दिन आउन पाउँछ ?
पाउँछ भने कुन चाहिँ अदालतमा पाउँछ ?
बंगलादेश १९७१ (स्क्रिन ५, तेजिलो बयान (अमर कन्वर)
डर र मीटू
अहिले हामीबीच भएको कुराकानी हामी सम्झन्छौं। हामी तीनमध्ये एक साथी असाध्यै डराएकी थिइन्। उनलाई हामी नडराउने आग्रह गथ्र्यौं। उनलाई हाम्रा बयानका त्रुटि देखाई हाम्रो कुरा झूटो भन्छन् कि भन्ने डर थियो। बाटोमा हिँड्दा पनि पीडकसँग नजिक भएकै मान्छेसँग ठोकिने त्रासमा हुन्थिन् उनी। उनलाई ढाडस दिँदै गर्दा हामी फेरि सोच्न बाध्य हुन्थ्यौं– कोही किन डराओस् वा कोही किन नडराओस् ! आधार के होला ? सामान्यतया आर्थिक, सामाजिक, राजनीतिक पुँजी, लैंगिक पहिचान, जातीय पहिचान आदि शक्तिका स्रोतमा पकड हुनु निडर हुने अवस्था होलान्।
यस्तै आधारहरूको अभाव हाम्रो डरको कारण हो। आफूमाथि भएको कुराको प्रतिकार गर्न नसक्नु, आफ्नो कुरा बाहिर ल्याउन नसक्नुको कारण डर पनि हो। सामान्यतया बाटोमा हिँडेको बेलामा यस्ता घटना भएकामा प्रतिकार गर्ने हामीले चिनेको जानेको मानिसले आफ्नै घर, कार्यालयमा यौन हिंसा गर्दा प्रतिकार गर्न नसक्ने कारणहरू थुप्रै छन्। यसमा सामाजिक संरचनाले थिचेको डर पनि एक हो। हामीले प्रतिरोध गरेनौं भन्नेचाहिँ होइन।
प्रतिरोधका विभिन्न स्वरूप हुन्छन्। ठूलो स्वरले के गरेको भनेर हकार्नेदेखि किन त्यसो गरेको भनेर मेसेज गर्ने सामान्य प्रतिरोधबाहेक हामी एकअर्काबीच कुरा गरेर प्रतिरोध गरिरहेका थियौं। तीन वर्षपछिको विरोधको स्वर क्षणिक आवेगको नतिजा अवश्य पनि होइन। प्रतिरोधहरू जोडिएर विस्फोट भएको हो।
हामी बाँचेको समाजले हामीलाई घृणा गर्ला भनेर धेरैले सजग गराए। यस्ता मानिसहरूले हामीलाई समाजको डर देखाएका थिए। केहीले गम्भीर अन्दाजमा हाम्रो भविष्य र करियर के होला भनेर पनि डर नदेखाएका होइनन्। हामीलाई यौन हिंसा हुनु र अरूलाई त्यही परिस्थितिमा किन नहुनु भनेर हाम्रो चरित्र मापन गर्ने डरदेखि हाम्रो चरित्रमै प्रश्नचिह्न आउन सक्नेसम्मको डर। कतिले त्यही बेला प्रतिकार गर्न नसक्नु हाम्रो द्वेषपूर्ण चरित्र हो भन्दै हामीप्रति ग्लानिभाव पनि देखाए। थरीथरीका डर देखाउने थरीथरीका मानिसको कमी भएन। डरका अनेकन चरण पार गर्दै अघि बढ्नु हाम्रो दैनिकी बनिसकेको छ।
यति हुँदाहुँदै पनि त्यहाँदेखि यहाँसम्मको हाम्रो मीटू संघर्षमा हामीलाई धेरैले सहयोग गरेका छन्। सुरुदेखि नै विश्वास गर्ने, हामीलाई ढाडस, हिम्मत र हौसला दिनेहरूकै साथले हाम्रा कुराहरू बाहिर आएका छन्, सुनिने भएका छन्। हामी पनि बोल्न सक्ने भएका छौं ।
तर घरिघरि हामीलाई डरकै साम्राज्यमा फर्काउन चाहनेहरू अझै क्रियाशील छन्।
[email protected] समाजशास्त्रमा स्नातकोत्तर हुन्।