वनमा बढ्दो डढेलो, दशककै बढी क्षति
कैलाश जोशी/गीता कुँवर
धनगढी : गर्मी मौसम सुरु भएसँगै अछामका वनमा डढेलो लाग्ने क्रम बढेको छ ।
डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिन सकेको छैन । अछामको कुल भूभागको ६२.७७ प्रतिशत जमिनमा वन रहेको सरकारी तंथ्याक छ ।
सुख्खा याम सुरुदेखि नै ११ वटा सामुदायिक वनको दुई हजार एक सय हेक्टर वनमा पूर्ण रुपमा डढेलो लागेको र ९ वटा सामुदायिक वनको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनमा आंशिक रुपमा डढेलो लागेको डिभिजन वन कार्यालय अछामले जनाएको छ ।
वर्षेनी गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दो क्रममा रहेको डिभिजन वन कार्यालय अछामका सहायक वन अधिकृत सन्तोष ढुंगानाले बताए । ‘प्राकृतिक र मानवीय दुई कारणले वनमा डढेलो लाग्ने गरेको छ, त्यसमा पनि मुख्य कारण मानवीय क्रियाकलाप नै हो’, उनले भने ‘प्राकृतिक कारण एकदमै न्यून छ, घाँस उमार्ने मनसायले वनमा डढेला लगाउने कारण ३० प्रतिशत, चुरोटविडि, सलाइका काटी लगायत सामना ननिभाई फाल्ने कारण १५ प्रतिशत र सामुदायिक वनमा रिसिबी फेर्न, गैर काष्ठ वन पैदावार संकलन गर्न तथा सुकेको काठ निकाल्ने कारण ५ प्रतिशत रहेको छ ।’
वन डढेलो नियन्त्रणका लागि सरकारी तवरबाट संघसंस्था परिचालन, विद्यालय सचेतना, सञ्चार माध्यम मार्फत सूचना प्रवाह, सूचना बोर्ड व्यवस्थापन लगायत काम भए पनि तथ्यांक अनुसार बन डढेलो लाग्ने क्रम बढ्दो छ ।
विभिन्न ठाउँमा लागेको आगो नियन्त्रणका लागी टोली परिचालन गरिएको शसस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर अछामका प्रहरी नायव उपरीक्षक कृष्ण विष्टले बताए ।
कैलालीका वनमा पनि क्षति
डढेलोका कारण कैलालीको वनमा क्षति पुगेको छ । डिभिजन वन कार्यालय, कैलालीका सहायक वन अधिकृत रामऔतार चौधरीका अनुसार यस वर्षको डढेलोका कारण हालसम्म कैलालीमा ४० प्रतिशत बढी वन क्षेत्रमा क्षति पुगेको छ । कैलालीमा दुई लाख पाँच हजार हेक्टर वन क्षेत्र रहेको छ । कैलालीमा बसन्ता, बाह्रबन, भारताल, चुरे लगायत ठूला र घना बनजंगल तथा दर्जनौ सामुदायिक वन छन् ।
स्थानीयका अनुसार १० वर्ष यताकै ठूलो डढेलो अहिले लागेका हो । डढेलोले वनमा रहेका साना ठूला सबै रुख जलेर नष्ट हुनुका साथै हरिया डाँडा पूरै खरानी र कालो भएका छन् । एक स्थानीय ८० वर्षीय हरिबहादुर खनालले यस्तो डढेलो भएको आफूले कहिल्यै नदेखेको बताए ।