आठौं राष्ट्रिय खेलकुदको उद्घाटन आज
नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ। बाँकेको नेपालगन्ज रंगशालामा बिहीबार साँझ प्रतियोगिताको भव्य उद्घाटन गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए। ‘प्रतियोगिताको बिहीबार बेलुका राष्ट्रपतिज्यूबाट उद्घाटन हुनेछ’, विष्टले भने, ‘उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम सवा दुई घण्टा चल्नेछ।’
प्रतियोगिताको समापन भने चैत ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। विष्टले सातै प्रदेशको परिक्रमा गरेर ओलम्पिक टर्च बिहीबार रंगशाला परिसर आइपुग्ने र ओलम्पियन सुरेन्द्र हमालबाट दीप प्रज्वलन गरिने पनि जानकारी दिए। बुधबार साँझसम्म उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसक्ने जानकारी समारोह उपसमितिका संयोजक विनोद मैनालीले दिए।
‘बुधबार साँझसम्म रंगशालालाई सजाउने काम सम्पन्न हुनेछ’, उनले भने। उनले नेपालगन्ज सहरभित्र एक सयभन्दा बढी स्वागतद्वार निर्माण गरिएको उनले बताए। उनले आतिसबाजीका लागि भारतबाट विशेषज्ञ टोली नेपालगन्ज आइसकेको बताए। ‘उद्घाटनमा स्पोर्ट्स र सीआरपी लाइट प्रयोग गर्न भारतको लखनउबाट विशेषज्ञ टोली आइसकेको छ। उनीहरुले आधा घण्टासम्म आतिसवाजी गर्नेछन्’, परिषद्का बोर्ड सदस्य समेत रहेका मैनालीले भने।
समारोह उपसमितिका सचिव कुलबहादुर थापाले उद्घाटन समारोहमा आधा खेलाडी र आधा स्थानीय विद्यालयका विद्यार्थीलाई सहभागी गराइएको बताए। ‘विभिन्न साँस्कृतिक तथा स्थानीय पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरिने छ’ थापाले भने, ‘खेलाडी गीतमा एकैपटक आठ सय ५० जनाले नृत्य गर्नेछन्।’ प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि अधिकांश खेलहरु भने चैत २७ गतेदेखि नै सुरु भइसकेका छन्।
उद्घाटनअघि ११ खेल सम्पन्न भइसकेको सदस्यसचिव विष्टले बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। बुधबार मात्र बाँकेको कोहलपुरमा क्रिकेट, खजुरामा फुटबल र भलिबल सुरु भएको छ। प्रतियोगितामा समावेश ३५ खेलहरु प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा सञ्चालन भइरहेका छन्। भौतिक संरचनाका कारण आठौंअन्तर्गतका केही खेल प्रदेश ५ बाहिरका जिल्लामा पनि सञ्चालन गरिएको छ। स्क्वास ललितपुर, प्याराग्लाइडिङ कास्की र गल्फ काठमाडौंमा भएका थिए।
आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिने निर्णय गरिएको सदस्यसचिव विष्टले बताए। सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले १० हजार रुपैयाँ पाएका थिए।
नयाँ कीर्तिमान बनाउने खेलाडीले भने २५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, सातवटै प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट आउने नौ देशका खेलाडीसहित पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहेको छ।सहभागी खेलाडीमध्ये दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला छन्। प्रतियोगितामा विभिन्न खेलका ६ सय ४० प्रशिक्षक र चार सय ६१ व्यवस्थापक सहभागी भएका छन्। सदस्यसचिव विष्टले सबै खेलका खेलाडी, प्रशिक्षक र अफिसियल नेपालगन्ज आइसकेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !