के घर, के डेरा

के घर, के डेरा

मैले धेरै डेरावालको विरह सुनेको छु । डेरामा बस्दाखेरिको दु :ख, सर्दाखेरिको दु :ख, घरधनीले दिने टर्चरको दु :ख । घर बन्न नपाई फूर्तिफार्ति गरेर फेसबुकमा घरको फोटो राखेर गौरव मानेको पनि देखेको छु । धेरैजसो त म डेरावाल भनेर हीनताबोध गरेको सुनेको देखेको छु । घर नभएपछि त डेरा गर्नुपर्ने हुन्छ नै । 

सबैलाई काठमाडौंमै बस्न पनि पर्ने, अनि महँगो भो, फोहोर भो, अव्यवस्था भो, ओहो हो भनेर पनि कराउने कुरोचाहिँ मलाई मन पर्दैन । म पनि डेरा गरेरै बसेको छु । त्यो पनि पाँच वर्ष भइसक्यो। बस्दाबस्दा डेरा गर्ने बानीसँग कस्तो प्रेम बसिरहेछ भने मलाई घर बनाउने रकम जोहो भइहाले पनि नबनाऊँ जस्तो लागिरहेछ । डेरावाल हुनुका अनगन्ती फाइदा छन् । त्यो फाइदाबारे मैले भन्दा पनि राजस्थान र गुजरातबाट आएका व्यापारीहरूले 

राम्ररी भन्न सक्छन् । यत्ति भनौं, अहिले काठमाडौंमा जमिन किनेर घर बनाउने वा घर किन्नु सजिलो रहेन । २० वर्ष अघिसम्म एक साल जमिन किन्ने, केही वर्षपछि जग हाल्ने, फेरि एउटा कोठा निकाल्ने र डेराभाडा बचाउन सरिहाल्ने अनि बिस्तारै रकम जम्मा हुँदै गर्दा अलिअलि निर्माण सामग्री थुपार्ने, आफैंले इँटा धोएर, सिमेन्ट घोलेर अनि फेरि केही वर्ष लगाएर घर बनाउने चलन थियो । अब त त्यो चलन हरायो । 

पूरै घर निर्माण सम्पन्न गरेर फर्निस्ड नगरीकन घर सर्न चाहँदैनन् । घरमा इँटाका टुक्रा र बालुवा, घर बनाउने ससाना औजार राखिरहन पनि चाहँदैनन् । त्यसका लागि त घर बनाउन बजेट हुनुपर्‍यो अर्थात् घर बनाउने पूरै रकम खल्तीमा हुनुपर्‍यो अनि बन्छ फटाफट घर । त्यस्तो करोड हाराहारी अझ केही करोड पर्ने घर कसरी एकै पटक बन्नु बनाउनु । घर भन्नासाथ करोडको जोहो गर्नुपर्ने भएपछि झ्याप्पै करोड आउने बाटो पो खोज्नुपर्ने हुन्छ । त्यसका लागि के गर्नुपर्ने, के नगर्नुपर्ने सबै नसोचीकनै लाग्न पर्‍यो अनि न बन्छ घर ।

आख्यानकार नारायण ढकाललाइ हेर्नुस् त । घर छ, प्रशस्त जमिन पनि छ मूलपानीमा अर्थात् काँठमा याने सहरभन्दा चौध किलोमिटर टाढा । काठमाडौं सहरको पूर्वाधार र सुविधा सबै दरबार केन्द्रित । नारायणहिटी, सिंहदरबारको वरिपरि नआई नहुने । केही कुरा किन्न पर्‍यो भने असन आउनैपर्ने । जीवनको धेरै समय त आउन जान नै खर्च हुने भयो । अहिले पो नयाँनयाँ सवारीसाधन भयो आउन जान सकियो, नत्र त हिँड्ने नै हो ।

म डेराको बसाइप्रति खुसी छु। मबाहेक परिवारका अन्य सदस्य  कोही पनि डेराको बसाइप्रति खुसी भएजस्तो लाग्दैन। मलाई चाहिँ के लाग्छ भने डेरावाल नै दूरदर्शी व्यत्तिाm हो। तपाईंको लागि यो संसार नै डेरा हो। 

सार्वजनिक बससम्म थिएन, भएको बेला पनि घण्टा दुई घण्टामा एउटा बस मात्र आउँथ्यो । यिनले पद्मोदय हाइस्कुलमा नौ कक्षामा पढ्दासम्म हिँडेरै भ्याए, अनि पछि डेरा लिए । किनभने यिनलाई के थाहा भयो भने काठमाडौं सहरका जात्राहरू डेरावालले नै देख्थे । झोछेंको नाइट लाइफ बिताउँथे । सुरुमा बिचरा नारायण ढकाललाई ठूलो द्वन्द्व भयो । डेरा गरौं भने घर छ काठमाडौंमा, नगरौं भने आउन जानमै दिन जाने । मूलपानीमा घर हुनेले भन्दा टेबहालमा डेरा हुने मान्छे बढी स्वतन्त्र हुन्थे । अब भन्नुस् त, डेरावाल हुनु कति फाइदा ? 

यही नियति यो पंक्तिकारले पनि भोगेको हो । घर छ नैकापमा, रमाइलो गतिविधि हुन्छ न्युरोड, असन, इन्द्रचोकमा । आफूलाई बिहानै आइपुग्न पनि गाह्रो अनि साँझ तीन बजेपछि त घर फर्कन हतार भइहाल्यो । शार्दूल भट्टराई, देविका तिमिल्सिना, गोविन्द वर्तमान, हरिगोविन्द लुइँटेललगायत अग्रज साहित्यकार रमेश विकलकै पनि त्यही (दुर्)दशा थियो काठमाडौंको काँठमा घर हुनुको । त्यति बेला डेरा गरेरै पनि काठमाडौंको मुटुमा वास बस्नेहरूले यो समस्या त भोग्नु परेन । 

जीवनमा हाम्रो परम्पराअनुसार पहिले पुर्खाले बनाउने घरमा बस्ने हो । यसरी म बाआमाले बनाउनुभएको घरमा हुर्किएँ । पछि आफैंले २० वर्ष लगाएर घर बनाइयो । (यो घर बनाइएको बारेमा एक छुट्टै लेख लेख्नेछु) त्यो अपूरो घर नै मेरो परिचय भइरह्यो । अलिअलि गरेर २० वर्ष लगाएर बनाएको घरमा बसिएन र अहिले डेरामा छु । लक्ष्मी जसले मलाई पाइला पाइलामा साथ दिइन्, मैले उनले चाहेका धेरै कुरा पुर्‍याउन सकेको छैन । 

लक्ष्मी जसले सधैंजसो अरूका लागि जीवन अर्पण गरिन्, मैले उनका लागि केही उल्लेख्य काम गर्न सकेको छैन । उनी मेरो माटोले लिप्ने पुरानो घरमा भित्रिइन् । लिपपोत गरिन् । 
नमिलेका भाँडाकुँडा फेरिन् । उनले नै हाम्रो घरमा 
पहिलोपटक प्रेसर कुकर किनिन् । भाइबहिनीको स्कुल 
फी तिरिदिइन् । 

मलाई संकट परेको बेला कैयौं पटक उनका गहना धितो राख्न दिइन् । मलाई आन्दोलनमा हिँड्न खुला छाडिदिइन् । घरमा टीभी किन्न सञ्चय कोषको पैसा निकालेर दिइन् । उनले तन, मन, धनले सहयोग गर्दा पनि मैले समयमै घर बनाउन सकिनँ । घरप्रति उनको गुनासो भई नै रह्यो । इँटाका टुक्रा, बालुवा आदि कहिल्यै खाली भएन । लक्ष्मीको त मप्रति ठूलै गुनासो रह्यो । तिमीले बनाउने घर किन कम्प्लिट हुँदैन ? 

अहिले त्यो घरमा बसिएन । भनिहालेँ, डेरा गरेको नै पाँच वर्ष भएछ । म भने डेराको बसाइप्रति खुसी छु । सम्पन्न भइसकेको घरमा सुरुक्क बस्नलाई घरभाडा त दिनैपर्‍यो नि । मबाहेक परिवारका अन्य सदस्यमध्ये कोही पनि डेराको बसाइप्रति खुसी भएजस्तो लाग्दैन । मलाई चाहिँ के लाग्छ भने डेरावाल नै दूरदर्शी व्यक्ति हो । यो संसार नै डेरा हो । जिन्दगी अजम्बरी त होइन नि, अनि घरचाहिँ किन आफ्नै लालपुर्जा भएको चाहिने हो ? घर हुनेहरूका आफ्नै समस्या छन् । घर बनाऊ, मर्मत गर, सफा गर, घर कुर । 
मानिस घर बनाउँछन् र भन्छन्-मेरो सुविधाका लागि घर बनाएँ । मैले घरको उपयोग गरेँ । तर कुरो त्यसो होइन, मानिसहरू घरका लागि उपयोग भइरहेका छन् । घर बनाइसकेपछि घर छोडेर जान सक्दैनन् । घर कुरेर बस्छन् । नभए कोही न कोहीलाइ कुर्न राख्छन् । डेरा भयो भने कमसेकम यो मेरो घर होइन, कुनै पनि बेला छोडेर जान सकिन्छ भन्ने त हुन्छ नि । एउटा थप स्वतन्त्रताको अनुभव । 

डेराको बारेमा राजस्थानी र गुजराती व्यापारीको अर्थतन्त्र अर्कै छ । घर किनेर लिक्विडिटी नबिगार्ने । करोडौं रुपैयाँ पर्ने घर किनेर किन व्यापार गर्नुपर्ने पैसा फ्रिज गर्नु ? त्यसको सट्टा व्यापारमै लगायो भने त्यसले गर्ने कमाइ बढ्छ । त्यसैले घर सिंगै भाडामा लिने । परिवारलाई सुविधासहित राख्ने । बरु राम्रो कार किन्ने, ड्राइभर राख्ने । यत्तिको व्यवस्था भएपछि समाज र छिमेकीका अगाडि व्यापारको हालत जे भए पनि ठूलै व्यापारी र अर्बपति जस्तो देखिने भयो । घरधनीले त भेटेपिच्छे नमस्कार गर्ने भो । घर छोडेर जाला भनेर डराउने भो । कहिलेकाहीँ भाडा दिन ढिलो भए पनि माग्न डराउने भो ।

तीन करोडभन्दा बढी पर्ने सुविधासम्पन्न घरको महिनाको ३० हजार भाडा लिन घरधनी ङिच्च दाँत देखाएर आउने भयो, सित्तै पाएसरह । 
काठमाडौंमा (सायद अन्य सहरमा पनि) घरधनीको अर्थतन्त्र र अहम् बडो विचित्रको छ । पैसा छ भने आफ्नो बुताअनुसारको सुविधासम्पन्न घर बनाउँछन्, आफंै बसौंलाझैं गरी । खर्च गर्छन् अनि भाडामा लगाउँछन् । त्यो घर र जमिनको मूल्य हेर्ने हो भने २ प्रतिशत ब्याज पनि आउँदैन । तर उनीहरू रियल स्टेटको भाउ बढ्छ, छोरी पनि होइन छोरा नातिलाई काम लाग्छ भनेर साँच्छन् । पुरानो खटारा मोटरसाइकल चढ्छन् । धुलोधुवाँ खान्छन् । तरकारी किन्ने बेलामा ४० रुपैयाँमा चार रुपैयाँ घटाउने प्रयत्न गर्छन् । 

तर आफ्नो सम्पत्तिको बेस्ट युटिलाइजेसनका बारेमा सोच्दैनन् । आफ्नै स्वास्थ्यबारे पनि पर्वाह गर्दैनन् । बस् छोरा नातिका लागि कि खर्च गर्छन् कि साँचेर राख्छन् । यो मनोभाव भएको घरधनीसँग सस्तोमा घर भाडामा लिन्छन्, भारतीय व्यापारी । घर बनाउने खर्च र त्यसबाट हुने आम्दानी ब्याज र स्याजसहितको हिसाब र त्यो रकमको वैकल्पिक प्रयोगको आम्दानीको हिसाब निकाल्छन् र राम्रो घर भाडामा नै लिँदा फाइदा देख्छन् । अनि नेपाली घरधनीलाई पनि हिन्दीमा बोल्ने, कार चढेर आउने मान्छे नै आफूभन्दा निकै धनी लाग्छ र समयमा किचकिच नगरीकन घरभाडा तिर्छजस्तो लाग्छ । 

समाज त यस्तै हो; नहुनेलाई हेप्छन्, हुनेका अगाडि झुक्छन् । त्यसैले मानिसहरू सबै आफू विद्वान् भएको, धनी भएको अभिनय गर्छन् । घरधनीको मनोदशा पनि यही हो, एउटा दुइटा कोठा लिनेहरूले घरधनीलाई नमस्कार गर्छन् । फ्ल्याट र सिंगै घर भाडामा लिनेहरूलाई घरधनीले नमस्कार गर्छन् । घर भाडाबाट आएको रकम कतिपय बेला मर्मत गर्न पनि पुग्दैन तर घर भाडा आएकोमा खुसी नै मान्छन् ।

काठमाडौंको रियल इस्टेटको भाउ कहिल्यै रियालिस्टिक भएन । अहिलेकै भाउको कुरा गरौं । तीन आना जमिन भएको अढाइ तले घरको मूल्य कम्तीमा दुई करोड । मोल भन्नेले त भनिदिए हुन्छ तर किन्ने मान्छेले त्यत्रो रकम कहाँबाट जुटाओस् ? किस्ताबन्दीमा किन्न पनि महिनाको दुई लाख नियमित किस्ता तिर्ने रकम कसरी कमाओस् ? यो आममानिसको आयस्रोतभन्दा कति धेरै छ भने कसैले घर किन्यो वा बनायो भन्नासाथ कि कुनै अचल सम्पत्ति बेचेर किन्यो वा केही न केही करोड आउने अन्डरग्राउन्ड काम गर्‍यो भनेर अनुमान गरिन्छ ।

त्यसैले मेरा प्रियजनहरूसँग अनुरोध छ-काठमाडौंमैं बस्ने हो भने जे जस्तो छ, डेरा वा घरमा सन्तुष्ट होऔं । यो सहर अर्को २० वर्षमा स्मार्ट सहर हुने प्रयत्नमा अझै विषाक्त नै हुने हो । कि काठमाडौंको मूल्यवृद्धिको रोग नलागेको ठाउँमा घरजम गरौं । नेपालमा अझै पनि बस्नलायक, काम गर्नलायक थुप्रै ठाउँ छन् । सञ्चार र यातायातको सुविधा धेरै ठाउँमा छ । तर पनि काठमाडौं नै चाहिन्छ भन्ने गुनासो नगरौं । 
लेखकका ‘चौतारो बोल्यो’, ‘पुल र पर्खालहरू’लगायत पुस्तक प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.