दक्षिण अफ्रिकामा रामफोसा
जोहानिसबर्ग : दक्षिण अफ्रिकामा अफ्रिकी नेसनल कंग्रेस (एएनसी) ले पार्टी अध्यक्ष सिरिल रामफोसाको नेतृत्वमा सरकार बनाउने भएको छ।गत साता भएको निर्वाचनमा एएनसीले साढे ५७ प्रतिशत मतसहित विजयी भएपछि आइतबार उसका समर्थकले जोहानिसबर्गका सडकमा जितको खुसीयाली मनाएका थिए।
सत्तारुढ दल एएनसीले ९ मध्ये ८ प्रान्तमा आफ्नो पकड कायमै राखेको छ। सन् २०१८ फेब्रुअरीमा सत्तामा आएपछि रामफोसाको नेतृत्वमा भएको यो पहिलो चुनाव र विजय पनि हो।
तर सन् १९९४ मा रंगभेदी शासन अन्त्यपछि पहिलोपल्ट नेल्सन मन्डेलाको नेतृत्वमा भएको चुनावयता एएनसीको निर्वाचन परिणाम खस्कँदै गएको छ। त्यसबेला भने मन्डेलाको नेतृत्वमा एएनसीले अत्यधिक सिट जितेको थियो। तैपनि अहिले सन् २०१६ मा भएको स्थानीय चुनावको परिणामका तुलनामा केही सुधार भएको छ।
रामफोसा समर्थकले भने यो विजयलाई ज्याकोब जुमाको बहिर्गमनपछि ‘भ्रष्टाचारविरुद्धको अभियान’ सदर गरेसरह लिएका छन्। यतिबेला २७ प्रतिशत दक्षिण अफ्रिकी बेरोजगार रहेको बताइन्छ। यस्तोमा ६६ बर्से रामफोसाले पार्टी मुख्यालय लुथली हाउसबाहिर पार्टी समर्थकलाई सम्बोधन गर्दै यो चुनाव देशका लागि महत्वपूर्ण भएको बताए। उनले आर्थिक समृद्धि गर्न विदेशी लगानी निम्त्याउने र रोजगार दिने वाचा गरे।
उनले मे अन्त्यमा राष्ट्रपतिको कार्यभार औपचारिक रूपमा सम्हाल्ने छन्। उनले सन् २०१७ डिसेम्बर मा जुमाको पदत्यागपछि राष्ट्रपति पद सम्हालेका थिए।