भोजको फोहोर पानीले तीन गाउँमा झाडापखाला
गोरखा : शहीद लखन गाउँपालिका ३ मनकामनाको ग्याजा, कोटगाउँ र लामाछापमा चारदिनदेखि झाडापखाला फैलिएको छ। गत शुक्रबार गाउँको बिहेमा भोज खाएदेखि झाडापखाला फैलिएको स्थानीय बिरामी भुवन थापाले जानकारी दिए।
उनका अनुसार भोजमा ट्याङ्कीमा जम्मा भएको फोहर पानीको प्रयोग भएको थियो। ‘भोज खाएर फर्केको साँझदेखि गाउँले सबै बिरामी भए’, उनले भने, ‘गाउँमा ५५ घरधुरी छन्। घरैपिच्छे बिरामी छन्। दिनमै २० पटक भन्दा बढि ट्वाइलेट जानुपर्ने भएको छ। पानीजस्तो दिसा हुन्छ। ज्वारो पनि आएको छ।’ गाउँकै स्वास्थ्य संस्था र मुग्लिनको मेडिकलबाट स्वास्थ्य सेवा लिएपनि नियन्त्रण नभएको उनले बताए।
गाउँमा खानेपानीको समस्या भएकाले फोहर पानी खान बाध्य भएको उनले बताए। अर्को छिमेकी गाउँ लामाछापमा पनि घरैपिच्छे बिरामी भएका छन्। ‘हाम्रो गाउँमा ३० घर छ। सबै घरमा बिरामी छन्’, स्थानीय रञ्जन श्रेष्ठले भने, ‘प्रायजसो बच्चाबच्ची र बुढाबुढीलाई झाडापखालाले सुताएको छ।’
पानीको स्रोत फोहर भएकाले झाडापखाला फैलिएको उनको अनुमान छ। ‘लगातार पानी परेपछि मुहानमा भल पस्यो। अनि धमिलो पानी खाएर सबै बिरामी भएको हो।’
गाउँमा झाडापखाला फैलिएपछि सोमबार हेल्थपोष्टबाट दुईजनाको स्वास्थ्यकर्मीको टोली उपचारका लागि गएका थिए।
‘हाम्रो स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेका छन्’, सहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले भने, ‘नियन्त्रण बाहिर चाहिँ छैन। हामीले बिरामीको संख्या र अबस्थाको तथ्यांक तयार गर्दैछौँ।’
प्रतिक्रिया दिनुहोस !