असिनापानीले अगौटे मकै र तरकारीबाली नष्ट
दमौली : बिहीबार दिउँसो हावाहुरीसहित आएको असिनापानीले तनहुँका धेरै भागमा क्षति पुर्याएको छ। असिनापानीका कारण खासगरी मकै बालीमा धेरै क्षति पुगेको छ। गोडमेल गरिएको तथा चमरा लागेको अगौटे मकैमा असिना पानीले नोक्सानी पुर्याएको छ। व्यास नगरपालिकाको साँगे, बैरेनी, चारकुने तथा आसपासका क्षेत्रमा मकै बालीमा बढी नोक्सानी पुर्याएको हो। यसैगरी तरकारी बालीलाई पनि असिनाले क्षति पुर्याएको छ।
व्यास- ६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले वडाको धेरै भागमा असिनापानीले मकै बालीमा क्षति पुर्याएको बताए । उनले असिनापानीका कारण बाह्रबिसेमा बढी क्षति पुगेको बताए। क्षतिको यकिन विवरण भने आइ नसकेको उनले बताए। उनले अगौटे मकै पूर्णतः काम नलाग्ने अवस्थामा पुगेको बताए। बाह्रबिसेका संखमान श्रेष्ठले असिनापानीले धेरै नोक्सानी गरेको बताए।
व्यास ७ तथा व्यास ८ मा पनि असिनापानी परे पनि त्यस क्षेत्रमा उल्लेख्य क्षति भने भएको छैन। व्यास ७ का वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले वडामा असिना पानी परे पनि ठूलो क्षतिको जानकारी नआएको बताए। सतिस्वाँराका बाबुराम खनालले असिना पानीको प्रभाव परे पनि ठूलो क्षति नभएको बताए।
जिल्लाका धेरै भागमा असिनापानी परेपनि थप क्षतिको विवरण भने आइसकेको छैन। कृषि विज्ञ केन्द्र तनहुँले जिल्लाका विभिन्न भागबाट विवरण आउन केही समय लाग्ने जानकारी दिएको छ।
विद्युत लाइनमा क्षति
असिनापानी र हावाहुरीका कारण व्यास नगरपालिकाका विभिन्न भागमा विद्युतीय लाइनमा क्षति पुगेको छ। तनहुँसुरतर्फ गएको लाइनको पोलमा सिमलको रुख ढलेपछि त्यसतर्फको विद्युतीय सेवा प्रभावित भएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए।
व्यास नगरपालिकाका फिडरका विभिन्न ठाउँमा क्षति पुगेका कारण हाल दमौलीमा मात्र लाइन सूचारु गरिएको छ। अन्त्रका भागमा मर्मतपश्चात लाइन नियमित गरिने उनले बताए।