खडेरीले हिउँदेबाली सुक्यो
सिन्धुली : सिन्धुलीको सुनकोसी नदी आसपास क्षेत्रमा खडेरीले ५ हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैलगायत हिउँदेबाली सुक्न थालेको छ। जिल्लाको गोलन्जोर र फिक्कल गाउँपालिका अन्तरगत कोसीगढतिरमा पर्ने खुर्कोट, सुगुरे, बारा, मुर्कीबेसी, ग्वाल्टार, च्याकुटार, डुडभन्ञ्याङ, खाङसाङलगायत क्षेत्रमा हिउँदेबाली सुक्न थालेको छ।
गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा मात्र १ हजार ८ सय रोपनी क्षेत्रफलमा लगाइएको मकै पानी अभावमा सुकेर नष्ट हुन थालेको स्थानीय कृषक गौरव कार्कीको भनाइ छ।
लगातारको खडेरीले यस्तो अवस्था आएको हो। स्थानीय कृषकको २ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिँदै आएको ठूलो कुलोमा मध्येपहाडी लोकमार्ग निर्माण गर्दा क्षतिपुगेपछि पानीनै आउन छाडेको ५ वर्ष भयो।
‘१ हजार २ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने अर्को कुलाको मुहाननै सुक्दा पानी अभाव भएको छ। सँगैरहेको मूलकुलो पनि सुक्दा थप ४ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने कुलोमा पनि पानी छैन्’, उनले भने।
ग्वाल्टार क्षेत्र अन्नबाली उब्जनीको पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रमा प्रायः आकाशबाट वर्षा निकै कम हुन्छ। अर्का कृषक पुरुषोत्तम बराल आकाशको वर्षात्को कुनै भरनै नभएको र वर्षौंदेखि प्रयोग गर्दै आएको कुलोमा पानी सुक्दा लगाएको अन्नबाली तरकारी तथा फलफूल सबै सुकेर नष्ट हुन थालेको बताउँछन्।
गोलन्जोर गाउँपालिकाको खुर्कोटदेखि फिक्कल गाउँपालिकाको खाङ्साङसम्मको झण्डै ४५ किलोमिटर क्षेत्र पूरै सुक्खा क्षेत्र हो।
‘खेतबारी तल सुनकोसी नदी बगेको छ। नदीमाथिका सबै जमिन खडेरीले खाइसक्यो सिँचाइको व्यवस्था गर्न नसक्दा खडेरीसँगै अनिकाल बढ्ने चिन्ता बढ्दै गयो’, कृषक बरालले भने।
‘यस्ता क्षेत्रमा माथिबाट बगी आउने खोला तथा खोल्सामा भूकम्पपछिका बर्सेनि बढ्ने तापक्रमले सुक्दै गएका छन्। तल सुनकोसीमा पान भए पनि कुलोमा आउँदैन। लिफ्ट गर्न धेरै ठूलो रकम खर्च गर्नु पर्छ त्यो कृषकबाट सम्भव छैन्। सरकारले वास्थानै गरेको छैन्’, बरालले थपे।
सुक्खा क्षेत्र घोषणाको माग
हरेक वर्ष पानीको अभावमा लगाइएको खाद्यान्न तथा फलफूल र तरकारी बालीमा समेत क्षति पुग्ने गरेपछि कोसी गढतिर क्षेत्रका कृषकले उक्त क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। विगत ४ वर्षदेखि सिँचाइको व्यवस्था नभएको क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गर्न गरिएको मागलाई यो वर्ष पनि दोहो¥याइएको कृषक गौरव कार्की बताउँछन्।
‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग डेलिकेसननै गएर गढतिर क्षेत्रलाई सुक्खा क्षेत्र घोषणागरी सिँचाइको व्यवस्थाका लागि काम गर्न माग गरेका छौं। तर, कुनै तहका सरकारले सुनेका छैनन्’, उनले भने।
तत्काल सुक्खा क्षेत्र घोषणा गरेर काम नगरे आफूहरूले लगाएको सबै बालीमा आगो लगाएर सरकारबिरुद्ध कृषक एक भएर आन्दोलनमा उत्रने कार्कीको चेतावनी छ।
आपत्तकालीन बाली संरक्षण गर्ने
गोलन्जोर गाउँपालिकाले कृषकको अन्नबाली जोगाउन भन्दै आपत्तकालीन बाली संरक्षणका लागि पहल गर्ने बताएका छन्। कृषकले सिँचाइ अभावमा बालीनाली सुकेर गएको भन्दै गढतिर क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्दै पालिकामा आएपछि सुनकोसीको पानी लिफ्टमाफर्त तानेर सिँचाइ गर्ने व्यवस्था मिलाउने गरी आपत्तकालीन बाली संरक्षण कार्यक्रमको पहल गरेको गाउँपालिकाका अध्यक्ष पुष्पकार्कीले बताएका छन्।