जोखना जोख्दै

जोखना जोख्दै

राजन मुकारुङले ‘जोखना’लाई नाट्य रूपान्तर गर्दा जनयुद्घलाई बेवास्ता गर्न मिल्दैनथ्यो।


‘जनयुद्ध’की योद्धा टीका बाँस्तोलाका श्रीमान् भीम गिरी युद्धकै क्रममा २०६० सालमा सेनाबाट बेपत्ता पारिएका हुन् । त्यो समय गुज्रिएको पन्ध्र वर्ष भइसकेको छ । यो डेढ दशकको अवधिमा देशमा कति परिवर्तन आइसके । ती गल्लीहरूमा लाखौं पाइला पर्दै मेटिँदै गए । उनी आफैं सयौंपल्ट हिँडिसकिन् । जनयुद्ध गर्ने पार्टी सत्तासीन छ ।

माओवादीकै एक योद्धा उनका श्रीमान्को आजसम्म कुनै खबर छैन । हराएकाहरू फर्की नआएसम्म बाँच्नेहरूको आँखामा आशा जिउँदै हुने रहेछ । राजधानीका ती गल्लीहरूमा हिँडिरहँदा पछाडिबाट आएर श्रीमान्ले बोलाई पो हाल्छन् कि ? उनी झस्केर दायाँबायाँ हेर्छिन् । श्रीमान् आज पनि अचानक तिनै गल्लीमा भेटिएलान् भन्ने झझल्को उनको आँखामा मेटिएको छैन ।

मण्डला थिएटरमा नाटक ‘जोखना’ हेरिरहँदा युद्ध लडेर आएकी टीका बाँस्तोला र युद्धकै बेला बेपत्ता भएका श्रीमान् पर्खिबसेकी नाटककी पात्र धनसुवाको मनोदशा उस्तै लाग्छ । किराती सांस्कृतिक विम्ब हातमा सेतो धागो तानिबसेकी धनसुवा लोग्नेको पर्खाइमा विरह गीत गाउँछिन् । जीवनको दुःखलाई प्रतिविम्बित गर्दै मञ्चमा छरिएको मधुरो उज्यालोमा उनी पर क्षितिजतिर एकोहोरो हेरिबस्छिन् ।

प्रेमिल आवाजमा जसै परैबाट बोलाउँदै आई पो हाल्छन् कि ? आशा र निराशा टाँगिबसेको धनसुवाको अनुहारले दर्शकको मन अमिलो गरी अँठ्याउँछ । ढोल र रातो भाले बोकेर साकेला नाच्न गएको जसे माओवादी र सेनाको दोहोरो भिडन्तमा परेपछि घर फर्किंदैन । बालखा छोरा हुर्केर लाहुरे भिड्न सपना पछ्याउने भइसक्यो, जसे फर्किंदैन । धनसुवाको सपनाले संकेत गर्छ, जसे कतै आपतविपत्मा परेको हुन सक्छ । सेलेमीले बाटो खोलिदिए भने जसे एक दिन अवश्य फर्किन्छ भन्ने आशा धनसुवाको मनमा बाँची नै रहन्छ । 

बेपत्ता हुनेका परिवारले भोग्दै आएको मनोदशा भयानक पीडादायी छ । टुप्लुक्क आँगनमा आई पो हाल्छ कि भनेर रातदिन बाटो हेर्ने वृद्ध आमाबुवाको आशा, श्रीमान् फर्किआउने गोरेटोमा आधा जीवन आँखा बिछ्याई बस्ने श्रीमतीको आशा कम्ता डरलाग्दो हुँदैन । यति लामो अवधि हुँदा पनि राज्यले बेपत्ताको अवस्था सार्वजनिक गर्न सकेन । तब आफूलाई विधवा कि सधवा मानेर बस्नु ? बेपत्ताका श्रीमतीहरू अधमरो बाँचिरहेका छन् । 

रीतिथिति, संस्कृति दबेको बेला, नीतिनियम बिग्रेको बेला कसरी बिजुवाले मात्रै सहीसत्ते जोखना ल्याऊन् ? सेलेमी उल्टो परेको जोखनाको स्पष्टीकरण दिन्छन् । किराती समुदायको मुख्य चाड उभौलाका अवसरमा राईहरू पन्ध्र दिनसम्म साकेला नाँच्छन् । युवकयुवतीले राती नाच्न सिक्ने र दिउँसो नाच्ने तर युद्धकालमा साकेला नाचिरहेको ठाउँमा सेनाले माओवादी भनेर बम हान्यो । यस्ता त्रासका बीच पूरै जनजीवन प्रभावित हुँदा स्वाभाविक रूपमा सांस्कृतिक गतिविधिमा पनि असर प¥यो । 

पूर्वमा हाटबजार स्थानीयवासीको आर्थिक तथा सांस्कृतिक भावना आदानप्रदानको थलो हुन्थ्यो । त्यस्ता हाटबजार औंसी, पूर्णिमा, पञ्चमी, सप्तमी, आइतबारे, मंगलबारे, सोमबारे जस्ता तिथि र बारका आधारमा लाग्थे । यी नियमित लाग्ने हाटबजारबाहेक विभिन्न सन्दर्भमा मेला लाग्थे । धनकुटा–पाँचथरको सीमा नावाखोला दोभानमा पाँच दिनसम्म लाग्ने कोक्लिबुङ मेला, तीन दिनसम्म धुवाँखोला दोभानमा लाग्ने देउलिङे, लखुवा दोभानको त्रिवेणी मेला, एक हप्तासम्म लाग्ने इलामको माइबेनी मेला, गजुरमुखी मेलाहरू स्थानीय मौलिक संस्कृति फक्रिने थलो थिए । 

दुईतीन दिनदेखि एक हप्तासम्म लाग्ने त्यस्ता मेलामा स्थानीयवासी जीवन निर्वाहका वस्तु अन्नपात, पशुपक्षी खरिदबिक्री तथा विनिमय गर्थे । यसबाहेक साथीसंगी, आफन्त भेटघाट गर्ने थलो बन्थ्यो यस्ता हाटबजार तथा मेला । सशस्त्र युद्धका समयमा दोहोरो भिडन्त हुन्थे । आमजनजीवन प्रभावित भएको बेला हाटबजार र मेला पनि प्रभावित बने । धाननाच सामूहिक रूपमा नाचिने संस्कृति हो ।

तर, आधुनिकताको प्रभावका कारण जोडी जोडी बस्ने चलन बढेपछि केही ठाउँमा माओवादीले भाटे कारबाही चलाएको कवि स्वप्निल स्मृति सम्झन्छन् । सेनाले स्थलगत तथा नाइटभिजन गस्तीसमेत गर्न थाल्यो । सर्वसाधारणलाई राती बस्न, जमघट हुन प्रतिबन्ध लगायो । यसले गर्दा जुनेली रातमा जम्ने यस्ता मेला लाग्नै बन्द भयो । त्यससँगै धान नाच्ने र पालाम भन्ने संस्कृति एक हिसाबले लोप भएको पनि उनको भनाइ छ ।

पहिचान र संस्कृति संरक्षणको पुनर्जागरणको चेतना जागेपछि बल्ल अहिले यस्ता संस्कृति जगाउने प्रयास हुँदै छ । त्यस्तै जनयुद्धलाई दबाउने भन्दै किरातहरूको चिहान क्षेत्र, किरात धर्मगुरु फाल्गुनन्दको पाँचथरकै लोब्रेकुटीस्थित समाधिस्थल लगायत विभिन्न सार्वजनिक स्थलमा सेनाको क्याम्प बसाल्यो । उसो त युद्धरत पक्षले मठमन्दिरहरू पनि भत्काए । देशैभर युद्धका कारण भौतिक क्षति भइरहेको बेला यो क्षेत्र पनि प्रभावित बन्न पुग्यो । 

नाटकमा भनिन्छ, ‘अहिले सारा संसार जल्यो, मान्छेहरूले पाप सम्झेन, धर्म सम्झेन, नीतिनियम सम्झेन । सप्पैको विश्वास टुट्यो ।’ जनयुद्ध हुनुअगाडि के समाजमा आमजनताको जीवनमा सुख, शान्ति अमनचैन मात्र थियो ? पच्चिसा र चक्रीय ब्याजले उठिबास लाग्ने गरिबहरू कति थिए ? नाटकले किराती समुदायको कुरा गर्छ । के यो समुदायमा चाहिँ सबै एउटै वर्गका जनता थिए ? पक्कै थिएनन् । 

एउटा महाजन लिम्बू आसामी उठाउन घोडामा हिँड्थ्यो । अर्को गरिब लिम्बू जीवनभर थाप्लो र ढाड पिल्स्याएर महाजन लिम्बूकहाँ हलो जोत्थ्यो, भारी बोक्थ्यो । यो वर्ग विभेदलाई बाहुन र दलितका बीचमा मात्र हेर्नु हाम्रो सामाजिक संरचनामा मिल्दैन । जीवनभर अर्काको भरिया हुने त्यो वर्गका लागि समाजप्रति कुन विश्वास टुट्न बाँकी हुन्छ?  लामो समय माक्र्सवादी सिद्धान्तलाई स्वीकार्दै पहिचानको मुद्दाका एक अभियन्ता राजन मुकारुङले ‘जोखना’लाई नाट्य रूपान्तर गर्दा जनयुद्धको यस पक्षलाई पनि बेवास्ता गर्न मिल्दैनथ्यो ।

धामीझाँक्री, बिजुवाहरूले ल्याउने जोखना संस्कृति शतप्रतिशत ठीक मान्न सकिँदैन । भलै उनीहरूले अपनाएका केही प्राकृतिक, मौलिक ज्ञान, जडीबुटीजन्य औषधिको प्रयोगलाई संरक्षण, पुस्तान्तरण गर्न सकिएला । त्यसो भन्दैमा जोखनामा ल्याइने कैरनको वैज्ञानिक आधार छैन । धामीझाँक्रीको जोखनाकै आधारमा एउटी गरिब महिलालाई बोक्सी ठहर गर्दै मलमूत्र कोच्याउनु, जिउँदै आगो लगाउनु कहाँसम्मको रूढिग्रस्त, अवैज्ञानिक, अमानवीय संस्कार हो ? बिरामी पर्दा होस् वा मरेका आत्मालाई ठेगान लगाउने अर्थमा झाँक्री वा विजुवा राख्न सामान्य आर्थिक हैसियत भएका मानिसलाई ऋण गर्नुपर्ने अवस्था हुन्थ्यो ।

कालो बोका, हाँस, कुखुरा, सुँगुरको जोहो गर्दागर्दै कतिपय बिरामीको ज्यान जाने, उता परिवार ऋणमा पनि डुबेका प्रशस्तै उदारहण छन् । जोखना नाटकको सन्दर्भमा भन्नुपर्दा सेलेमीको जोखनाको विश्वास गर्दा परिवारले जिउँदो मानिसको किरिया गर्न पुग्छ । १७ वर्षसम्म लोग्ने जीवितै फर्केलान् भन्ने आशामा बसेकी धनसुवाले घर फर्केका श्रीमान् फेरि गुमाउँछे । पहिचानको 

बहस गरिरहँदा सांस्कृतिक आडमै जरा गाडेका यस्ता विकृत पक्षलाई माया गर्नुले हामी वैज्ञानिक समानतामूलक समाज निर्माणमा फेरि 
पनि चुक्नेछौं । 

नाटकमा दोहोरो भिडन्त मात्र देखाइन्छ । तर जसेलाई कसले बेपत्ता पा¥यो ? के ऊ जनयुद्धमा सामेल भयो ? होइन, सेनाको जासुस भयो ? होइन भने कसरी बेपत्ता भयो ? दोहोरो भिडन्तमा सर्वसाधारण चेपुवामा परेको अर्थ लगाइनु त एउटा पक्ष होला । तर, माओवादी र सेना दुवैलाई एउटै कित्तामा राखेर हेर्नु अर्को कमजोरी हुन्छ । जनताकै पहिचानकै कुरा गरिरहँदा पक्षधरता लिन चुक्नु भनेको आफैंले उठाएको मुद्दामाथि विश्वास नहुनुजस्तै हो । नाटकमा सेलेमीको जोखनाले मरेको ठहर गरी किरिया गरिसकेपछि जसे जिउँदै गाउँ फर्किन्छ ।

समाजले मानिआएको सेलेमी र समाजलाई प्रतिप्रश्न गर्दै फेरि याम फर्केपछि अवश्य आउँछु भन्दै जसेले गाउँ छोड्छ । शान्ति सम्झौता, संविधानसभा हँुदै देश संघीयतामा पुगिसक्यो । अहिले स्थानीय शासन प्रणाली सुरु भइसक्यो । यद्यपि जनताको जीवनस्तरमा खास परिवर्तन आएन । उसो हुँदो हो त अहिले पनि मलेसिया र खाडी मुलुकको भिसा पर्खेर बस्ने युवाको लाम किन उस्तै हुनु ?

हरियो चामल लिन तीन दिनको बाटो धाउनुपर्ने कर्णालीवासीको दुःखको रङ किन नफेरिएको ? के प्रधानमन्त्रीले भनेजस्तो समृद्ध नेपालको तस्बिर यस्तै हो ? यिनै प्रश्नले जन्माएको छ पुनः सशस्त्र विद्रोह । 

जसे जसरी युद्धमा बेपत्ता भएकाहरू फर्की आए भने के जवाफ दिन्छ राज्यले ? के जवाफ देला सत्ताधारी माओवादीले ? नाटकमार्फत यहाँनेर आइपुग्दा भने मुकारुङको वैचारिक खुट्टा बलियो गरी उभिएको छ । वियस राईको सामाजिक पृष्ठभूमिको कथालाई यही राजनीतिका लागि जनयुद्धको क्यानभासमा नाट्य रूपान्तरण गरेको मुकारुङको जिकिर छ । युद्ध गर्नेहरूले जसेहरूलाई बिर्सेका छन् । बेपत्ता भएकाहरू फर्केर आए भने राज्यले के जवाफ देला ? 

नाटक ‘जोखना’ले मुन्धुममा आधारित किराती संस्कृतिको प्रतिविम्बन गरेको छ । तीन चुला पुज्ने संस्कृति, बिजुवा नाच, जोखना कैरनजस्ता प्रस्तुतिले दर्शकलाई किराती संस्कृतिको नजिक पु¥याउँछ । सामान्य सेट डिजाइनमा देखाइने नाटकले दर्शकलाई किराती सभ्यताको प्रस्ट झल्को दिन्छ ।

कलाकारले बोल्ने भाषा, प्रयोग भएका वेशभूषा, सेतो, हरियो धागोको प्रयोग, धेरैजनाले उल्टो कुचो लाउनु, बाटो खन्दै मडुवा खैनी खानु, पूर्वेली सेलो गीतको प्रयोग हुनुले नाटकको प्रस्तुतिलाई उम्दा बनाएको छ । बिजुवा (सेलेमी)को भूमिकामा अनिल सुब्बाको अभिनय सशक्त छ । संगीता थापा, रूपेश लामा, सञ्जीव राई, कविराज राई, सुदर्शन क्षेत्री, मानहाङ राई, पवित्रा राई, दिवान रसाइली, निशा पाख्रिन र मनिकुमार राईको अभिनय 

सशक्त छ । उपेन्द्र सुब्बाको कथा ‘लाटो पहाड’लाई जीवन्त बनाएर मञ्चमा उतारिसकेका किरण चाम्लिङको निर्देशकीय सामथ्र्य ‘जोखना’मा पनि खरो साबित भएको छ ।
जोशी कवि तथा पत्रकार हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.