के घर, के माइती
म घर (जन्म) बाट घर (कर्म) जान तयार भएकी छु । ममी भान्सामा धमाधम खाजा बनाउँदै हुनुहुन्छ । म सिकुवामा ढल्किएकी छु । तल्लो घरकी भाउजू र मसँगै केर्खासम्म जाने कुरा भएको छ । भाउजू बाटैदेखि हल्ला गर्दै आउनुभो ।
‘खाजा खाएर जाऊ न ।’
म झसंग भए ।
‘होइन म त यत्तिकै ढल्केकी पो त ।’
ममीले खाजा ल्याउनुभयो ।
भाउजूले भनिरहनुभयो, ‘हँ काकी ? घरमा जतिसुकै मजाको सासूससुरा, घर, परिवार होस् न । मरे ढुक्क हुँदैन । सुत्न त सुतो नि । कसैले केही सोची पो राखेको छ कि ? मनमनै सराप्दै पो छन् कि ? भित्र कता हो कता बिझाइरन्छ ।’
ममीले म जन्मेपछि सुत्केरी खान माइत जाँदाको एउटा घटना सुनाउनु भयो-‘म यसलाई (मलाई) चिल्लो लगाएर सँगै घाममा सुतेकी थिएँ । झकाउँदै थिएँ । निदाएकी थिइनँ । गाउँका ८०, ८५ वर्षका बूढी आमोईहरू, आँगनमा बसेर आमासँग कुरा गर्दै थिए ‘माइतमा गएर सुत्न पाउँदा त कति हो कति आनन्द हुन्छ नि बाबै’ । त्यो बुढेसकालमा पनि आमोईहरूले म सुतेको देखेर माइतीघरमा सुत्दाको मजा सम्झिए । आखिर माइत भनेको माइतै हो । अहिले पनि मलाई माइत गएपछि बेग्लै आनन्द हुन्छ ।’
मैले त त्यस्तो सोचेकै रैनछु । साँच्चि त मलाई पनि त त्यस्तै भएको थियो । बिहे गरेको ठीक एक वर्ष भएको छ । म घरबाट घर जान लाग्दैछु । माइत भन्न मेरो जिब्रोले अझै स्विकार्दैन । आँखा रसाए । हिँड्ने बेला मलाई सुतिरहनु जस्तो लाग्यो । मैले जम्मै ध्यान खाजामा लगाए । कतै आँसु नझरोस् ।
मेरी छिमेकी भाउजू राईकी छोरी, लिम्बूकी बुहारी ।
गाउँकी सबैभन्दा सक्रिय मान्छे । स्वतन्त्र बुहारी । लाग्थ्यो बिहेपछि यी भाउजू जत्तिको खुल्लम खुल्ला हिँड्न डुल्न, काम गर्न पाए पुग्छ । तर भाउजूबाटै यस्तो कुरा सुनेपछि पो म झसंग भएँ । हामीले त देखिने अन्याय, शोषण, दमनलाई मात्रै पो अहिलेसम्म ध्यान दिइरहेका रहेछौं । यो सबैले बेवास्ता गरेको तर हर महिलाले अनुभूत गरेको कुरा हो । र यो अन्तर्मनको पीडालाई हाम्रो (खस) जातिमा भन्दा बढी उदार भनिएको किराँती समुदायमा पनि पर्गेल्न सकिएको रहेनछ ।
बुझेर झन् दु :ख लाग्यो । यो जिजुआमाको पालादेखि
डर लाग्थ्यो, बिहे भन्ने चिजदेखि। कसरी बस्ने होला अर्काको घरमा ? न आफन्त, न चिनजान। तर बिहे नगरेर के गर्ने ? ‘लिभिङ टुगेदर’ कल्पना गर्न पनि डर लाग्थ्यो। कि बिहे नै नगर्ने ? यस्तो नै पनि सोचेकी थिइनँ।
पनातिनी, जनातिनीको पालासम्म पनि उस्तै रहेछ । भित्र कताकता दुखिरह्यो ।
पहिला घरमा अलि ठूलो स्वरमा बोल्दा, चित्त नबुझेको कुरामा विरोध जनाउँदा, काम गर्ने ढंग नपुग्दा ममीले भन्ने कुरा सधैं एउटै हुन्थ्यो, ‘पछि कस्तो घरमा पर्छेस कोनि ।‘
मेरा ती सब व्यवहारले ममीको चिन्ता बढ्थ्यो । तर त्यो चिन्ता वर्तमानको लागि नभएर छोरीको भविष्यको लागि थियो । अर्थात् बिहे गरेपछि आउन सक्ने चुनौतीको लागि थियो । मेरो हरकुरामा प्रश्न गर्नुपर्ने (जसलाई ममी मुखाले भन्नुहुन्छ) स्वभावको कारण कतै दु :ख पो पाउने हो कि ? ममीले डर देखाउनु हुन्थ्यो । त्यो पछि जानुपर्ने घरको नाममा । सायद यही आशाले कि जसरी सानामा झगडा गर्दा भूतको नाम सुनेरै चुप हुन्थेँ ।
तर अब म सानी रहिनँ । ममीले डर देखाउने भूत (पराइघर) लाई लात्तीले हानेर भगाइदिन्छु भन्न सक्ने भएकी थिए । लाग्थ्यो, पराइ घर किन जानु आखिर तेति धेरै डराउनुपर्छ भने ? म बिहे गर्दिनँ भन्न थालेकी थिएँ । ममीलाई छोरीले पढ्न मात्र हैन घरका पनि सबै काम जानोस्, मुखमुखै लाग्न होइन, सहनशील बन्न सिकोस् भन्ने लाग्थ्यो । भन्नुहुन्थ्यो, ‘कामधन्दा राम्रो गरेपछि अर्काको घरमा गएपछि काम लाग्छ ।’ यही काम तेरो जिन्दगीभर आवश्यक पर्छ भनेर ममीले किन भन्नु भएन ? चाहे बिहे गरुँ या नगरुँ ? । समाजले किन मलाई र म सँगैका भाउजूहरूलाई गर्ने व्यवहार फरक छ ? मलाई डर लाग्थ्यो बिहे भन्ने चिजदेखि । कसरी बस्नु होला अर्काको घरमा ? न आफन्त, न चिनजान ।
एकदिन धूमधामले बिहे गर अनि जाऊ सधैं सधैंका लागि । अहिलेसम्म बाँचिरहेको घर संसार त भ्रम पो रहेछ भनेर । तर बिहे नगरेर के गर्ने ? काठमाडौं तिर सुनिन थालेको ‘लिभिङ टुगेदर’ हाम्रो गाउँमा कल्पना गर्न पनि डर लाग्थ्यो । कि बिहे नै नगर्ने जिन्दगीभर ? त्यस्तो नै पनि सोचेकी थिइनँ । मलाई जीवनमा कोही न कोही साथी त पक्कै चाहिएला । आखिर त्यो साथीसँग बिहे गर्दा वा नगर्दा के फरक पर्छ ? यदि विवाह पछि अनिवार्य रूपमा उसकै घरमा बस्नुपर्ने नभए । यही त हो समस्याको जड ।
तर मँसग प्रश्न गर्ने शक्ति मात्र रहेछ जवाफ दिने होइन । आखिर मैले पनि बिहे गरेँ ।
भनिन्छ नमरी स्वर्ग देखिँदैन । बिहे गरेपछि थाहा
पाएँ । ममीको शरीरको अंग जत्तिकै सधैं शरीरमा देखिएका सिन्दूर, पोते, टीका, चुरा, साडी चोलो सधैं
लगाइरहनु कति गाह्रो हुँदो रहेछ । बिहे गरेपछि मैले पोते त लगाइराखे तर टीका, चुरा, सिन्दूरमा कुनै एक न एक थोक छुटेकै हुन्थ्यो । भर्खरै बिहे भएको । घरमा कोही न कोही बेहुली हेर्न भनेर आइरहने । ती गएपछि कि आमाले कि अरू कसैले सम्झाइदिनु हुन्थ्यो । ‘खोइ टीका या सिन्दूर ? ए नाडी त नांगै रैछ, चुरा लाउनुपर्छ ।’
अहो कत्तिथोक पो सम्झिनुपर्दो रहेछ ! मलाई बिहे अघि विवाहित महिलाले लगाउने यस्ता पहिरन खुब राम्रो लाग्थ्यो । ममीले नयाँ पोते किनेर ल्याउँदा लगाउने गर्थें । तर जब यिनै कुरा बाध्यता भयो, मलाई झर्को लाग्न थाल्यो । केके मात्रै सम्झिराख्नु ? यस्सो लेख्न पढ्न बस्यो चुराले घोच्ने ।
हातमा एलर्जी हुने । टीकाको गमले छालामा क्यान्सर लाग्न सक्ने भनेर उहिल्यै पत्रिकामा पढेकी थिएँ । यी सब पुँजीवादका द्योतक । अनेक थोक भिरेर पैसा र समयको नष्ट किन गर्नुपर्ने मैले ? जतिजति यी सब कुरा लगाउनुपर्ने नैतिक दबाब महसुस हुन्थ्यो उत्ति नै यी चिजप्रतिको घृणा बढेर जान्थ्यो । अलिअलि गर्दै बल्ल पोतेबाहेक अरू कुरा भने अनिवार्य रूपमा लाउने गर्न छोडे । पोते पूर्णत : समाजभन्दा बाहिर जान आँट नआएर हो । तर पनि घरमा कोही मान्छे आए माइतमा जस्तो फुत्त बाहिर निस्किन अझै सक्दिनँ । टीका पो लाउनुपर्ने हो कि ? सिन्दूर देखिएको छ छैन ? एकपल्ट ऐना हेर्छु । चुरा लाऊँ कि ? कहिले लाएर कहिले त्यत्तिकै बाहिर निस्किन्छु । डराउँछु घरको बलेसी नाघिसक्दा यी मान्छेले मेरोबारे के के कुरा काट्दै हिँड्ने पो हुन् कि ? यी कहिल्यै नदेखेका मान्छेले मलाई के सोचे होलान् ?
घरिघरि लाग्छ ‘आ जेसुकै सोचुन् ।‘
या यो मेरो मनको भ्रम मात्रै हो ? आफैंलाई सोध्छु । ‘होइन ।’ यहाँ भित्ताको पनि कान हुन्छ । हावाको पनि आँखा हुन्छ । जस्ले मेरो लवाइ, खुवाइ, हिँडाइ, बोलाइ मात्रै होइन सास फेराइमा पनि निगरानी गरिरहेको छ । म पलपल आफूलाई भयंकर ठूलो कैदी झैं महसुस गर्छु । मानौं म ठूलो अपराध गरेर यहाँ आएकी हुँ । मैले आफ्नो इच्छा अनुरूप कुनै काम गर्नु भनेको जेलबाट कैदीले भाग्न खोज्नु जस्तै हो । हरक्षण मलाई नियालिरहने सिपाही आँखाहरू छन् । यस्तै यस्तै आभास भइरहन्छ ।
बिहान अलि अबेर उठे मनमा कताकता चिसो पस्छ । यद्यपि कुनै दिन पनि घरमा कसैले ढिलो या छिटो उठेकोमा दण्ड या पुरस्कार दिएको छैन । दिँदैन पनि । धन्दा गर्दा भाडा अलि साह्रो बजोस् । डर लाग्छ कसैले मनमनै सोच्यो कि ‘कस्ती अलच्छिनी ।‘
उता घरमा सानो स्वरमा बोल्न जान्दिनथेँ । यता आफंै आवाज सानो भएको छ । आखिर कसले घटाइदियो मेरो भोल्युम ?
मलाई अर्काको खुट्टामा ढोग्ने कुराले ठूलो पीडा
दिन्छ । मन्दिरबाट पनि भगवान्लाई नमस्कार गरेर
फर्किन्छु । हतपत्ति ढोगिहाल्नु जस्तो लाग्दैन । तर घरबाट घर आउँदा आमालाई ढोग्ने गर्छु । किन ढोगे ?
जवाफ भेट्छु, सम्भावित आलोचनाबाट बच्न । यद्यपि आलोचना हुन्थ्यो या हुन्नथ्यो थाहा छैन । मलाई वनको हैन मनको बाघले खाइरहन्छ ।
मलाई यो लेखिरहँदा अफ्ठ्यारो लागिरहेको छ । कति दुरुहपूर्ण जीवन बाँचिरहेका छन् मेरै आसपासमा महिलाले । उनीहरूको तुलनामा मेरो भोगाइ केही होइन भने पनि हुन्छ । भनिएकै त छ । तर यो मेरो जीवन हो । जसमा केही अदृश्य समस्याहरू छन् । र यो नजरअन्दाज गर्ने विषय बिल्कुल होइन । म अरूहरू जस्तो सबैले देख्ने गरी अन्याय हुन्जेल सहेर बस्ने पात्र हुइनँ । जुन अन्याय व्यक्तिले व्यक्तिलाई गर्छन् । जसको सजाय समाजले तोक्न सक्छ । कानुनले भनेको हुन्छ । न्यायाधीशले फैसला गर्छ । तर मैले भोगिरहेको असहजता कुनै निर्दिष्ट व्यक्तिको कारण होइन । यो आम सामाजिक प्रवृत्तिको उपज हो । जुन मानसिक रूपमा पर्दछ ।
यसलाई देखाउन सकिँदैन । तर शुल बनेर मुटुभित्र बिझाइरहन्छ । अहिले अनिवार्य रूपमा लाउन छोडिदिएका सिन्दूर, टीका, चुरा, साडीचोलो (जुन घरमा अनिवार्य थियो) लगाउन्जेल झर्को लाग्थ्यो शरीरलाई । यी सबलाई छोडेपछि फेरि मन भारी हुन थालेको छ । के म आधुनिक हुन त येसो गरिरहेकी छैन ?
‘होइन ।’
समाजले विवाहित महिलाले लगाउनुपर्छ भनेर तोकिदिएका अनेकौं शृंगार र गहनाले हामीलाई शारीरिक, मनोवैज्ञानिक, सामाजिक रूपमा समेत नराम्रो असर पुर्याएको छ । बजारमा देखिएका थरीथरीका सामग्रीले हाम्रो दिमागमा यसरी जरा गाडेको छ कि हाम्रो जीवनको लक्ष्य नै ती सामग्री प्राप्त गर्नु भएको छ । मलाई झन्झट लागेका चिज मैले लगाइनँ । यो कुनै ठूलो कुरै होइन ।
तर नलगाउँदा पनि मलाई चैन छैन । आफंैभित्र कताकता अफ्ठ्यारो लागिरहन्छ । मलाई यही परिवार र समाज चाहिन्छ बाँच्नका लागि । यीबाट बाहिर गएर कुन शून्यमा बाँच्न सकिन्छ र ? आखिर संसार यही हो । समाज यही हो । जहाँ अन्याय सहने महिलाको लागि भौतिक, मानसिक यातना उपलब्ध छ । अनि यसलाई सहन नसक्ने, सचेत, जब्बर महिलाका लागि मनोवैज्ञानिक यातना हाजिर छ । जुन अदृश्य छ । अद्भुत छ । यो पितृसत्ताको बाघको आत्मा हो । जो मेरो मनभित्र पसेर मलाई शासन गरिरहेको छ । आक्रमण गरिरहेको छ । घाइते बनाइरहेको छ ।
@DeepaDahal10 व्यवस्थापनकी विद्यार्थी हुन्। युवा तथा नारीकेन्द्रित लेखन गर्छिन्।