आदिकविको घरले दियो विदेशीलाई उर्जा

आदिकविको घरले दियो विदेशीलाई उर्जा

शिखरकटेरी (चुँदीरम्घा) : जब सरकारले साहित्यकारलाई बुझ्छ तब साहित्यले महत्त्व पाउँछ। सरकारले नै साहित्य प्रवद्र्धनमा चासो लियो भने साहित्यले उर्वर भूमि प्राप्त गर्छ। आम साहित्यकारको यही भनाइ, बुझाइ र आशय साक्षात्कार भएको छ, तनहुँस्थित भानु नगरपालिकासँग।

आदिकवि भानुभक्त आचार्यकै नामबाट नामकरण गरिएको यो स्थानीय सरकारका प्रमुख उदयराज गौलीले दुईदिने अन्तर्राष्ट्रिय कवि सम्मेलनमा भानु जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय सुनाउँदा सहभागी साहित्यकार भन्दै थिए, ‘स्रष्टा राष्ट्रका गहना हुन् भन्ने नारा बल्ल व्यवहारमा लागू भयो।’

यतिमात्र घोषणा भएन सम्मेलनमा, भानु जयन्ती अबका दिनमा नगर सरकारले नै मनाउनेसमेत सार्वजनिक गरे नगरप्रमुख गौलीले। ‘जुन देशमा साहित्यकारको सम्मान र स्थान हुन्छ त्यो देशले समाज विकास गर्छ, देश पनि चिनाउँछ विश्वभर’, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले भने, ‘अझ म त भन्छु, सरकारको लोगो भएको ठाउँमा राखिएको जननी जन्मभूमिश्च स्वर्गादपी गरियसीको ठाउँमा भानुकै लोकको गरुँ हित भन्ने शब्द राख्नु सान्दर्भिक हुन्छ।’

भानु जयन्तीलाई ठूलो चाडका रूपमा मनाउने भारतको दार्जिलिङभन्दा केही परको बस्ती डुबर्सका कवि दुर्गा चाम्लिङ राई भानुकै जन्मघरमा चुँदीरम्घा आउन पाउँदा कम्ता खुसी थिएनन्। भानु जयन्ती भारतको दार्जिलिङमा भानु जयन्ती गोर्खा नेपालीकै ठूलो उत्सवका रूपमा मनाइन्छ।

भारतीय नेपाली भौगोलिक हिसाबले पर भए पनि भानु उनीहरूको मन र मस्तिष्कमा छन्। गीतल प्रतिष्ठान तथा नाटक मञ्च नेपालले शुक्रबार र शनिबार आयोजना गरेको उक्त सम्मेलनमा सहभागी हुन चाम्लिङसँगै आइपुगेका सिलगुडीका शुकराज दियालीले पनि भानुको साहित्यिक रचनाको सेरोफेरोमा उभिन पाउँदा गौरव महसुस भएको बताए।

दियालीले यही खुसीलाई कविताको भावबाट व्यक्त गर्दा देश विदेशबाट भेला भएका साहित्यकारमाझ तालीको पर्रा छुट्यो। नेपालीभाषीको सानो संख्या रहे पनि नेपालसँग भावनात्मक साइनो गाँसिएको बर्मा र राजधानी म्यान्मारका कविसमेत सम्मेलनमा सहभागी भए। गैर नेपालीभाषी सर्जकलाई समेत भावनात्मक साइनोले तान्ने काम ग¥यो।

चीनबाट आएका कवि लिउ वाङले खण्डहर नै भए पनि आदिकविको जन्मघरमा आउन पाउँदा विशेष ऊर्जा मिलेको बताए। लिउले सम्मेलनमा हिन्दु धर्म र दर्शनसँग जोडिएका काव्य सुनाएका थिए।

नेपाली लोकशैलीमा रामायण र कवितासमेत सिर्जना गरेका आदिकविको काव्यकृतिले विश्वका सबै भूगोलमा रहेका नेपालीलाई बाँध्ने काम गरेको सम्मेलनमा सहभागी स्रष्टाले पुष्टि गरेको स्थानीय आयोजकको पनि बुझाइ छ। भारतको सीमावर्ती मणिपुर पारिबाट आइपुगेका कवि अमित घिमिरेले भानुको जन्मथलोबाट धेरै कुरा सिक्न पाएको भन्दै नेपाल सरकारले यसलाई साहित्यिक तीर्थस्थल बनाउनुपर्नेमा धारणा राखे।

सम्मेलनमा अमेरिकाबाट गोविन्द गिरी प्रेरणा, जापानबाट बुनु दाहाललगायतले भानुका साहित्यिक सिर्जना नयाँ पुस्तामा पु¥याउनुपर्नेमा जोड दिए। शिखरकटेरीस्थित भानु जन्मघरको हालत देखेपछि भने यहाँ पुगेका सबै स्रष्टा अवाक बने।

साहित्यकार तुलसी दिवसले भानुको जन्मथलो संसारभरका नेपालीभाषीका लागि साहित्यिक तीर्थस्थल बन्नुपर्ने बताए। साहित्यकार नवराज लम्सालले भानु कसैको पेवा नभएको भन्दै भानुको थलोको संरक्षण र उनका रचनालाई जीवन्त पार्नुपर्नेमा जोड दिए।

सम्मेलनमा क्षेत्रप्रताप स्मृति पुरस्कार काभ्रेका कवि मोहन दुवाल, गीतल प्रभात राष्ट्रिय युवा प्रतिभा पुरस्कार गजलकार पुरु लम्साल र गीतल प्रभात प्रतिभा पुरस्कार दुर्गाकिरण तिवारीलाई प्रदान गरिएको थियो। मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले आदिकविको गाउँमा पहिलोपटक अन्तर्राष्ट्रिय कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा समेत स्तरीय साहित्यिक कार्यक्रम गर्न प्रेरणा मिलेको बताए।

००००००००००००००००००००

भानुको जन्मघर शिखरकटेरीको खण्डहरमा तस्बिर खिचाउँदै अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागी।

तस्बिर ः पवन पौडेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.