खेलाडीले पोशाक नपाउँदै सकियो खेल
खजुरा (बाँके) : चैत २९ गतेदेखि सुरु भएको आठौं राष्ट्रिय खेलकुदअन्तर्गतको बक्सिङ प्रतियोगिता मंगलबार सम्पन्न हुँदैछ। मंगलबार केही फाइनल खेल मात्रै हुन बाँकी छ।
तर, राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीले अहिलेसम्म खेल पोसाक पाउन सकेका छैनन्। राष्ट्रिय खेलकुद परिषद्ले समयमै पोसाक उपलब्ध गराउन नसक्दा उनीहरु पुरानै पोसाक लगाएर खेल्न बाध्य भएका छन्।
नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौलाले परिषद्ले चैत ३० गते खेल पोसाक उपलब्ध गराउने जनाए पनि सोमबारसम्म खेलाडीले पोसाक नपाएको बताए। ‘भारतबाट ल्याउँदा समय लाग्ने भन्दै चैत ३० गते सबै पोसाक उपलब्ध गराउने जानकारी दिए पनि अहिलेसम्म खेलाडीले पोसाक पाएका छैनन्’ सिटौलाले भने।
सोमबार मात्र स्वर्ण पदक जितेकी त्रिभुवन आर्मी क्लबकी पुनम रावलले नयाँ पोसाक नपाउँदा पुरानै लगाएर खेलेको बताइन्। ‘नयाँ पोसाक पाइन्छ भनेर पुराना थोरै मात्र कपडा ल्याएको थिएँ’ उनले भनिन् ‘फाइनल जितिसक्दा पनि पोसाक पाउन सकिएन।’
राष्ट्रिय खेलकुद परिषद् भण्डार शाखाका प्रमुख सनत बम मल्लले सबै पोसाक नेपालगन्ज आइसकेकाले मंगलबारदेखि वितरण गरिने बताए। ‘विभिन्न कारणले गर्दा पोसाक आउन ढिला भयो। त्यही कारण खेलाडीले समयमै पाउन सकेनन्’ मल्ले भने ‘मंगलबारदेखि सबै खेलाडीलाई वितरण गरिनेछ।’
उनले मंगलबारदेखि खेलाडीलाई पोसाक बाँड्ने दाबी गरे पनि केही खेलका प्रतियोगिता सम्पन्न भइसकेकाले खेलाडी घर फर्किसकेका छन्। मल्लले खेलेर घर फर्किसकेका खेलाडीको घरमै पोसाक पु¥याइने दाबी गरे। ‘हामीले सबै प्रदेश र विभागका प्रशिक्षक र टिम व्यवस्थापकलाई परिपत्र गरेर खेलाडीलाई नै बुझाउन भन्छौं’, उनले भने।
बक्सिङमा सात प्रदेश, तीन विभाग र एनआरएनए टोली गरी एक सय ७७ खेलाडी, प्रशिक्षक र अफिसियल गरी ४४ जना र निर्णाय ४२ जनाको पोसाक पाउन बाकी रहेको संघका उपाध्यक्ष सिटौलाले बताए।
आर्मीका विमला, पुनम र सुशीलको लगातार स्वर्ण
त्रिभुवन आर्मीका बक्सिङका तीन खेलाडीले लगातार दुई राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।
महिला बक्सिङबाट पुनम रावल, विमला श्रेष्ठ र पुरुषबाट सुशील थापाले ७औं र ८औं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताको रेकर्ड राखेका हुन्।
बाँकेको खजुरा गाउँपालिकाको ज्ञानोदय मावि मैदानमा सोमबार भएको खेलमा पुनमले एपीएफकी विनिता थापालाई हराउँदै स्वर्ण जितेकी हुन्।
बाजुरा जिल्लाको बडिमालिका ८ की पुनमले बक्सिङ खेल्न थालेको ६ वर्ष मात्र भयो। उनले राष्ट्रिय खेलकुदसमेत गरी अहिलेसम्म ९ वटा स्वर्ण जितेको बताइन्। ४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन्।
विमलाले एपीएफकी माला राईलाई हराउँदै स्वर्ण जितेकी हुन्। रामेछापको देउराली ४ कि विमला ५ वर्षदेखि ०७१ सालदेखि आर्मीबाट बक्सिङ खेलिरहेकी छन्। उनले राष्ट्रिय प्रतियोगितासमेत गरी अहिलेसम्म ९ वटा स्वर्ण पदककी विजेता हुन्। ४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन्।
पुरुषतर्फ सुशीलले एपीएफका प्रदीप महर्जनलाई हराउँदै स्वर्ण जितेका थिए। त्रिभुवन आर्मीबाट स्वर्ण पदक विजेता तीनै जना खेलाडी केही दिनपछि थाइल्याण्डमा आयोजना हुन गइरहेको एसियन च्याम्पियनसीपमा सहभागी हुँदैछन्।
प्रतिक्रिया दिनुहोस !