भाषाको यौन विन्यास
अघिल्लो शनिबार ‘फुर्सद’मै रमेश सायनको आर्टिकल पढेँ। ‘छुटेका अनुहार’का शब्दशिल्पी सायनका झैं रिट्ठो नढाँटी, बिलकुल इमानदार भएर यौनका अनुभव र अनुभूतिबारे लेख्ने ल्याकत मसँग छैन। यौनका मामलामा म खासै ‘अनुशासित’ र ‘आदर्श’ मान्छे होइन। खासगरी त्यस्तो ‘अनुशासन’ र ‘आदर्श’ जसको परिभाषा समाजले गरेको हुन्छ।
मसँग यौनका बारेमा अत्यन्त निजात्मक, अति संवेदनशील, आममान्छेका सोचाइ र सन्दर्भमा भन्दा, साह्रै असामाजिक र असभ्य करार भइन सकिने अनुभव र अनुभूति छन्। सरुभक्तको भनाइका रूपमा कतै पढेको ‘म आत्महत्या गरूँला तर आत्मकथा लेख्दिनँ’ भन्ने वाक्य मेरा लागि पनि उत्तिकै दुरुस्त वाक्य हो। सरुभक्तको सात्विक प्रेमको विषय होला, मेरो होला तामसिक। तर अन्तिम कथन मेरो पनि त्यही हो।
प्रेम र यौनका बारेमा मैले जे देखेँ, जे भोगेँ त्यसलाई समेटेर संस्मरण वा आत्मकथा लेख्ने कुनै मनसुवा मसँग छैन। त्यो आवश्यक पनि छैन। मलाई थाहा छ— संसारका सबै अनुभव वा अनुभूति बाँड्नका लागि हुँदैनन्। सबै अनुभवलाई, सबै भोगाइलाई कथ्नैपर्छ भन्ने छैन। केही याद जिन्दगीसँगै मरिजानु पर्छ।
म हुर्कौलो हुँदै गर्दा मेरो संगत दामलीहरूसँग भन्दा ज्यादा पाकाहरूसँग भयो। स्कुलबाट भाग्ने, सिनेमा हेर्ने, पौडी खेल्ने, माछा-चरा मार्ने, फलफूल चोर्नेजस्ता काममा लागियो। खोलामा पौडी खेल्दा सिनियरहरू ‘हस्तमैथुन’ प्रतियोगिता नै गर्थे। हामी केटाकेटी रमिते हुन्थ्यौं। टीभी र भिडियो प्लेयर भाडामा ल्याएर हरेक शुक्रबार रातभरि र शनिबार दिनभरि सिनेमा हेर्ने चलन थियो। मध्यरातमा खोलमा ‘रामायण’, ‘महाभारत’ लेखिएका ‘पोर्न मुभी’हरू देखाइन्थ्यो। म १०/११ वर्षकै उमेरमा यस्ता फन्डामा परेँ। पैंचालीस सालको मध्यतिर गाउँमा सार्वजनिक टीभी आयो। टीभी हेर्न सारा गाउँले गुन्द्रीकाम्लो बोकेर चौतारोमा आउँथे। टीभी देखाइने ठाउँको अलिक पर्तिर मात्रै सुनसान ठाउँमा पुरानो औडी थियो जहाँ टाप्रेको गाँज मात्रै थियो। गाँजभित्र सिनियरहरू आ-आफ्ना तरुनी बोकेर जान्थे। ‘मलाई मान्छे आउँछन् कि हेर !’ भनेर बाटो कुर्न लगाउँथे।
उमेर नपुग्दै मलाई यौनका बारेमा धेरै कुरा थाहा भइसकेको थियो। तर अचम्मलाग्दो कुरा के भने कक्षा ८ पढ्दासम्म पनि मैले ‘सम्भोग, लिंग, योनि’ जस्ता शब्द सुनेकै थिइनँ। त्यसो पनि होइन। शिवलिंगको प्रसंगमा ‘लिंग’ शब्दचाहिँ सुनेको थिएँ। तर मलाई शिवलिंगको लिंग पनि यही मान्छेको जस्तै लिंग हो भन्ने कुरा थाहा थिएन। मलाई अझै पनि शिवलिंग र मेरो लिंग उस्तै अवयव र अवधारणा हुन् भन्ने कुरामा विश्वासै छैन। त्यसो त सम्भोग, योनि, लिंग आदि शब्द मेरो भाषाका शब्द होइनन्। यी संस्कृत शब्द हुन्। मलाई थाहा नहुनु कुनै ठूलो कुरा होइन। तर मैले यी शब्दको सेरोफेरो जनाउने खाँट्टी नेपाली नाम भने बालखैमा सिकेको थिएँ। ती पनि एउटा होइन, अनेकन।
आठ कक्षा पढ्दा मलाई लागेको एउटा उटपट्याङ जिज्ञासा थियो— हामीलाई संस्कृतका शब्द सम्भोग, योनि, लिंग अथवा अंग्रेजीका सेक्स, भजाइना वा पेनिस भन्दा वा लेख्दा कुनै सकस नहुने। लाज नहुने। असभ्य नभइने। तर त्यही अर्थ दिने हाम्रा आफ्ना नेपाली शब्द बोल्दा वा लेख्दा किन लाज हुने ? किन असभ्य भइने ? सँगसँगै मलाई अर्को जिज्ञासा आएको थियो— स्वयं बेलायतमा चाहिँ यो कुरा पढाउँदा आफ्नो भाषाका शब्द प्रयोग गर्छन् कि अरूका ? चीन वा कोरियामा के गर्छन् ? के उनीहरू पनि हाम्रोजस्तै अर्काको भाषाबाट सापटी लिएर लाज जोगाउँछन् ?
दुई हप्ताअघि हेटौंडाबाट पोखरा फर्किंदा लेखक ब्रजेश र व्यवसायी दिनेश कार्कीसँग पनि संयोगवश यस्तै प्रसंग उप्काएँ। मैले यिनै प्रश्न दोहोर्याएँ। ब्रजेश दाइले प्रस्तावै राखे, ‘नेपाली भाषामा ‘सेक्स’लाई जनाउने शब्द के के छन् भनौं त ?’
शब्दकर्मीको प्रस्ताव टार्ने कुरा भएन। एकपछि अर्कोले पालैपालो गर्दै हामीले भटाभट आएजति शब्द भन्न थाल्यौं। एकपछि अर्को जिब्रोबाट शब्दहरूको मकैफुला उठिरह्यो। सागर किनारमा छाल आउन रोकिएला तर शब्दको लहर रोकिएन। नारायणगढ-मुग्लिन खण्डको सडक नापेर सकियो तर हाम्रा जिब्रोबाट कामुक शब्दको फेहरिस्त खस्न रोकिएन। गर्नु, पल्टाउनु, सेट्नु, दाप्नु, ङ्याक्नु, क्वाँक्नु, मच्चिनु, ख्याँस्नु, कन्याउनु, सुत्नु, .ि..क्नु, सुताउनु, लडाउनु, ठोक्नु, अँचेट्नु, ढिच्काउनु, च्यात्नु, दपेट्नु, छिराउनु, चिप्ल्याउनु, दन्काउनु, फट्याउनु, जोल्टिनु, सिल तोड्नु, तातो पानी फाल्नु, पाँच खुट्टा टेक्नु,
ढिकिच्याउँ गर्नु, कोल चलाउनु, भाँडा बजाउनु, ट्याम्पु पल्टाउनु, मियो गाढ्नु, दही मथ्नु, घिउ निकाल्नु, फलफूल खानु, जग्गा हेर्नु...।
एउटै वा उस्तै अर्थ दिने शब्दहरू जति धेरै हुन्छन्, त्यो अर्थको विषयमा त्यो भाषा बोल्ने समाजको मानसिक चित्र उति नै प्रस्ट हुँदै जान्छ। भन्छन् नि, क्यानडाका आदिवासी इस्किमोहरूको भाषा युपिकमा जमेको पानी अर्थात् हिँउ जनाउनका लागि मात्रै दर्जनौं शब्द छन्। तिनले हिउँको अनेकन प्रकारलाई बताउँछन्। हिउँको आकार, रङ मात्रै होइन; कुनै हिउँ कति पुरानो हो, त्यो कति बेला देखियो, कसरी देखियो आदि अनेकन सूचना पनि एउटै शब्दले दिन्छ। हिउँ मात्रै होइन, हिउँ परेको स्थान र त्यसलाई हेर्ने मान्छेअनुसार पनि हिउँका अनेकन नाम उनीहरूसँग छन्।
के सेक्स जनाउने हाम्रा शब्दले पनि यस्तै ‘प्रकार’लाई देखाउँछन् ? पक्कै देखाउँछन्। जस्तो कि ‘टेम्पो पल्टाउनु’ शब्दावली सिनेमामा काम गर्ने प्रोड्युसरका लागि प्रयोग गरिन्छ/थ्यो जसले सिनेमामा ‘रोल’ दिने बहानामा महिला कलाकारसँग यौनसम्बन्ध राख्ने नियत राख्छ/थ्यो। उता ‘फलफूल’ शब्द नेपाली क्यासिनोमा प्रचलित शब्द हो। जस्तो कुनै यौन अड्डामा नयाँ युवती आएकी रहिछन् भने ‘बजारमा नयाँ फलफूल आएको छ’ भनिन्छ। कुनै यौनकर्मीको गुण-दोष बताउनु परे ‘फलानी त जुनारजस्ती छ, भुइँकटहरजस्ती छ, कट्मेरो आँपजस्ती छ’ भनिन्छ। ‘हिजो त्यसले रातभरि फलफूल खाएर बस्यो। ऊ त फलफूल व्यापारी हो नि’ आदि वाक्य पनि त्यताका आमसंवाद हुन् !
आजकाल जग्गा कारोबारीहरूले पनि नयाँ शब्दको प्रयोग गर्न थालेका छन्। फोनमा कुरा गर्दा सुन्ने (श्रीमती वा अरू कोही)ले थाहा नपाओस् भनेर उनीहरू यसरी ‘कोड’ भाषामा बोल्छन् :
- आज जग्गा हेर्न जाने हो ? (प्रस्ताव राखेको)
- कति आनाको हो ? (यौनकर्मीको उमेर सोधेको)
- मोहोडा कस्तो छ ? (उसको अनुहार सोधेको)
- अनि चारा पाटा मिलेको छ कि छैन ? पिछाड कस्तो छ ? (फिगर सोधेको)
- आना/हातको कति लाग्छ ? (एक पटक/रातको मूल्य सोधेको)
- खाली जग्गा हो कि घर पनि छ ? (विवाहित
हो कि होइन ?)
- जग्गाधनी नेपालमै छ ? (लोग्ने विदेश छ कि
यतै छ ?)
- आजै बैना हुन्छ त ? (आऊँ त ?)
यौनसँग सम्बन्धित मात्रै हामीसँग यति धेरै शब्द रहेछन् कि हामीले बलपूर्वक तिनलाई सम्झनै परेन। शब्दको डोर नसकिने देखेपछि झ्यावै लागेर छोड्यौं। अझ हाम्रो नयाँ पुस्ताले अनेकौं नयाँ सडक-शब्दहरू जन्माइसकेको होला, जुन शब्दले अहिलेसम्म हाम्रो कानमा पर्ने ‘सौभाग्य’ पाएकै छैनन्। सम्भवतः एउटै काम जनाउने यति धेरै शब्द भएको हाम्रोजस्तो ‘समृद्ध’ भाषा अन्त खोज्न गाह्रै पर्ला।
तलतिर व्याख्या गरिएका पेसागत शब्दावलीलाई छोडेर बाँकी चल्तीका क्रियापदलाई एकबाजी केलाएर हेरौं। ती शब्दको प्रयोग गर्ने व्यक्तिको मनोविज्ञान नियालौं। महिलाप्रतिको उसको धारणा कस्तो रहेछ भनेर सोचौं। अनि यसरी पनि सोचौं— ती क्रियापदको प्रयोग कसले गर्छ, महिला या पुरुष ? के नेपाली महिलाहरूसँग पनि यस्तै शब्दभण्डार छ ? तीमध्ये कति क्रियापदले पुरुष कर्ता माग्छ ? कतिले महिला माग्छ ? कतिमा महिला वा पुरुष जे भए पनि फरक पर्दैन ?
व्याकरणीय हिसाबले सोच्ने हो भने ती सबै शब्दको कर्ता पुरुष छ र कर्म स्त्री। भाषाबाटै (यौन) मनोविज्ञानको निर्माण हुन्छ भन्ने विचारलाई मान्ने हो भने हाम्रो समाजमा ‘सेक्स’ पुरुषले मात्रै ‘गर्ने’ काम हो भन्दा हुन्छ। महिला फगत ‘सेक्स टोय’ मात्रै हुन्। यसको भोक्ता पुरुष हो, महिला भोग्या हुन्। यसले यौनका मामलामा पुरुष सक्रिय र महिला निष्क्रिय हुनुपर्छ भन्ने धारणा गर्छ। हाम्रा संसर्गजनक क्रियापदले ‘पुरुषत्व’को अहम् र तुजुकलाई यसरी नै हाम्रो मस्तिष्कमा स्थापित गरेका छन्। र हाम्रो यौन मनोविज्ञान यिनै शब्द प्रयोगको सिलसिलाबाटै निर्माण भएको छ।
त्यसो त पूर्वीय परम्परामा यौन कर्मका लागि दुई शब्द छन्— कामक्रीडा र रतिक्रीडा। रतिदेवी र कामदेव यौनका देवजोडी हुन्। संसर्ग गर्नु भनेको हिन्दू परम्पराअनुसार एक ‘क्रीडा’मा सामेल हुनु हो जसको मूल ध्येय मनोरञ्जन हुन्छ। यसमा महिला र पुरुष दुवैको अहम्, सक्रियता र आनन्दलाई समेटिएको छ। आनन्द, सक्रियता र यौन-अहंका हिसाबले पुरुषप्रधान सम्भोगलाई कामक्रीडा भनिन्छ भने स्त्रीप्रधान सम्भोगलाई रतिक्रीडा। खैर यी कुरा पौराणिक जिनिस भइसके जसको सामाजिक अभ्यास अहिले छँदैछैन।
मेरो एकजना नजिकका भाइ छन्। अझै अविवाहित। १५ वर्षअघि बेलाबेलामा उनी मेरो फ्ल्याटको चाबी माग्न आइरहन्थे। उनी केटी साथी लिएर आउँथे। उनका कम्तीमा तीनजना पूर्वप्रेमिकालाई म पर्सनल्ली चिन्थेँ। सबैजनासँग उनको सबैखाले सम्बन्ध थियो भन्ने कुरा मलाई थाहा छ।
तीन वर्षपहिले उनको विवाहको कुरा चल्यो। अर्कै कुनै युवतीसँग। त्यो बेला उनी कसैसँग ‘रिलेसन’मा थिएनन्। मागी विवाहका लागि राजी थिए। परिवारले खोजेकी ती युवती पढेकी थिइन्। जीउडाल मिलेकी थिइन्। परिवार पनि सुहाउँदो थियो। तर उनले मरिकाटे उनीसँग बिहे गर्न मानेनन्। मैले एकान्तमा लगेर कारण सोधेँ। उनले भने, ‘यो केटीको पहिले अर्कैसँग सम्बन्ध थियो। यसको केटो बाहिर गएर उतै बिहे गरेको हो। सी इज नट भर्जिन। जुठो कुरा कसले बेहोर्छ ?’ उनले साथी ‘सर्कल’ परिचालन गरेर ती युवतीको पूरै ‘हिस्ट्री’ उतारेर ल्याइसकेका रहेछन्। केटाको कुरा सुनेर मेरो भाउन्ना छुट्यो। विवाहअघि दर्जनौं केटीसँग सम्बन्ध राखेको एउटा युवाले आफूले बिहे गर्ने केटीको पहिलो मापदण्ड ‘भर्जिनिटी’ राखेको थियो। योभन्दा घिनलाग्दो अवधारणा अर्को के हुन सक्छ ?
केही समयपहिले अन्नपूर्ण दैनिककै अनलाइन संस्करणमा एउटा बलात्कारको समाचार पढेको थिएँ। त्यहाँ बलात्कृत महिलाकै भनाइको छेकलमा ‘उसले इज्जत लुट्यो’ भन्ने शब्दावली प्रयोग गरिएको थियो। यहाँ पत्रकारले लेखेको ‘इज्जत’ भनेको अरू केही होइन ‘भर्जिनिटी’ हो। के कुनै स्त्रीको हाइमन नष्ट हुनु भनेको इज्जत जानु हो ? नत्र भन्नोस्, खासमा बलात्कार गर्नेको इज्जत जान्छ कि बलात्कृत हुनेको जान्छ ?
विवाह गरेको केही हप्तामा गृहकलह सुरु भएर घरबार बिग्रेका कैयन् उदाहरण मैले देखेको छु। बुझ्दै जाँदा तिनको मूल कारण ‘भर्जिनिटी’ नै हुन्थ्यो। संसर्गको पहिलो रातबाटै लोग्ने बितर्किन थालिहाल्थ्यो।
पुरुषको हकमा विवाहपूर्वको सेक्सलाई अति सामान्य मान्ने हाम्रो समाजले २४/२५ पुगेकी कुनै अविवाहित युवती अझै पनि ‘भर्जिन’ हुनैपर्छ भन्ने घिनलाग्दो मान्यता किन राख्छ ? बालखैमा बिहे गरेको पुरानो पुस्ताले यस्तो मान्यता राख्नु अर्कै कुरा हो तर सुपठित नवयुवकले समेत महिलाका बारेमा बनाउने यस्तो अवधारणा लैंगिक विभेदको निकृष्ट नमुना हो। मलाई लाग्छ— ‘भर्जिनिटी’को अवधारणा राख्नु लैंगिक अपराध गर्नु हो र कलुषित अन्धविश्वासको घिनलाग्दो अभ्यास गर्नु हो भनेर सामाजिक बहस चलाउनु जरुरी छ।
मनोविद् अब्राहम मास्लोले गाँस, बास, कपासजस्तै यौनलाई पनि मान्छेको आधारभूत आवश्यकताका रूपमा व्याख्या गरेका छन्। यौन अतृप्तताले मान्छेको शारीरिक मात्रै होइन; मानसिक, सामाजिक र आत्मिक स्वास्थ्यमा पनि असर पुर्याउँछ। जसरी खानेकुराको कमीले मान्छेलाई कुपोषण लाग्छ, यौन अतृप्तताले पनि मान्छेको मस्तिष्कलाई कुपोषित गर्छ।
अब एउटा सामाजिक प्रश्न सोधौं, यति ठूलो आधारभूत आवश्यकता मानिएको यौन चाहनाको परिपूर्तिका लागि हामीसँग सामाजिक व्यवस्था के छ त ?
क) विवाह गर्ने
ख) प्रेम गर्ने
ग) वेश्यावृत्ति गर्ने
घ) एक अर्काको खाँचो टार्ने
मनोविद्हरू १८ वर्ष पुग्नुलाई यौनिक आवश्यकता पूर्ति गर्न थाल्नुपर्ने उमेरको रूपमा लिन्छन्। अधिकांश नेपालीको यौनजीवन विवाहपछि मात्रै सक्रिय हुन्छ। आवश्यकता पुग्ने गरी होइन कि अनुभवका लागि मात्रै गरिने विवाहपूर्वका एकाध ‘सेक्स’का कुरा भिन्दै हुन्। ‘लभ गर्ने’ र ‘सेक्स गर्ने’ कुरा झन् अनौठो कुरा हो। होटलमा भेटिएको जोडीलाई अपराधीलाई झैं समातेर थुन्ने पुलिस प्रशासन भएको ठाउँमा ‘सेक्स’ गर्ने सुरक्षित स्थान नै छैन। उता होटलबाट पक्राउ गर्दा पनि महिलालाई वेश्याको अरोप लाग्छ, पुरुष छुटिहाल्छ। यसको अर्कै पाटो छ।
पश्चिमाहरूका झैं केटा वा केटी साथीलाई घरमै ल्याएर आमाबाबु र परिवारको मुखेन्जी कोठामा पस्ने संस्कार हाम्रोमा छैन। होटलमा जाँदा पुलिससँगसँगै कसै न कसैले देख्ला वा चिन्ला भन्ने डर उत्तिकै हुन्छ। सायद त्यसैले होला, अचेल होटलबाट मात्र होइन; जंगल, खोला, खहरे र खोँचहरूबाट समेत प्रेमीहरू पक्राउ परेका समाचार बग्रेल्ती सुनिन्छन्।
एकातिर विवाह गर्ने औसत उमेर बढेको बढ्यै छ। सहरमा त २५ वर्षअघि बिहे गर्ने चलन लगभग हराइसक्यो। यो वर्ष म आफैंले निम्तो मानेका १५ वटा विवाहमा केटाको औसत उमेर २७ वर्ष आयो भने केटीको २३। यो हिसाबले सहरिया युवकयुवतीको अन्दाजी १० वर्षको आयु यौन कुण्ठामै बित्ने रहेछ। त्यो १० वर्ष जुन उमेरमा मान्छेभित्र सर्वाधिक यौन अभिरुचि हुन्छ।
मेरा एकजना मित्र छन्। उनी नेपालका सुविख्यात लेखक हुन्। एक दिन उनले मलाई सुनाए, ‘गनेस, म लेख्नुअघि प्रायः हस्तमैथुन गर्छु।’ हस्तमैथुनले उनलाई शान्त र स्थिर बनाउँदो रहेछ। कस्तो स्वाभाविक र शान्त अभिव्यक्ति ! यस्तो खुलस्त विचार ! अभिव्यक्तिका लागि मैले उनलाई धन्यवाद पनि दिएँ।
महिलाको मनमा के हुन्छ मलाई थाहा छैन तर हरेक पुरुषको मनमा हरेक क्षण यौनको चिन्तना रहेकै हुन्छ। मेरोमा पनि बस्छ। दिमागमा त्यही योनि, स्तन र नितम्बको छायाँ अविराम बसेको हुन्छ। टुप्पीदेखि पैतालासम्म कुण्ठै कुण्ठाबाहेक केही छैन। र त्यो कुण्ठा जीवित हुनुमा उसको व्यक्तिगत दोष छैन। यौन-कुण्ठा भाषिक र सामाजिक व्यवस्थाको परिणति हो।
१६ देखि २५ वर्षसम्मको उमेरमा मान्छे यौनका मामलामा कति कुण्ठित भइसकेको हुन्छ भने विवाहपछि पनि त्यो कुण्ठा जीवितै रहन्छ। कुण्ठा बिस्तारै व्यवहारबाट बदलिएर स्वभावमा रूपान्तरण भइसकेको हुन्छ। मान्छेले आफ्नो व्यवहार बदल्न सक्छ, स्वभाव फेर्न सक्दैन। प्रवृत्ति फेर्न सक्दैन। विवाहपछि पनि मान्छेको यौन-कुण्ठा उस्तै रहनुको मूल कारण यही हो। कुण्ठाले समात्ने भनेकै कि सिर्जनाको बाटो हो कि हिंसाको। सिर्जना अप्ठेरो बाटो हो। सिर्जनाले धैर्य माग्छ, शिल्प माग्छ। हिंसा तात्कालिक बाटो हो। यसले हतारको निर्णय र फुर्सदको पछुतोबाहेक केही माग्दैन।
@ganesspaudel ‘पैताला’ उपन्यासका लेखक हुन्।