जानुपर्दैन कालापहाड, गाउँपालिकाले दियो गाउँमै रोजगारी

जानुपर्दैन कालापहाड, गाउँपालिकाले दियो गाउँमै रोजगारी

दैलेख : गाउँमा रोजगारी र आयआर्जनका विकल्प नहुँदा गुराँस गाउँपालिका–३ का सहवीर सुनारले धेरै वर्ष कालापहाड (भारतीय भूमि)मा बिताए। तर, उनी हिजोआज आफ्नै ठाउँमा पसिना बगाइरहेका छन्।

‘म कालापहाड नगएको चार महिना भयो’, गाउँनजिकै सडक खन्दै गर्दा भेटिएका सहवीरले भने, ‘गाउँमै रोजगारी मिलेको छ। परिवारसँगै बसेर काम गर्न पाएको छु। सडक खन्ने काम गर्छु। महिनामा १० हजार रुपैयाँ तलब मिल्छ।’ कालापहाडको दुःख छुटेर परिवारसँग बस्न पाउँदा उनी दंग छन्।

गाउँपालिकाले पूर्वाधार विकास कार्यदल गठन गरी उनीजस्ता स्थानीयलाई काम दिएको छ। कार्यदलमा सहभागी युवाले चार महिनादेखि गाउँपालिकाभित्रका सडक र बाटो खन्ने, सार्वजनिक भवन मर्मत तथा रंगरोगन गर्ने, खानेपानीका पाइप गाड्ने र अन्य पूर्वाधार निर्माणका काम गरिरहेका छन्। दैनिक आठ घण्टा काम गर्ने उनीहरूले मासिक रूपमा १० हजार रुपैयाँ पाउँदै आएका छन्। सुरुमा आठ वडाबाट १० जनाका दरले ८० युवाले रोजगारी पाएका छन्। यसले मजदुरीका लागि भारत जान बाध्य युवालाई गाउँमै रोकेको छ।

‘हामीलाई काठमाडौंको सिंहदरबार चाहिएन। यसरी आफ्नै गाउँमा पसिना बगाउन पाइयोस्’, गुराँस–४ का प्रेमबहादुर सिंहले भने, ‘स्थानीय सरकार आएपछि गाउँमै रोजगारी मिलेको छ। आफ्नै ठाउँमा पसिना बगाउन पाएका छौं।’ मजदुरीका लागि भारत जानुपर्ने बाध्यता हटेको छ। ‘अर्काको देशमा काम गर्न सजिलो थिएन’, उनले भने, ‘कैयौं रात ज्यान जोगाएर काम गर्नुपथ्र्यो। हामीले नयाँ जीवन पाएका छौं।’ यहाँ श्रम गर्दा गाउँको विकास भएको र परिवारका सदस्यसँग सुखदुःख साट्दै बस्न पाएको उनको भनाइ छ।

स्थानीय सावित्रा शाहीका पतिको एक वर्षअघि भारतमै मृत्यु भयो। परिवारका मूली नरहेपछि सावित्रालाई बालबच्चा हुर्काउन मुस्किल प¥यो। उनी पनि गाउँपालिकाले गठन गरेको विकास कार्यदलमा जोडिएकी छन्। गाउँ जोड्ने सडक निर्माणमा उनी खटिएकी छन्। ‘मुग्लान त कोही पनि जान नपरोस्, यसरी गाउँमै पसिना बगाउन पाऊँ’, उनले भनिन्, ‘गाउँको विकास हुने, घरमै बसेर कमाउन पनि पाइने।’ उनीजस्ता धेरै महिलाले गाउँमै काम पाएका छन्। यसले घरखर्च धान्न सहज भएको र मजदुरी गर्न भारत जानुपर्ने अवस्था हटेको उनले सुनाइन्।

आर्थिक रूपमा कमजोर, बेरोजगार र एकल महिलालाई कार्यदलमा प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ। यहाँका युवाले पनि आफ्नै ठाउँमा पसिना बगाउने र गाउँको विकासमा जुट्ने अठोट लिएका छन्। ‘अब गाउँका कोही पनि युवा मजदुरीका लागि कालापहाड जाने छैनन्’, ३ नम्बर वडाध्यक्ष गंगाराम खत्रीले भने, ‘उनीहरूलाई हामी गाउँमै रोजगारी दिन्छौं। अब डोजरले होइन, हाम्रा युवाले गाउँका सडक र बाटा खन्नेछन्।’

आगामी आर्थिक वर्ष कार्यदलमा सदस्य थपेर २ सय ४० जनालाई रोजगारी दिने गाउँपालिकाको योजना छ। ‘युवालाई हामी गाउँ निर्माणमा लगाउँदै छौं’, गाउँपालिकाका अध्यक्ष खेमराज वलीले भने, ‘अब युवाको सीप र पसिना गाउँमै लगानी हुन्छ।’ कालापहाड जानुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्न स्वरोजगारमूलक नीति र योजना ल्याइएको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.