खानेपानी आयोजना ११ वर्षदेखि अलपत्र
रुपन्देही : बुटवलको मिलनचोक तीनकुनेमा खानेपानी थाप्नेको भीड हुने गरेको छ। डेढ/दुई किलोमिटर टाढाबाट पानी ओसार्न स्थानीय बाध्य छन्। अटो रिक्सा, मोटरसाइकल र साइकलमा पानी ओसार्ने गरेका छन्। बुटवल दीपनगरकी लोकमाया थापा अटो रिक्सामा ६–७ वटा गाग्री, जार र बाल्टीसहित दर्जन बोतल लिएर पानी लिन आउँछिन्।
रिक्सा भाडा तिरेर पानी भर्न आउनु उनको बाध्यता छ। ‘धारामा पानी आउँदैन, आए पनि धमिलो आउँछ, यहीँ आएर भर्नुपरेको छ,’ उनले भनिन्। तिनाउ खोलाको पानी वितरण भएका ठाउँमा धारामा धमिलो पानी आउँछ। यो दशकदेखिकै समस्या हो।
मिलनचोककी गीता कुँवरले पानीले निकै समस्या भएको सुनाइन्। ‘पानीको अभाव त कति छ कति अहिले बिहान मात्र ४०–५० लिटर पानी भर्यौं’, पानी भर्न तीनकुनेको धारामा आएकी उनले भनिन्। सुख्खानगरका डम्बरबहादुर घर्तीको धारामा पनि पानी नझरेको १५–२० दिन भयो।
बर्खा हुँदा धमिलो पानी, सुख्खायाममा पानी नै नआउने समस्या पुरानो हो। धारामा धमिलो पानी आएको र पानी नआएको भन्दै फरक–फरक उपभोक्ता समूह खानेपानी संस्थानको बुटवलस्थित कार्यालयमा पुगे। तर, समाधान भएन।
बुटवलमा तिनाउ र अन्य ठाउँका बोरिङ गरी १९ वटा स्रोतबाट खानेपानी वितरण हुँदै आएको छ। बुटवलमा दैनिक ३ करोड ५० लाख लिटर पानीको माग छ। तर, २ करोड ७५ लाख लिटर पानी वितरण हुँदै आए पनि खानयोग्य छैन। खानेपानी समस्या समाधान गर्न सिस्ने खोला र झुम्सा खोला आयोजना सुरु भए। करोडौं रकम सकियो तर काम भएन। सुरुमा सिस्नेखोलाबाट पानी ल्याउने योजना खानेपानी संस्थानले बनाएको थियो। हाइड्रो पावरका कारण र त्यसबाट बुटवललाई चाहिनेजति पानी नपुग्ने भन्दै आयोजना अघि बढेन। झुम्साखोला खानेपानी आयोजना सुरु भएको दशकभन्दा बढी भयो। तर, आयोजना बीचमै अलपत्र छ। तिनाउ गाउँपालिकाको झुम्साबजारबाट राजमार्ग छाडेर ४ किलोमिटरमाथि बाँध बनाई पानी ल्याउन योजना अघि बढेको थियो। ०६४/६५ बाट झुम्साखोलाको पानी ल्याउन बाँध निर्माण र पाइप बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको थियो। तर, दुई वर्षअघि आएको बाढीले बाँधमा क्षति पुर्यायो। त्यसयता खानेपानीको काम ठप्प छ।

‘ठुल्ठूला ढुंगा आउने ठाउँमा विस्तृत अध्ययन नगरी ड्याम बनाइयो र बाढीले बगायो’, कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले भने, ‘आयोजनामा प्राविधिक पक्ष एकदम कमजोर थियो।’ अब हतार नगरी आयोजना निर्माण गर्नुपर्ने उनले बताए।
खानेपानी संस्थानले भने त्यसबेला बाँध भत्किनुमा संस्थानको कमजोरी नभएको दाबी गरेको छ। ‘प्राकृतिक प्रकोपलाई कसले रोक्न सक्छ र त्यो बर्खाले जताततै क्षति पुर्यायो, खानेपानीको बाँधलाई पनि क्षति पुग्यो’, खानेपानी संस्थान बुटवल कार्यालयका प्रमुख बुद्धरत्न महर्जनले भने।
अहिले पुनः झुम्सा खोला खानेपानीका लागि नयाँ डीपीआर तयार भएको छ। तर, निर्माण सुरु हुन सकेको छैन। खानेपानी आयोजनाका लागि पाइप खरिदमा भ्रष्टाचार भएको भन्दै ०७५ वैशाखमा अख्तियारमा उजुरी परेपछि एक वर्षदेखि काम अगाडि बढेको छैन। खानेपानीका लागि २० इन्च र १० इन्चका करोडौं मूल्यका पाइप शिवनगर सामुदायिक वनको जग्गामा थुपारेर राखिएको छ। पाइप खरिदसम्बन्धमा परेको उजुरी अख्तियारले किनारा लगाइसकेको र काम अघि बढाउने बाटो खुलेको खानेपानी संस्थान बुटवलकाका प्रमुख महर्जनले बताए। ‘एक हप्ता भयो अख्तियारले काम गर्न खुला गरेको छ। अब काम सुरु गर्छाैं’, उनले भने।
खानेपानी आयोजनाका लागि पहिले बनाएको ठाउँभन्दा ५ सय मिटरमाथि नयाँ बाँध बनाइनेछ। बाँधदेखि पानीको जम्मा गरिने ठाउँ रामफेदीसम्म ८ किलोमिटर पाइप बिच्छ्याउनुपर्ने छ। पाइपका लागि ३ वटा ठाउँमा ट्रस ब्रिज (पुल) समेत बनाइने महर्जनले बताए। खानेपानी आयोजना पछि बुटवलको वितरण प्रणाली मिलाउन थप समय लाग्ने देखिन्छ। त्यसका लागि छुट्टै डीपीआर बन्ने खानेपानी संस्थानका बुटवल प्रमुख महर्जनले जानकारी दिए। ‘२० इन्चदेखि ३ इन्चसम्मका पाइप बिच्छ्याउनुपर्छ। ठाउँ–ठाउँमा ओभरहेड ट्यांकी राख्ने पानीपोखरी बनाउने त्यो सबै डीपीआरले तयार गर्दैै छ’, उनले भने।
झुम्सा खानेपानी आयोजनाका लागि ल्याइएका २० इन्च र १० इन्चका अलपत्र पाइप। – अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !