एक्लै त जानु हुन्न रे
६ वर्षअघि, सायद साउन महिना थियो। सम्झना पनि मधुरो मधुरो भइसकेछ। झरीसँगै कुहिरो लागेको मौसम भने मलाई प्रस्टै याद छ। काठमाडौंबाट साथीले खबर पठाथ्यो। हामी केही दिनमै चरीकोट आउँदै छौं। कालिञ्चोक लगिदिनु पर्यो।
ऊ र उसकी प्रेमिका मोटरसाइकलमा चरीकोट आइपुगे। मैले अफिसमा समय मिलाएर कालिञ्चोक जाने योजना अन्तिम बनाएँ। हामी बिहानै पैदल जाने भयौं। वर्षा र भर्खरमात्र बनेको सडकका कारण मोटरसाइकल नलाने निधो भो। अर्को सहायक कारणचाहिँ तीन जना हुनु पनि थियो। उनीहरू डीएसएलआर क्यामेराका साथ आएथे। म पथप्रदर्शक। बिहान उज्यालो खस्नेबित्तिकै हामी उकालो लाग्यौं।
साथीहरू खुलेको मौसमको सदुपयोग गरिरहेथे। वर्षाको समय। हामीले वर्षामा जोगिन कुनै सामग्रीको जोहो गरेका रैनछौं। सिमसिम पानी परेपछि हामीले प्लास्टिक खोजी गर्यौं। सायद साथीहरूसँग मोटरसाइकल चढ्दा लगाउने वर्षाती थियो होला। त्यो पनि चरीकोटमै छोडेछन्।
हामीले देउरालीमा प्लास्टिक किन्यौं। खरिजुकाबाट जोगिनु अर्को मुख्य ध्याउन्न भो। हामी गफ गर्दै उकालो लाग्यौं। मलाई उनीहरूले अगाडि हिँड्न भने। जसले उनीहरूलाई अझै धपेडी भो। उकालो बाटो, सायद उनीहरूको हिँड्ने बानी थिएन।
गैरीमा हामीले चिया खायौं। चौंरी माथि लेक चढेका कारण चौंरीको दूध खाने साथीहरूको इच्छा अधुरै भो।
कुरी नजिकको फलामे डाँडामा पुग्नुअघि दुई जनालाई टाउको दुख्न सुरु भो। एकछिन बसेर थकाइ मार्दा पनि दुखाइ कम भएन। लेक लागेको भन्नेमा एकमत भइयो। साथीहरू विस्तारै चरीकोटतिरै फर्कने कुरा भो। उनीहरूको भेटीसमेत बोकेर म मन्दिरतिर लागेँ।
कुरीका होटल सुनसान थिए। यो तीर्थालु आउने मौसम नभएर होला। सडक बनेपछि हिँडेर मन्दिर आउनेहरू गाडी नै कुर्न लागेका थिए। वर्षामा गाडी चल्दैनथ्यो।
चिसो अनुभव भो। म एउटा होटलमा छिरेँ। होटल चलाउने दिदी तारेभीरकी तामाङ रहिछन्। तारेभीर पुग्न कुरीबाट एक घण्टाजति हिँड्न पर्छ रे।
चिया र बिस्कुट खाँदै गर्दा उनले मन्दिर जान लाग्नुभा भनेर सोधिन्। मैले चिया सुक्र्याउँदै टाउको हल्लाएँ। कहाँदेखि आउनुभो, उनको अर्को प्रश्नमा मैले इसारा गरेर मात्र नपुग्ने भो। म चरीकोटबाट साथीहरू काठमाडौंबाट। मैले छोटोछोटो कुरा गरेकाले होला, उनले अरू केही सोधिनन्। पैसा तिरेपछि म उकालो लागेँ।
मन्दिर सुनसान थियो। चारैतिर कुहिरो घुमिरहेको थियो। उकालो चढ्दै गर्दा परेको पानी रोकिएको थियो। साथीको क्यामेराबाट केही तस्बिर खिचेँ। मन्दिर पुगेर वल्लो र पल्लो छेउबाट तस्बिर लिएँ। मन्दिरमा दर्शन गरेँ। कुण्डबाट जल र पाती लिएपछि म ओरालो लागेँ।
अघि चिया खाको होटलकी दिदी होटलबाहिर भेटिइन्।
‘एक्लै पो मन्दिर पुगेर आउनुभो कि क्या हो ?’
‘हो त, साथीहरू त लेक लागेर फलामेडाँडा उक्लनै सकेनन्।’ म बोल्दै गर्दा उनको निधार एकदमै मुजामुजा परेको थियो। अनुहार पनि फरक थियो।
‘एक्लै त जान हुने थिएन। तपाईंलाई केही भा छैन नि...’
‘छैन त। एक्लै जानु हुन्न र ?’
‘तिम्रो दिन बलियो रैछ भाइ।’ मैले उनीसँग धेरै सवालजवाफ गरिनँ। अघि लेक लागेर बीचैबाट फर्किएका साथीहरू भेट्न मलाई हतारो थियो।
मन्दिर गएर आएको केहीपछि चरीकोटको इमेज प्रिन्टिङ प्रेसमा कालिञ्चोक मन्दिरको कुरा चल्यो। प्रेस सञ्चालक अनिल श्रेष्ठलाई केही दिनअघि म एक्लै मन्दिर पुगेर आएको कुरा सुनाएँ। उसले पनि पत्याएनन्। मैले बाटोमा खिच्दै गएका तस्बिरहरू प्रमाणका रूपमा पेस गरेपछि उनलाई पत्याउन करै लाग्यो। उनले पनि दोहोर्याए, ‘...दिन बलियो रैछ बाहुनको !’
म अचम्ममा परेको थिएँ। धेरैपटक कालिञ्चोक गइसकेको थिएँ। तर एक्लै गएको भने त्यही बेलामा
मात्रै रैछ।
किन एक्लै जान नहुने मन्दिरमा ? मेरो प्रश्नमा केही बेर नबोलेपछि उनले विस्तारै भने, ‘साँच्चै थाहा नपाएरै गा हो ?’
मलाई त थाहा छैन। म गएँ केही पनि भएन त खै।
त्यसपछि उनले त्यहाँको कथा सुरु गरे। ‘एकजना मानिस पाठी पूजा गर्न गएछ। मन्दिरमा एक्लै गएको उसले पाठी पूजा पनि गरेछ। त्यसपछि ऊ मन्दिरबाट फर्केछ। अलि तल आइपुग्दा उसको ध्यान कम्मरमा भएको खाली दापमा गएछ। ओहो ! मैले खुकुरी त मन्दिरमै पो बिर्सिएछु भनेर ऊ मन्दिरतर्फ फर्की गएछ। मन्दिरमा देवीले उसले छोडी गएको खुकुरीमा लागेको रगत चाट्दै गरेको देखेछ। उसलाई देखेर देवीले किन आइस् भनेर सोधिछन्। उसले खुकुरी छुटेको र त्यही लिन आएको बताएछ। ल तँ गलत समयमा आइस्। अब तँ फर्कन पाउन्नस्। देवीले यति भनेपछि उसको त्यसै ठाउँमा मृत्यु भएछ।’
मान्छे साँच्चै मरेको थियो वा के थियो ? मरेकै थियो भने कहाँको को मरेको थियो ? मानिस एक्लै थियो भने ऊ मरेको कुराचाहिँ कसले कसरी थाहा पाएर श्रुति परम्परा बस्यो ? प्रश्नहरू अनुत्तरित छन्। तर पनि यो कथा कालिञ्चोक क्षेत्रमा प्रचलित छ। र यसले भक्तजनमा गतिलै प्रभाव छोडेको छ।
@apawaad