अन्योलमा तेह्रौं साग

अन्योलमा तेह्रौं साग

‘स्वागतमा हामी हुनेछौं, बुद्ध जन्मभूमिमा

उभिएको हुनेछ, सगरमाथा सामुमा।’

तीन वर्षअघि भारतको गुवाहाटीस्थित राष्ट्रिय रंगशालामा यो गीत बज्दा माहोल बेग्लै थियो। नेपाली खेलाडी र पदाधिकारी निकै उत्साही थिए। नेपाल सरकारले पनि रंगशालामा उपस्थित आठ देशका हजारौं खेलाडी, खेल पदाधिकारी र सरकारका जिम्मेवार अधिकारीहरूलाई साक्षी राखेर यही गीतको लयमा लय मिलाउँदै तेह्रौं साग आयोजनाको जिम्मेवारी लिएको थियो।

भारतको गुवाहाटीमा सन् २०१६ फेब्रुअरी १६ मा सम्पन्न बाह्रौं सागको समापन समारोहमा नेपालले तेह्रौं साग आयोजनाको अधिकार प्राप्त गर्दा इन्दिरा गान्धी स्टेडियम यही गीतले गुन्जायमान बनेको थियो। दिनेश अधिकारीको रचना तथा राजेश पायल राई र रिमा गुरुङले गाएको यो गीतअनुसार नेपालले एक वर्षअघि नै विदेशी खेलाडी र पदाधिकारीलाई स्वागत गर्दै तेह्रौं सागको सफल आयोजना गरिसक्नुपर्ने थियो।

तत्कालीन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले तेह्रौं साग आयोजनाको झन्डा ग्रहण गरेका थिए। नेपालले आयोजनाको अधिकार पाए पनि सागको मिति पटकपटक सर्दै आएको छ। समग्र राष्ट्रकै प्रतिष्ठासँग जोडिएको तेह्रौं साग आयोजनाको विषयमा हाम्रो सरकार र खेल पदाधिकारी नै उदासीन बन्दै आएका छन्।

निर्धारित मिति चौथोपटक सर्दैै पछिल्लोपटक आगामी डिसेम्बर १ देखि १० सम्म आयोजनाको मिति तय भए पनि तेह्रौं सागको माहोल अझै बन्न सकिरहेको छैन। नेपालमा साग होला वा नहोला भन्ने अन्योल अझै हटेको छैन। तेह्रौं साग आउन अब ६ महिना मात्र बाँकी छ। तर, साग आयोजनाको प्रमुख जिम्मेवार नेपाल सरकार र सम्बन्धित निकाय भने अझै पनि एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नमै व्यस्त देखिन्छन्। साग आयोजना मिति नजिकिँदै गए पनि भौतिक संरचना निर्माणदेखि आवश्यक बजेटसमेत व्यवस्था हुन सकेको छैन।

साग तयारी तथा व्यवस्थापन समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा नै जिम्मेवार निकायहरू अझै साग हुनेमा विश्वस्त बन्न नसकेको बताउँछन्। साग आयोजनाका लागि पछिल्लोपटक मन्त्री विश्वकर्माको अध्यक्षतामा ३६ सदस्यीय समिति बनेको छ। तर, तयारी समितिको बैठक पटकपटक बेलाइए पनि गणपूरक संख्या (कोरम) नै पुग्न नसकेर रोकिएको अवस्था थियो।

‘साग आयोजनाका लागि जिम्मेवार मन्त्रालयका सचिवहरू नै तेह्रौं साग डिसेम्बरमा हुनेनहुने दोधारमा परेका छन्। सागको माहोल बनाउनुपर्ने बेलामा निराश देखिनु हुन्न। अबको एउटै उद्देश्य भनेको निर्धारित समयमै साग सम्पन्न गर्नु हो’, विश्वकर्मा भन्छन्।

बिहीबार मात्र मन्त्री विश्वकर्माको अध्यक्षतामा मन्त्रालयमा साग तयारी समितिको बैठक बसेको थियो। बैठकले तेह्रौं सागका लागि मस्कट र लोगो तय गर्नेदेखि महŒवपूर्ण आठवटा निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिमिल्सेनाले बताए। ‘प्रधानमन्त्री केपी ओलीको संयोजकत्वमा साग आयोजना मूल समारोह समिति बनिसकेको छ। सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत साग आयोजनालाई मुख्य प्राथकितामा राखिएको छ। अब तोकिएकै समयमा साग आयोजना भएरै छाड्छ’, उपाध्यक्ष तिमिल्सेना भन्छन्।

बैठकले तेह्रौं सागको लोगो उड्दै गरेको परेवा र मस्कटमा कृष्णसार राख्ने निर्णय गरेको छ। यसैगरी सागमा सहभागी राष्ट्रलाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा गर्ने, नेपाली खेलाडीको तयारी र बन्द प्रशिक्षण आगामी जेठको पहिलो सातादेखि सुरु गर्ने र खेलकुद इभेन्टका लागि कार्यदल तय बनाउने निर्णय गरेको छ।

पछिल्लो समय साग आयोजनाका लागि केही सक्रियता बढेको देखिए पनि ढुक्क हुने अवस्था भने अझै निर्माण हुन सकेको छैन।

यसैगरी बैठकले आवश्यक बजेट व्यवस्थापनका लागि राखेपका उपाध्यक्ष तिमिल्सेनाको संयोजकत्वमा सदस्यसचिव केशवकुमार बिष्ट, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महालेखा नियन्त्रणको प्रतिनिधि रहने गरी पाँच सदस्यीय समिति निर्माण गर्ने, आवश्यक खेल सामग्री व्यवस्थापका लागि चीनलगायतका मित्रराष्ट्रसँग सहयोग लिने, सचिवालय निर्माणका लागि कार्यविधि तय तथा विभिन्न उपसमिति निर्माण गर्ने निर्णय गरेको छ।

बैठकले राखेपका सदस्य गंगाबहादर थापाको संयोजकत्वमा रिम रानाभाट, पार्थसारथि सेन गुप्त र नीलेन्द्रराज श्रेष्ठ सदस्य रहेको प्राविधिक समिति गठन गरेको छ। पछिल्लो समय साग आयोजनाका लागि केही सक्रियता बढेको देखिए पनि ढुक्क हुने अवस्था भने अझै निर्माण हुन सकेको छैन।

अन्तिम अवसर तर आशावादी

सरकारले पछिल्लो समय सागका लागि अग्रसरता देखाएकाले आफू विश्वस्त रहेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए। ‘भौतिक संरचना र तयारीका दृष्टिले सरकार लागिपरेको देखिन्छ। यसअघि पूर्वाधार निर्माणले केही गाह्रो होलाजस्तो थियो। विस्तारै पूर्वाधार तयारी भएको छ। कामको गति हेर्दा शंका गर्ने ठाउँ छैन। सरकारले बजेटको कमी नहुनेसमेत प्रतिबद्धता जनाएको छ। अब व्यवस्थापकीय हिसाबले सफल रूपमा सम्पन्न गर्न सबै पक्ष लाग्न आवश्यक छ’, श्रेष्ठले भने।

श्रेष्ठले नेपालका लागि साग आयोजनाको अन्तिम मौका भएकाले निर्धारित मितिमा गर्नुको विकल्प नरहेको बताए। श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष पनि हुन्। थाइल्यान्डको बैंककमा दुई महिनाअघि (मार्च २) मा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी डिसेम्बरमा नेपालमै साग आयोजना गर्ने निर्णय गरेको थियो।

पूर्वाधार निर्माण असारसम्म

तेह्रौं साग निर्धारित समयमै आयोजना गर्न सबै पक्षको प्रतिबद्धता र अग्रसरता आवश्यक हुने राखेपका सदस्य–सचिव केशवकुमार बिष्टले बताए। बिष्टले तेह्रौं सागका लागि राखेपको जिम्मेवारी भनेको भौतिक संरचना निर्माण मात्र भएको बताए। ‘साग सरकारको सक्रियतामा हुने प्रतियोगिता हो। सागका लागि भौतिक संरचनाको अभाव हुँदैन। दशरथ रंगशाला निर्माण असारसम्म सकिनेछ। अन्य संरचना पनि तयार भइरहेका छन्’, सदस्य–सचिव बिष्टले भने।

बिष्टले सागको भौतिक संरचना निर्माणसँगै अन्य व्यवस्थापनका लागि पाँच अर्ब रुपैयाँ बजेट रहेको पनि बताए। यसअघि सरकारबाट पर्याप्त बजेट पाउन नसक्दा कतिपय काम ढिलाइ भएको पनि बिष्टले बताए। ‘रंगशालाको साधारण प्यारापिट निर्माणलगायत काम सकिएको छ। रंगशालामा ट्र्याक बिछ्याउने काम पनि चीन सरकारले गरिरहेको छ। असार अन्तिमसम्म चीनले रंगशालाको सम्पूर्ण संरचना तयार गरेर हामीलाई दिनेछ’, उनले भने।

सागका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसरमा निर्माणाधीन अवस्थामा रहेका पौडी पोखरीलगायत संरचना निर्माण पनि भइरहेका छन्। सागका कतिपय खेल पोखरामा हुनेछन्। पोखारमा कभर्डहलसहित आवश्यक संरचना निर्माण भइसकेको छ। पोखरा रंगशालाको स्टेडियम बनाउने काम भने सुरु भएको छ।

२७ खेल र पदकको तयारी

तेह्रौं सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, कराँते र गल्फ गरी २७ खेल राख्ने निर्णय यसअघि नै भइसकेको छ। आयोजकको हिसाबले नेपालले कराँते र गल्फ खेल थप्ने निर्णय गरेको थियो।

छोटो तयारीका कारण बाह्रौं साग नेपालको लागि पदकको हिसाबले सोचेजस्तो बन्न सकेको थिएन। भारतको गुवाहाटी र सिलोङमा भएको बाह्रौं सागमा नेपालले कम्तीमा १० स्वर्ण जित्ने अपेक्षा गरेको थियो। तर, बाह्रौं सागमा नेपालले जम्मा तीन स्वर्णमै चित्त बुझाउनुपर्‍यो। जुडो र उसुबाट नेपालले एकएक स्वर्ण जितेको थियो। पदकको आशा गरिएको तेक्वान्दो स्वर्णविहीन बन्दै घर फर्किएको थियो।

बाह्रौं सागमा नेपालले दक्षिण एसियामै गर्व गर्नलायक स्वर्ण फुटबलमा जितेको थियो। पदक तालिकामा समग्र छैटौं स्थानमा रहेको नेपालले तीन स्वर्णसहित २३ रजत र ३४ कास्य पदक जितेको थियो। पदकका लागि तयारी र आयोजक देशको हिसाबले यसपटक पनि नेपाल कमजोर अवस्थामा छ।

तेह्रौं सागका लागि खेलाडीको तयारी अगाडि बढाउन पनि ढिलाइ हुँदै गएको छ। हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सागका लागि प्रशिक्षणमा राखिने बताइएको छ। अन्य राष्ट्रले भने निकै अघिदेखि आआफ्नै तरिकाले तयारी अघि बढाइसकेका छन्।

यसअघि नेपालमै आयोजना भएको आठौं दक्षिण एयिाली खेलकुदमा नेपाल उत्कृष्ट प्रदर्शनसहित पदक तालिकामा दोस्रो भएको थियो। यसपटक पुनः आफ्नै देशमा आयोजना हुन लागेको तेह्रौं सागमा त्यही उपलब्धि दोहोर्‍याउन नेपालले ठूलै कसरत गर्नुपर्ने देखिन्छ। नेपालका लागि कराँते पदकीय दृष्टिकोणले उपलब्धिमूलक खेल मानिन्छ। बाह्रौं सागमा कराँते समावेश गरिएको थिएन। तर, यसपटक कराँतेलाई समावेश गरिएकाले पनि नेपाली भने केही उत्साही देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.