गण्डकी प्रदेशमा ९ प्रतिशत बेरोजगार
पोखरा : गण्डकी प्रदेशभर बेरोजगार दर ९ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रदेशमा पुरुषको बेरोजगार दर ९.४ र महिलाको बेरोजगार दर ८.४ प्रतिशत रहेको नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/०७५ को नतिजा सार्वजनिक कार्यक्रममा बताइएको हो ।
गण्डकी प्रदेशका सहरहरुमा बेरोजगार दर १०.३ प्रतिशत र ग्रामीण क्षेत्रमा ६.५ प्रतिशत बेरोजगार रहेको राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत पृथ्वीराज सिजापतिले जानरकारी दिए ।
बेरोजगार दरलाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी प्रदेश नम्बर २ मा छ । यस प्रदेशमा २०.१ प्रतिशत रहेको विभागको तथ्याङ्क छ । सबैभन्दा कम प्रदेश नम्बर ३ मा ७ प्रतिशत मात्र रहेको अधिकृत सिजापतिले जानकारी दिए ।
प्रदेश अनुसार श्रमशक्तिमा सहभागिता दर हेर्दा सबैभन्दा बढी प्रदेश नम्बर ३ मा रहेको छ । यस प्रदेशमा ४७.१ प्रतिशत श्रमशक्तिमा सहभागिता छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७.३ प्रतिशत छ । गण्डकी प्रदेशमा श्रमशक्ति सहभागिता दर ३५.७ प्रतिशत छ । यसमा पनि पुरुष ४८.८ र महिला २६.६ प्रतिशत हो ।
सन् २०१७/०१८ मा नेपालमा श्रमशक्तिमा सहभागिता दर ३८.५ प्रतिशत रहेको छ । यो दर सहरमा ४१.७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२.९ प्रतिशत हो । यस्तै पुरुष र महिलाको श्रमशक्तिमा सहभागिता दर क्रमश ५३.८ प्रतिशत र २६.३ प्रतिशत रहेको तथ्याङ्क अधिकृत सिजापतिले बताए ।
गण्डकी प्रदेशमा रोजगारमा रहेको जनसंख्या ६४ प्रतिशत सहरमा र ३६ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ । रोजगारमा रहेको पुरुषहरुमध्ये ५९ प्रतिशत सहरमा र ४१ प्रतिशत ग्रामीण क्षेत्रमा छन् । महिलाहरुमा ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामिण क्षेत्रमा रोजगारमा रहेको तथ्याङ्क छ ।
नेपालमा रोजगारमार रहेको जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छ । त्यसमध्ये ६८ प्रतिशत पुरुष सहरमा रोजगारीमा छन् भने ३२ प्रतिशत ग्रामीण क्षेत्रमा रहेका छन् । रोजगारमा रहेका महिलाहरु मध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागका निर्देशक अम्बिका बस्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !