ताकेर सन्दकपुर
इलामको समालबुङ शान्ति बजारबाट बाटो लाग्दै गर्दा सिमसिम पानी परिरहेको थियो। सिद्धि खोला तरेर छिपिटार उक्लिँदासम्म पनि मौसम खुलेन, जहाँ भेटिन्छ मेची राजमार्ग। अन्तुबाट छिपिटार १३ किलोमिटर छ। अलिक वरतिर कन्याम चिया बगान घुमौंला भन्ने लागेको थियो तर मौसमले साथ दिएन। फनक्क फर्किएर फिक्कल, कर्फोक, तीनघरे, गोदक, माईखोला हुँदै इलाम बजार पुग्यौं। बिहान ११ बजे हुँदो हो, समिट होटलमा खाना खाइवरी हामी सन्दकपुर ताकेर बाटो लाग्यौं।
बिब्ल्याँटेबाट माईपोखरीसम्मको यात्रा सहजै लाग्यो। त्यहाँ पुग्दा दिउँसो २ बजेको थियो। १५–१६ वर्षपछि फेरि माईपोखरी घुम्ने मौका मिल्यो। पोखरी दर्शन गरिरहँदा पुष्पा र निनामहाङसँग फेसबुकमा कुराकानी भयो। उनीहरूलाई फेसबुकबाटै माईपोखरी दर्शन गराएँ। माईपोखरीबाट अलिक पर देउराली नाघेपछि बाटो अप्ठेरो हुँदै गयो। सन्दकपुर गाउँपालिकामा पाइला टेके पनि सन्दकपुरचाहिँ कति बेला पुग्छौं भन्ने टुंगो थिएन। सन्दकपुर पुग्न कति समय लाग्छ ? हामीले स्थानीयवासीलाई सोध्दै गयौं। जति सोधे पनि तीन–चार घण्टाभन्दा कम लाग्छ भन्ने जवाफ आएन। हामी (सुमित्रा राई (लाबुङ) दिदीसहित सञ्चारकर्मीहरू श्रीहरि श्रेष्ठ, किरण मोक्तान, हीरामान तामाङ, रोजबहादुर तामाङका साथ कुमार थोकर र मनोज सुब्बा)मध्ये श्रीहरिजी मात्र सन्दकपुर पुगेका रहेछन्, पैदल यात्रामार्फत। ड्राइभर सदन पनि यो बाटोमा नयाँ थिए। हामी केही इलामकै भए पनि बाटो नयाँ थियो।
जति गुडे पनि माइझुवा गाउँ सकिएन। खोर्सानेटार पुगेपछि स्थानीयवासीले पुल बन्दै गरेकाले बाटो अवरुद्ध रहेको सुनाए। के गर्ने अब ? उनीहरूले नै उपाय सुझाए— नयाँ बाटो जाने।
५–१० मिनेटको दूरी पछि फर्किएर हटियाबाट उकालो लाग्यौं। एउटा बाटो पाँचथरतिर जाँदो रहेछ, अर्कोचाहिँ सन्दकपुर। खोल्सामा डोजरले बाटोको ट्र्याक खोल्दै थियो। दुई–तीन जना झरेर ढुंगा पन्छायौं। त्यसपछि गाडी अघि बढ्यो। पारि भित्तामा नयाँ ट्र्याक रहेछ। त्यस्तो ठाउँमा गाडी चढेर उक्लिनुपर्दा मुटु चिउँचिउँ हुन थाल्यो। सुमित्रा दिदीले ड्राइभरलाई छेउतिर गाडी नलैजान सचेत गर्दै रहिन्। सबैको सातो गएजस्तो हुन थाल्यो। माटो नबसेको ठाउँमा गाडी चढ्नु कम्ता जोखिमपूर्ण होइन। त्यहीमाथि साँघुरो बाटो, टर्निङ पनि गाडी घुमाउनै नपुग्ने रहेछ। भुसभुसे बाटो जसरी तसरी पार गरेर अघि बढ्दै गर्दा हुस्सुले हामीलाई छेक्दै थियो।
मानौं प्रकृतिले हामीलाई घेराबन्दी गर्नु थियो। मनभरि त्रास रहे पनि ठट्टा गर्न छाडेका थिएनौं। रेडपान्डालाई लिएर खुब रमाइलो गर्दै अघि बढ्यौं। कतिपय ठाउँमा त सन्दकपुर छेउछाउ पुगेको आभास भइरह्यो। किनकि, अनकन्टार लेकाली ठाउँले त्यसको झल्को दिइरहेको थियो। कुमारजी त लेक लाग्यो कि क्या हो भन्न थाले। रेला बढी भयो कि क्या हो ? उनी झोक्किँदै पनि थिए। एक–दुई घर आक्कलझुक्कल भेटिन्थे। तर, जति गाडी गुडे पनि गन्तव्यमा पुग्ने छाँट देखिएन। बाटो ओरालो लाग्यो कि शंका लागिहाल्थ्यो। कतै–कतै त बाटै टुंगिएजस्तो पनि लाग्थ्यो। अब सन्दकपुर पुग्न कति समय लाग्ला ? आक्कलझुक्कल भेटिएका मान्छेलाई सोधिरह्यौं। जति सोधे पनि तीन–चार घण्टा भन्ने जवाफ आइरह्यो।
मितेरी चोकछेउ पुरानो बाटो जोडिने रहेछ। चोकभन्दा माथिको ओरालोमा अर्को आपत् आइलाग्यो। चिप्लो बाटो, त्यहीमाथि ओरालो। सुमित्रा दिदीले ड्राइभरलाई गाइड गर्दै रहिन्। इलामे चेली सुमित्रा दिदी बेलायतमा बसोबास गर्दै आएकी छन्। यसपटकको यात्रा अन्तुमा बुद्ध पार्क निर्माणमा केन्द्रित थियो। त्यहाँ पुगेर हामी सन्दकपुरतर्फ मोडिएका थियौं। ड्राइभिङमा जानकार दिदी अगाडि हुँदा हडबडी भने लागेन। दिदीले ड्राइभरलाई सहज रूपमा गाडी चलाउन भनिरहिन्। झन्डै दुई घुम्ती कटेपछि तल खोल्सामा पुरानो बाटो भेटियो। तर, बाटो हो कि होइन भनेजस्तो देख्दा अलमलमा पर्यौं। त्यहाँ योजना सञ्चालनसम्बन्धी बोर्ड रहेछ, त्यसमा रहेको मोबाइल नम्बरमा फोन गर्ने सल्लाह भयो। तर, हामी अन्दाजकै भरमा उकालो लाग्यौं।
कतै–कतै त बाटोमा गाडीले कहिल्यै पाइला नटेकेजस्तो देखिन्थ्यो। त्यही आसपास एक महिलालाई ठाउँको नाम सोध्यौं। रामखर्कसम्म पुगेछौं। माबु पुग्यौं कि भनेको त माइमझुवामै रहेछौं। माबु टेके सन्दकपुर चाँडै पुगिएला भन्ने लागेको थियो। तर, फ्लप खाइयो। सन्दकपुर जाने योजना बनाउँदै गर्दा मैले पत्रकार मित्र विप्लव भट्टराईलाई बाटोबारे सोधेको थिएँ। उनले पनि ३–४ घण्टा लाग्छ भनेका थिए। उनले बिब्ल्याँटेका गाडीवालाको फोन नम्बर दिएका थिए। तर, फोन स्विच अफ भन्यो। तब अन्तुबाट आएकै गाडी लिएर हामी हिँडेका थियौं। एक–दुई ठाउँमा सोलिङ बाटो भेट्दा साथीहरूले थपडी बजाए। लाग्यो, अब सजिलै सन्दकपुर पुगिन्छ। तर, थपडीको आवाज सेलाउन नपाउँदै फेरि जर्जर सडक। बरु गाडी ठेलेर अघि बढ्नुपर्ने अवस्था रहेछ।
अब त इलामका डाँडापाखा तल–तल देखिन थाले। कतै–कतै भुइँकुहिरो देखिन्थ्यो। हामी निकै उचाइमा पुग्यौं कि भन्ने लाग्न थाल्यो। साँझपख मौसम पनि खुलेको थियो। त्यही दृश्य कैद गर्दै अघि बढ्यौं। पाखामा ठूलो चट्टान रहेछ। त्यो ओडार होला। अलिक मास्तिर भिरालोमा चिप्लो बाटो रहेछ। गाडी ठेल्दा–ठेल्दा हत्तु भयौं। लाग्यो, ब्रेक फुस्कियो भने गाडी धकेल्नेको हालत के होला ? म कसरी किच्चिन्छु ? मनमा कुरा खेल्न थाल्यो। खासमा जिन्दगी नै धरमराइरहेको थियो। गाडी जबर्जस्त ठेलेर अघि बढायौं। गाडीले उछिट्ट्याएको माटो र गाडी गुडेपछि लड्दा लागेको माटोले लुगाको रंग फेरिइसकेको थियो। तब यो बाटो नफर्किने निधोमा पुग्यौं। दिदी र म जसरी भए पनि भारतकै बाटो फर्किने पक्षमा रह्यौं। तर, सन्दकपुर पुग्ने÷नपुग्ने टुंगो थिएन। हामी कहाँ पुगेका छौं भन्ने पनि यकिन थिएन। हामी आँटी हौं कि मूर्ख ? बाटो यकिन नगरी यात्रामा निस्किएछौं। सन्दकपुर रुटबारे कतै सूचना बोर्ड भेटिएन। हामीले नदेखेका हौं कि स्थानीय सरकारले ध्यान नपुर्याएको ? साथीहरूसँग सामान्य जानकारी त लिएकै थियौं। पुग्दो भएनछ।
अरूले गाडी चढेर सन्दकपुर पुगेको बताएपछि हामीले बाटो यस्तो साह्रो अप्ठेरो होला भन्ने कल्पनै गरेनौं। कतिसम्म भने विपरीत दिशाबाट गाडी आए साइड दिने ठाउँ छैन। घुम्तीमा गाडी मोड्न पनि पछि सार्नुपर्छ। हुन त हाम्रा पहाडी बाटाहरू सजिलो त कहाँ छन् र ? सुगम मानिएको इलामका ग्रामीण सडक अधिकांश जीर्ण छन्। मेची राजमार्गले इज्जत धानिदिएको छ। तर, सन्दकपुरजस्तो पर्यटकीय गन्तव्य जाने बाटोको दुरवस्था हेर्दा नरमाइलो लाग्यो। यसमा त संघीय सरकारले ध्यान दिनुपर्ने हो। भारतको बाटो भएर विदेशी पर्यटक त्यहाँ पुग्छन् रे। सूर्याेदयसहित अन्य दृश्यावलोकनका लागि चर्चित ठाउँ पुग्न कसलाई मन नहोला र ? ३ हजार ६ सय ३६ मिटर उचाइको उक्त ठाउँ इलामकै अग्लो हो। नेपालको बाटोबाट गाडी चढेर त्यहाँ पुग्न सकिन्छ भन्ने सुन्दा कम्ता खुसी लागेको थिएन। तर, आफू जाँदा भने बडो कष्ट भयो। सम्भवतः माबुको माटो टेकेपछि हामी उँभो चढ्न सकेनौं।
हामी कालपोखरीनजिक पुग्यौं कि ? तर, हामीले गाडी अघि बढ्न सक्ने देखेनौं। साँझको ५–५ः३० बजेको हुँदो हो, हामी गाडी ठेल्न, तान्न लाग्यौं। पोथ्रापोेथ्री काटेर हिलो छल्ने गरिएको रहेछ। तिनै पोथ्रापोथ्री बाटोमा बिच्यादोएर हामीले पनि गाडी धकेल्यौं। डेग चलेन। पाखातिर सोझियौं। तर, त्यता पनि फ्लप खायौं। त्यसो गर्दागर्दै झमक्क साँझ पर्यो। दिउँसो भए केही उपाय लाग्थ्यो कि ! तल–तल, पर–पर इलामका गाउँघरमा बत्ती बलेको देखिन थाल्यो। माथि पनि झिलिमिली बत्ती बलिरहेको थियो। सायद सन्दकपुर हुनुपर्छ। त्यसो हो भने आँखानजिक थियो, सन्दकपुर। तर, सुन्नमै सीमित भयो। तस्बिर हेर्नुमै सीमित भयो। त्यहाँ पुगेर रमाउन पाएनौं।
पोखराबाट विनयले होटल बुक गरेका थिए। होटलवालाले पर्खिरहे होलान्। सन्दकपुर नेपालतिर ओझेलमै र भारततिर व्यवस्थित रहेको सुनेको थिएँ। त्यो ठाउँ पर्यटकीय गन्तव्य हुनुको फाइदा भारतले लिइरहेको समाचार (भूमि नेपालको, आम्दानी भारतको) अन्नपूर्णमा आफैं सम्पादन गरेको थिएँ। त्यही ठाउँ ताकेर हिँडेका थियौं। तर, हामी अन्तिम अवस्थामा अघि बढ्न नसक्ने निष्कर्षमा पुग्यौं। जबर्जस्ती गरे दुर्घटना बेहोर्नुपर्ने ठम्याइ रह्यो। अब के गर्ने ? अघि बढ्नुभन्दा पछि फर्किनु उत्तम लाग्यो। जोखिम भने उत्तिकै थियो। तर, तत्काल फर्किनुको विकल्प पनि रहेन। पानी परिहाले हामी बाटोमै फस्ने अवस्थामा थियौं।
सन्दकपुर मृगतृष्णा भयो। हामी गन्तव्यमा नपुगी फर्किन बाध्य भयौं। तीन–चार ठाउँमा अब कसरी गुल्टिएला भन्ने पीर मात्र बाँकी रह्यो। लाग्यो अब जिन्दगी भगवान् भरोसामा छ। हामी दुर्घटनामा परेको खबर कहिले अरूले सुन्लान् ? को–को बाँच्छौं होला ? मेरो मनोदशा यस्तो थियो। म लगभग निःशब्द थिएँ। सुमित्रा दिदीको स्वर भासिइसकेको थियो। केही साथी सोक्पाबारे ठट्टा गर्दै थिए। सुमित्रा दिदीले ड्राइभर भाइलाई गाइड गरिरहिन्। जाँदा गाडी चिप्लिएर हल्लिइरहेको थियो, भूकम्पका बेला घर हल्लिएजस्तै गरी। जोबनको आश पनि उसरी नै हल्लियो। कि डर मात्र ठूलो हो ? ठूलो चट्टान भएको ठाउँको ओरालोमा मुटु चिउँचिउँ भयो, जहाँ हामीले ठेलेर गाडी उकालो चढाएका थियौं। गाडी लडेर पाखामा छरपस्ट भइएला कि भन्ने लागेको थियो। तर, जोगिएर झर्यौं। मितेरी चोकभन्दा माथिको उकालोमा झनै बढी डर लागेको थियो। मुस्किलले गाडी उकालो चढ्यो। धन्न गाडीले बल्ड्याङ खाएन। अलिक मास्तिर एउटा घरमा आएर चाउचाउ पाइन्छ कि भनेर सोध्यौं। नपाइने रहेछ। चिया खाएर जान स्थानीयवासीले आग्रह गरे। तर, हामीलाई इलाम सदरमुकाम पुग्न हतारो भइरहेको थियो।
वडाध्यक्षको फोन नम्बर लिएर बाटो लाग्यौं। त्यसपछि जब पहराजस्तो ठाउँको नयाँ ट्र्याकमा आइपुग्यौं तब फेरि मुटु चिउँचिउँ भयो। नयाँ ट्र्याक, त्यसमाथि गाडी घुमाउन टर्निङ नपुग्ने, साँघुरो बाटो, माटो पनि बसिनसकेको, कस्तो भयो होला हाम्रो हालत ? जब केही तेर्सोजस्तो बाटो भेटियो तब त्रास कम भयो। त्यसपछि पूरै नयाँ ट्र्याक केही उकालो थियो। त्यहाँ पनि मुटु चिउँचिउँ भएकै हो। अलिअलि मात्र पानी परेको भए गाडी गुड्न सम्भवै थिएन। यी ठाउँ पार गरेपछि भने हामीलाई ढुक्क भयो। हटियामा बिहे थियो। त्यहाँ आइपुग्दा रातको १० बजेको हुँदो हो, पसले खोजेर चाउचाउ पकाउन लगायौं। हामीलाई नयाँ जीवन पाएजस्तो अनुभूति भइरहेको थियो। रमाइलो गर्दै बस्यौं। स्थानीय केही युवाले हामी फर्किएभन्दा माथि बाटो झनै अप्ठेरो रहेको सुनाए। कसरी पुग्नु त सन्दकपुर ? चाउचाउ खाएर राति ११ बजे हामी ओरालो लाग्यौं।
दिउँसो रमाइलो गर्दै हिँड्दा बाटो कटेको पत्तै भएनछ। राति जति हिँडे पनि माईपोखरी आउँदैन त। ड्राइभरले बाटो भुल्यो कि भन्ने शंका लाग्यो। तर, होइन रहेछ। माइमझुवाका माथिल्लो भेगबाट तल देखिएका ठाउँहरू अब माथि भइसकेका थिए। दिनभरको यात्राले जीउ दुख्न थालिसकेको थियो। बन्दुके प्रहरी चौकी आइपुगेछौं, प्रहरीले सोधीखोजी गरे। जाँदा त प्रहरी छ भन्ने थाहै पाएनौं। रातको १ बजे माईपोखरी आइपुग्यौं। ड्राइभरले निद्राको विष मारेपछि हामी बाटो लाग्यौं। इलाम बजार आइपुग्दा ३ बजेको थियो। समिट होटलमा पसेर थान्को लाग्यौं।
सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष गिरिराज खनालका अनुसार गाडी चढेर सन्दकपुर पुग्न दुई बाटा छन्— सुम्बेक–सुलुबुङ–सानीमाई–माबु र बिब्ल्याँटे–माईपाखेरी–देउराली–माइमझुवा। माइमझुवाको बाटो छोटो पर्छ। बिब्ल्याँटेबाट ४२ किलोमिटर दूरीको सन्दकपुर तीन घण्टामा पुग्न सकिन्छ। देउरालीबाट माईखोलासम्म कुलबहादुर गुरुङ मार्ग नामकरण गरिएको छ। गुरुङ कांग्रेस शीर्ष नेता भने होइनन्। उनी सडक ट्र्याक खोल्ने व्यक्ति रहेछन्। मलाई लागेको थियो, शीर्ष नेताका नामको बाटो यति दयनीय ? कालापानी माईखोलाबाट कालपोखरीसम्म पासाङ तेम्बा शेर्पा मार्ग भनिएको छ। संघीय सरकारले चालू वर्षका लागि यो बाटोमा दुई करोड बजेट छुट्ट्याएको रहेछ। उनका अनुसार बाटो स्तरोन्नतिका लागि तीन खण्डमा काम हुँदै छ।
माईमझुवासम्म २०४२ सालमै सडक पुगेको रहेछ। स्थानीय चुनावपछि सन्दकपुरसम्म जोडियो। कस्तो गाडी चल्न दिने÷नदिने भनेर मापदण्ड भने छैन। दैनिक उपभोग्य वस्तु बोकेका गाडी खोर्सानेटारसम्म जान्छन्। यो बाटोमा पुल निर्माणाधीन रहेकाले हामी नयाँ ट्र्याकबाट जानुपर्यो, जुन हामी गएकै बेला मात्र खुलाइएको रहेछ। यसका लागि यसपटक ५० लाख बजेट छ। अघिल्लो पटक ५० लाख सकियो। हटियाबाट रामखर्कसम्म नौ किलोमिटर दूरी छ।
बाटो जोखिमपूर्ण रहे पनि दुर्घटना नभएको उनले सुनाए। उनका अनुसार यो बाटोमा ल्यान्डरोभर गाडी चल्छन्। सीडीओदेखि पूर्वप्रधानमन्त्री झलनाथ खनालसम्म यही बाटो सन्दकपुर पुगेको उनले सुनाए। ‘आवश्यकताअनुसार चल्नुपर्ने हुँदो रहेछ’, उनले भने, ‘अरू जिल्ला हेर्दा यहाँ टारजस्तो रहेछ भन्ने पाइयो।’ बाह्रै मास सहज रूपमा गाडी चल्ने वातावरण बनाउने योजना स्थानीय तहको छ। यो बाटोमा माईपोखरी, टोड्के झरनालगायत धेरै पर्यटकीय गन्तव्य छन्।
राजा महेन्द्रको कदमविरुद्ध आवाज उठाउँदा सात जना मारिएको सातखाल्डे पनि यही क्षेत्रमा छ। वडाध्यक्षका अनुसार ठूलो ढुंगा भएको क्षेत्रलाई श्रीआंजी भनिँदो रहेछ। कांग्रेस कार्यकर्ताले २०१८ सालमा यही ओडारमा हतियार लुकाएको सुनेको उनले उल्लेख गरे। इलामका अग्रज पत्रकार धीरेन चेम्जोङका अनुसार सीमित व्यक्तिले मात्र यो बाटोमा गाडीबाट सन्दकपुर पुर्याउँछन्। नयाँ ड्राइभर र गाडी लिएर सन्दकपुर जान असम्भवप्रायः छ। त्यो भनेको दुर्घटनाको जोखिमै हो। सडक चाँडै स्तरोन्नति होस्, भारतको बाटो जाने पर्यटक यताबाट ल्याउन सकौं। तीनै तहका सरकारको ध्यान जाओस्। [email protected]