चिया मजदुरको समस्या : धन्यवाद थापेर फर्किए मन्त्री बिष्ट
सरकारले गत साउनदेखि लागू हुनेगरी चिया श्रमिकको दैनिक ज्याला तीन सय ८५ र अन्य सुविधा तोकेको छ।
चिया मजदुर र रोजगारदाताबीच सहमति भएको एक दिनपछि इलाम आइपुगेका श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्ट चिया श्रमिकको धन्यवाद थापेर फर्किएका छन्।
शुक्रबार कन्याम चिया वगानका मजदुरलाई भेट्न कन्याम पुगेका श्रममन्त्रीले समस्या समाधान गर्न पहल गरेको भन्दै व्यवस्थापन र मजदुरलाई धन्यवाद दिएका थिए। श्रमिक नेता नर्वदा निरौलाले श्रमिकका तर्फबाट श्रममन्त्रीलाई समस्या समाधानका लागि सहयोग गरेकोमा धन्यवाद दिइन्।
व्यवस्थापन र मजदुरबीच केही दिनअघि सहमति भए पनि बन्द रहेका दुई वगानमध्ये इलामको कन्याम चिया वगानको माग पूरा गर्ने सहमति बिहीबार भएको थियो। इलाम चिया वगानको समस्या समाधान गर्न व्यवस्थापनले समय मागेको छ।
कन्याममा चिया मजदुर संगठनका पदाधिकारी र व्यवस्थापन पक्षका सुवास संघाईबीच कन्याममा भएको तीन घण्टा लामो वार्तापछि व्यवस्थापन पक्षले अरु वगानमा भएको सहमतिनै कार्यान्वयन गर्न सहमति जनाएको नेपाल चिया मजदुर श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले जानकारी दिए।
वार्तामा संघाईले तत्काल सूचना प्रकाशन गरेर मजदुरलाई काममा फर्कने वातावरण निर्माण गर्ने आश्वासन दिएको नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संघ इलामका अध्यक्ष रमेश खड्काले जानकारी दिए। नेपाल चिया वगान श्रमिक संघकी इलाम उपाध्यक्ष नर्वदा निरौलाले व्यवस्थापनले ‘सोच्ने समय’ मागे पनि त्यहाँको समस्या समाधान भएको बताए।
सेवा सुविधा माग गर्दै चिया मजदुर चैत १७ देखि आन्दोलनमा उत्रिएका थिए। निरौलाले भनिन्, ‘व्यवस्थापनले लिखित जानकारी गराएपछि काममा फर्कन्छौं।’
मन्त्री बिष्टसँग अखिल नेपाल ट्रेड युनियन महासंघका इलाम उपाध्यक्ष विष्णु भट्टराईले अधिकार माग्दा व्यवस्थापनले धाकधम्की र सरुवासमेत गर्ने गरेको गुनासो गरे। उनले भने, ‘अधिकार माग्दा प्रतिसोधको भवना लिएर दु:ख दिइयो।’ उनले २०५७ सालदेखि नै तलव नपाएको गुनासो गरे।
मन्त्री बिष्टले चिया खेतीलाई देशभर विस्तार गर्ने र चियाको अन्तर्राष्ट्रिय बजार खोज्न सरकारी योजना सुनाए। उनले मलखाद, अक्सन सेन्टर स्थापना, चिया अनुसन्धानलगायत कार्यक्रम अघि सार्ने बताए। उनले रोजगारदाताका यथोचित मागलाई गम्भीरताका साथ सम्बोधन गर्ने आश्वासन पनि दिए।
उनले चियाका समस्या समाधान गर्न गठित उच्चस्तरीय आयोगको सिफारिसलाई यही बजेटबाट सम्बोधन गर्ने बताए। उनले सरकार, रोजगारदाता र श्रमिककै सहमतिका आधारमा ऐन बनेकाले आवश्यक प्रक्रिया पूरा गर्दा पनि कार्यान्वयन नगरे ऐनको व्यवस्थाको आधारमा वेतनको व्यवस्था गर्ने बताए।
उनले भने, ‘कुनै पनि शर्तमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पालन गर्दिन भनेर कसैले अवज्ञा गर्न पाउँदैन।’
साउन १ देखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्ने तयारी गरेको बताउँदै उनले श्रमिक वृद्ध हुँदा दु:ख पाउने अवस्था अब रहन नहुने बताए। चिया विकास निगमअन्तर्गतको इलाम र झापामा रहेका ७ वटा वगानको व्यवस्थापक संघाई समूहले भने निकै अटेर गरेको थियो। निगमअन्तर्गतको वगानमा मात्र तीन हजार पाँच सयभन्दा बढी मजदुर छन्।
२०५७ सालमा चिया वगान र कारखाना निजीकरणसँगै मजदुर र व्यवस्थापनबीच पटकपटक द्वन्द्व हुने गरेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा संघाई ग्रुपलाई ६५ प्रतिशत सेयर बिक्री गरेको वगान व्यवस्थापनको दाबी छ। सरकारले गत साउनदेखि लागू हुनेगरी चिया श्रमिकको दैनिक ज्याला तीन सय ८५ र अन्य सुविधा तोकेको छ।
प्रतिक्रिया दिनुहोस !