मेराे सिनेमा संसार

मेराे सिनेमा संसार

बाल्यकालदेखि नै मलाई हलमा गएर फिल्म हेर्नु र प्रेम गर्नु दुवै गलत काम हो जस्तो लाग्थ्यो। घरपरिवार र स्कुलले वर्जित जो गरेका थिए। केटाकेटी बेलामा परेका केही छापले मस्तिष्कमा स्थायित्व कायम गरेर बस्ने रहेछन्। फिल्म हेर्नै भनेर कट्टु तान्ने उमेरमा परीक्षै हापेर स्कुलबाट भागेको थिएँ। कुमारी हलको गेटमा पुगेर एक अपरिचित मान्छेको सर्टको बाहुला समातेँ। र, पछिपछि हलभित्र छिरेँ। ‘सम्झना’ नामको फिल्म हेरिभ्याएर घर पुग्दा साँझ झमक्क मात्र भएको थिएन, झन्डैझन्डै रेडियो नेपालबाट ‘बालक हराएको सूचना’मा नाउँ आएर चर्चित कसो नभएको। 

यसर्थ हलमा गएर सिनेमा हेर्न र प्रेम गर्नबाट यथार्थमा आफूलाई जोगाउन नसके पनि यसको गोपनीयताबारे भने सधैं सजग भइयो। कसैले मलाई प्रेमीका रूपमा पाओस् नपाओस्, एक समय हलहरूले भने मलाई नियमित दर्शकका रूपमा राम्रैसित पाइरहे। 

पछि प्रेमिका भइसकेपछि उनलाई लिएर हलमै फिल्म हेर्न गएँ। त्यो बेला मनमा यो विचार मज्जाले आइरहेको थियो, म दुवै गलत काम एकै पटक गरिरहेको छु। यो कुरा अनायास फिल्म हेर्दाहेर्दै बडो भावुक दृश्य आइरहेको बेला दिमागमा आएको थियो, जुन बेला हाँसो रोक्न सकिएन। मेरो पारा देखेर गहभरि आँसु बोकिरहेकी प्रेमिकाले सम्भवतः मेरो व्यक्तित्वमाथि नै प्रश्न गर्ने किसिमको हेराइले हेरेकी हुँदी हुन्। 


२०४७ सालतिरको कुरो हो। घट्टेकुलोमा डेरा गरी बस्थ्यौं। त्यति बेला ‘महाभारत’ नाउँको सिरियल खुबै लोकप्रिय भइरहेको थियो। ‘महाभारत’ हेर्ने लालसा मनमा जति तीव्र थियो, महाभारत देखाउने टेलिभजन भएको घरसम्म पुग्न अर्को महाभारत थियो। ठूलो पानी पर्‍यो भने एउटा भागै छुट्थ्यो। अलिकति बेर भो भने, टीभीधनीको कोठामा पाइलो राख्ने ठाउँ हुन्नथ्यो। ढोकैमा उभिएर हेर्नुपथ्र्यो। म बिचरोको दुःख। एक दिन दाइ, दिदी र ममी मिलेर बालाई भन्यौं, ‘बा, घरमा एउटा टीभी चाहियो।’

‘ए हो’, बाले सजिलै भनिदिनुभो, ‘म भरे बजारबाट आउँदा ल्याइदिउँला।’ बाले यसरी भनिदिनुभो मानौं टीभी होइन, रायोको एक मुठो साग ल्याउने कुरा चल्दै छ। यस्ता धेरै डिमान्ड थिए जसलाई बाले सजिलैसित ‘भइहाल्छ’ भनेर टारिदिनुहुन्थ्यो। र हामी आस नगर्न अभ्यस्त थियौं।
तर बाले अचम्मै गर्नुभो। बेलुकीतिर बडेमानको कार्टुन मरीतरी बोकेर ल्याउँदै गरेको दृश्य कोठाभित्रैबाट देखियो। हामी हत्त न पत्त बाहिर निस्क्यौं। अघिपछि बा आएर कोठामा बसेको समेत वास्ता नगर्ने हामी, त्यस दिन बालाई लिन ढोका खोलेरै बाहिरै निस्क्यौं।
बोक्दा गह्रुँगो भए पनि बाले रायोको साग जसरी सजिलै ल्याएको कुरो, टीभी नै रहेछ।

चौध इन्चको श्यामश्वेत टेलिभिजन। बाले आफ्नो परिवारलाई मात्रै होइन, बु्रनाईका लाहुरे घरबेटी आमै, तिनका परिवार र तमाम टोलछिमेकका लागि ठूलो सरप्राइज दिनुभएको थियो। 
हरेक शनिबार दिउँसो २ बजे हिन्दी फिल्म त्यही बेला प्रसारण हुन थाल्यो। टेलिभिजन पो श्यामश्वेत। खुसीका कति रंग थपिएका थिए, त्यसको कुनै हिसाब होला र ? जम्मा चौध इन्चको टेलिभिजन। त्यसले दिएको उत्साहको कद कति फिटको थियो, कसरी लेखाजोखा गर्न सकिएला र ! बाह्र बजे आउने राष्ट्रिय गान, मूक भाषाको समाचार, वातावरणसम्बन्धी टेलिफिल्म केही नछाडी चाटीचुटी हेरिन्थ्यो। अरू त अरू, सम्पूर्ण कार्यक्रम सकिएपछि आउने झ्यारझ्यार पनि दसपन्ध्र मिनेट मज्जैले हेरिन्थ्यो।

‘आरजू’, ‘आँखे’, ‘गीत’, ‘हमराज’, ‘हमराही’, ‘गज्जब’... हर शनिबार हिन्दी फिल्मले माहोल गुलजार हुन थाल्यो। टीभी कोठाबाहिर दसबाह्र जोर जुत्ताचप्पल थुप्रिएका हुन्थे। अनि कोठाभित्र मधुरो खासखास खुसखुस, अट्टहास हाँसो, गाम्भीर्य फिल्मका घटनाक्रमअनुसार हरेक ओठ, आँखा र हृदयमा बदलिँदै जान्थे। 
हिजोअस्ति हेरेको बीआर चोपराको ‘महाभारत’बाट औपचारिक रूपमा श्रीगणेश गरेको हिन्दी भाषाको ज्ञानलाई हर शनिबारको हिन्दी फिल्मले झन् बिस्तार गरिदिँदै लग्यो।
स्कुलमा भर्खर सिकेको हिन्दी भाषाको खुब प्रदर्शन गथ्र्यौं। हिन्दी नजान्ने अलिक ‘ग्वाँच’ कहलियो।

जिन्दगी सुन्दर लाग्न थाल्यो। यसकारणले कि जिन्दगीमा हप्तामा एक दिन शनिबार आउँथ्यो। किनकि त्यही शनिबारको दिनमा दिउँसो दुई बजेदेखि पाँच बजेसम्मको समय पनि हुन्थ्यो। सारा हप्ता जति दुःख खेपूँ, जति गाली खाऊँ, कुटाइ खाऊँ, जाँचमा फेल होऊँ या अर्थोक केही होस्। तर त्यो एक दिनको तीनघण्टे समयलाई म पूरा जिउँथेँ। फिल्म हेर्न पाउनु नै ठूलो कुरा। मेरा रुचि र अरुचिहरू छुट्टिएका थिएनन्। राम्रो र नराम्रो भन्ने चीजको कित्ताकाट गरिसक्न पाएको थिइनँ। मेरो जिब्रो मीठो र नमीठोको स्वादमा पल्कन जानेको थिएन। 
एउटा फिल्म, जहाँ हिरो भन्ने बहादुर प्राणी कोही होस्। जसले हिरोइन भन्ने सुन्दर कसैलाई प्रेम गरोस्। भिलेन भनाउँदो डरलाग्दो तर हिरोलाई जित्न नसक्ने फटाहा कोही होस्। हिरोहिरोइनका बाआमा भए पनि होस्, नभए पनि होस्। केही श्रुतिमधुर गीत होस्। र, सकेसम्म टन्न फाइट। यति भए बेस। 
अँ फाइटचाहिँ टन्नै होस्। स्कुलमा कुनै साथी आफूले डेक (भीसीआर)मा फिल्म हेरेको बताउँदा हामी सोध्थ्यौं, ‘फाइट कति थियो ? ’

अनि कहिलेकाहीँ लामो छुट्टीका बेला घरमै डेक भाडामा ल्याएर केही फिल्म हेर्ने सल्लाह हुन्थ्यो। भीसीआर भाडामा पाइने पसलमा फिल्म माग्दा पक्कै भनिन्थ्यो, ‘सबैभन्दा धेरै फाइट भएको फिल्म दिनुस्।’ धर्मेन्द्र, मिथुन र शत्रुघ्न सिन्हाका फिल्महरू रोजाइमा बढी पर्थे।अनि सबैभन्दा मन पर्ने हिरो तिनै भए जसले भिलेनलाई सबैभन्दा धेरै गोदे। सबैभन्दा मन नपर्ने भिलेन तिनै भए जसले हिरो र उसको परिवार वा निर्धा जनतामाथि धेरै जुलुम गरे। 

हर सिनेमागामीको सपनाझैं सपनाको एउटा टुसो उतिबेलै मभित्र पनि पलाइछाड्यो— सपना हिरो बन्ने। हिरो बन्ने गन्तव्यसम्म पुग्न अलिकति बाटो खनेँ पनि। रेडियो नेपालमा कैयौं नाटक खेलेँ। हातेमालो कार्यक्रमको केही इपिसोडमा सञ्चालक भइटोपलेँ। टेलिभिजनमा उति बेलाको भाइरल कार्यक्रम ‘टाक्क टुक्क’का केही एपिसोडमा बाल कलाकारको हैसियतले आफ्नो अनुहार देखाएर केही दिनलाई सेलेब्रेटी पनि भएँ। तर हिरो बन्ने महाअभियान भने यात्रामा भेटिएका साथीहरू यात्राकै दौरानमा छुटेझैं कतै छुटिगए। त्यो सपना अब्दुल कलामले भनेझैं निदाउन नदिने सपना बन्न सकेन। यदाकदा निदाएपछि निद्रामै झस्काइरहने, लोभ्याइरहने खुद्राखाद्री सपनामा मात्र सीमित रह्यो।
हिरो बन्ने सपनालाई कतै थान्को लगाए पनि मभित्रको दर्शक जुर्मुराइरह्यो। 

एसएलसी दिन मैतीदेवीस्थित सूर्योदय स्कुलको होस्टल बसेको थिएँ। एक जना साथीले हामी चारपाँच केटाहरू भेला पारेर भन्यो, ‘आज फिल्म हेर्न जाऔं।’
हामीले आपसका आँखा र आफ्ना गोजी एकै पटक छाम्यौं। र अभावको एकएक थान सुस्केरा फ्याँक्यौं। 
साथीले फेरि उत्साहित हुँदै भन्यो, ‘म तिमीहरूलाई फोकटमा फिल्म हेराउँछु।’

गोजी रित्तो भए पनि मुखमा र्‍याल भरियो। मानौं ‘फोकट’ शब्द एउटा मीठो खाने कुराको नाउँ हो। होस्टलबाट भागेर हामी मनकामना हलतिर गयौं। साथीले अनामनगरतिर पुगेपछि भन्यो, ‘पैसा त मसित पनि छैन। तर मैले त्यहाँ राजु दाइलाई चिनेको छु।’साथीले आफ्नै गोजीबाट पैसा हालेर फिल्म हेराउला भन्ने सोचिएको थियो। अब भने हामी अलिक सशंकित भयौं। राजु दाइको अस्तित्व, सहयोग, नियतबारे सन्दिग्ध भयौं। होस्टलबाट भागेर निस्कँदाको हात्ती जत्रो आश उसको कुरा सुनिसकेपछि छावा भइगयो।एउटा जुँगे मान्छे हलको गेटमा टिकट लिएर भित्र मान्छे छिराइरहेको थियो। सब मान्छे भटाभट भित्र छिरिरहेका दृश्य ईष्र्यालु भएर हेरिरह्यौं।हलभित्र छिर्ने गेटमा उसको पछि लागिरहेको हामीलाई भने कर्मचारीले भित्र छिर्नबाट रोक्यो। र बडो हेयका दृष्टिले हेर्दै सोध्यो, ‘टिकट खोइ ? ’ त्यो साथीबाहेक हामी सबै खुम्चियौं।
साथीले छाती फुलाउँदै भन्यो, ‘म राजु दाइको भाइ हुँ, दाइलाई बोलाइदिनुस्।’

कर्मचारीले केही प्रतिवाद नगरी हामीलाई भित्र जाने अनुमति दियो। हामी बडो प्रफुल्ल भयौं। ‘राजु दाइको जय’ भन्ने भाव मनभित्र गुन्जियो। ‘राजु दाइ’लाई चिनेको उसले थियो। तर उनी हामीलाई पनि साक्खै लागे। नदेखे पनि, नचिने पनि अन्नदाता भनेझैं मनोरञ्जनदाता भए। साथीले धेरै पछि कुरा खोल्यो कि राजु भन्ने मान्छेलाई ऊ आफैंले पनि देखेभेटेको छैन। ऊ पनि कोही अर्को साथीको लहैलहैमा लागेर यसैगरी राजु दाइको नाउँ लिएर भित्र छिरेको हामीलाई बताउँथ्यो।

यतिसम्म चाहिँ ज्ञान भयो कि राजु भन्ने एउटा कोही थियो जसका बारेमा उसले थाहासम्म पाएको थियो। जसको नाउँ लिनु मात्र पनि हलभित्र छिर्न पाउने टिकटसमान थियो। 
होस्टेल बसुन्जेल राजु दाइ खुब काम आए। सन् १९९७ मा होस्टल बसेकै बेला हामीले दिल तो पागल है, इतिहास, परदेश, इश्क, गुलाम–ए–मुस्तफा, होते होते प्यार होगयालगायत थुप्रै फिल्म हेर्‍यौं। 

कथा १२ मा पढ्दा पनि एउटा त्यस्तै साथी निस्क्यो, जसले एकजना ‘दाइ’ गोपीकृष्ण हलमा चिनेको बताउँथ्यो। सुविधाका लागि ती दाइको नाउँ ‘हरि’, वा ‘गोपाल’ राखिदिऊँ। ‘गोपाल’ भनूँ न अझ। नसम्झेपछि जे राखिदिए पनि त भो। हिसाबका कुनै पत्तो नलागेको चीजलाई एक्स वा वाई राखिदिएझैं। अतः मित्रले ‘गोपाल दाइ’को नाउँ लिएर शुक्रबार शुक्रबार हामीलाई थुप्रै फिल्म देखाए। हाफ टाइममा भागेर निस्कन अलिक सजिलै थियो। आठदस जनाको टोली नै हुन्थ्यो। यो सन् २००१ सालको कुरा हो। दुई वर्ष मेरो पढाइ लस भएको थियो। त्यसको कारण म यो संस्मरणमा खुलाउँदिनँ। 

त्यो साल पनि लगान, गदर, कभी खुसी कभी गम, दिवानापन, तेरा मेरा साथ रहेँ, दिल चाहता है जस्ता सिनेमा मुफ्तमा हेर्न पाइयो। मैले जीवनकै सबैभन्दा धेरै फिल्म गोपीकृष्ण हलमा हेरेँ। मेरो घर कपन भएकाले बीस मिनेटको हिँडाइमै पुगिन्थ्यो गोपीकृष्ण। म हरेकजसो शुक्रबार खाना खाइवरी एघार बजेको सो भ्याउन गोपीकृष्ण हाजिर हुन्थेँ। पैसाको समस्या थियो। तर पनि आमाले डसनामुनि लुकाएका नोट र बाले फुकालेर राखेका कोटहरू, मेरो चोर दिमागको नजरभित्र परिजान्थे। 
टिकट काटिरहेका बेला वा हलबाट छुटेर गेटबाट बाहिर निस्कँदै गरेको अवस्थामा बा, आमा, दाजु, दिदी वा अन्य चिनारु गेटैमा भेटिन्छन् कि भन्नेमा भने त्रस्त रहन्थेँ र हलुका मुख छोपेर 
निस्किरहेको हुन्थेँ। 

यस्तो अनुभव भए पनि मलाई निकै पछिसम्म गोपीकृष्ण हलबाट बस वा बाइकमा गुज्रिँदा मन्दिर अगाडिबाट गुज्रेसरी भाव आउँथ्यो। र, दाहिने हात छातीसम्म पुग्थ्यो। तर निधारमा चाहिँ पुगिहाल्दैनथ्यो। मनमा ढोग्नुपर्छ भन्ने भाव आउँथ्यो। तर ढोगीचाहिँ हाल्दिनथेँ। हलहरू अहिले पनि मलाई बडो सुन्दर र पवित्र ठाउँ लाग्छन्। ‘चलचित्र मन्दिर’ पनि त्यसै भनिएको होइन होला। 

त्यसो त किशोर वयमा थुप्रै हल चहारियो। म हरेक बिहानी कुन हलमा कुन फिल्म चलिरहेको छ भन्ने जान्न मात्र पत्रिका हेर्थें। कहिलेकाहीँ स्कुल बिदा भएको दिन फिल्मका पोस्टरै मात्र हेर्न भए पनि विभिन्न हल चहार्थें। पुराना र नयाँ आउँदै गरेका फिल्मका पोस्टरहरू मात्रै हेर्दा पनि पूरै फिल्म हेरेको एक चौथाइ बराबरको आनन्द म लिन्थेँ। 
फिल्म वा फिल्मको पोस्टर हेरेर आनन्द लिने काम म काठमाडौं मात्र होइन, काठमाडौंबाहिर गएको बेला पनि गर्थें। चाहे त्यो बिर्तामोडको उर्वशी, अन्नपूर्ण वा शिव हल होस्, चाहे विराटनगरको जलजला वा हिमालयन हल होस्, भैरहवाको सिद्धार्थ सिनेमा हल होस्, भद्रपुरको जवाहर टाकिज होस् अथवा धुलाबारीको तृष्णा चलचित्र मन्दिर होस्। जुन सहर छिर्‍यो त्याँ के कति सिनेमा हल छन्, बुझिहाल्थेँ। र, त्यहाँ कतिवटा हल छन्, त्यसैका आधारमा मेरो बसाइ लामो हुने वा छोटो हुने तय हुन सक्थ्यो।

बाल्यकालमा भृकुटीमण्डपको हाइभिजन हलमा हेरेका फिल्मका पनि धमिला सम्झना छन्। अजिमा स्वयम्भू होस् या निश्चल सोह्रखुट्टे, रञ्जना न्युरोड होस् या पृथ्वी बौद्ध, शिवदर्शन बानेश्वर होस्, हीरारत्न कालोपुल वा तारा हल सिनामंगल वा अष्टनारायाण बाइपास, गुण ग्वार्को, अशोक पाटन, कहाँ पुगिनँ र फिल्म हेर्नै भनेर। हेर्ने फिल्म पनि हेरियो, हेर्न नहुने फिल्म त झनै छानीछानी हेरियो। एक टिकटमा दुई फिल्म भनेर विज्ञापन गरिएका फिल्म त हेर्न जानै पर्दैनथ्यो, ती फिल्मले आफैं हलसम्म तानेरै छाड्थे। 

आपत्तिजनक र उच्छृंखल पोस्टरले जति त खानहरू वा अजय देवगन, अक्षय कुमारका फिल्मले पनि तानेनन्। कतिपय सिंगो फिल्ममा पोस्टरमा देखाइएको आपत्तिजनक सिन खोज्दाखोज्दै फिल्म सकिन्थ्यो र निराश भएर फर्किनुपथ्र्यो। तर फेरि त्यसैगरी अर्को हलमा अर्कै फिल्ममा पोस्टरबमोजिमको सिन खोज्ने सिलसिला लामै समयसम्म टुंगिएन। 
कुनै हलमा भने साधारण फिल्ममा, जस्तो कि एउटा सम्झना छ मलाई, दीप्ति नवलको असीको दशकको फिल्म थियो त्यो, बीचबीचमा पोर्न सिनहरू घुसाइदिएका थिए। ती सिनहरूमा रमाउनु वा उत्तेजित महसुस गर्नुको साटो मेरो सातो उडिरहेको थियो। फिल्म नसकिउन्जेल लागिरह्यो, कुनै पनि बेला एक हूल प्रहरी छिर्नेछन् र सम्पूर्ण दर्शकलाई गिरफ्तार गरेर लैजानेछन्। फिल्म हेरुन्जेल मेरा ध्यान पर्दाभन्दा बढी ढोकामा पुगेको थियो। त्यसपछि मैले त्यो कोटीको फिल्म, कम से कम हलमा गएर चौहिँ हेर्न छाडिदिएँ।

उमेर बढ्दै गएपछि फिल्मका स्वाद पनि फेरिँदै जान थाले। जानराहरू रोमान्टिक मात्र सीमित नभएर थ्रिलर, क्राइम, सस्पेन्स, ड्रामा, हरर, कमेडी, साइफाइ, वार, पिरियड, कमिङ अफ एज, नियो नोयर, आदिमा फैलन थाल्यो। नेपाली र बलिउड अनि गिनेचुने अंग्रेजी फिल्ममा मात्र सीमित भइनँ। 

सुरज बड्जात्या, करन जोहर, आदित्य चोपरा र सुभाष घई मार्काका फिल्मले एक समयमा जुन सन्तुष्टि दियो, त्यो सन्तुष्टि आफ्नो अनुभवको गर्तमा सुरक्षित छ। बेलाबेलामा सेट म्याक्स र जिसिनेमामा आएको बेला, दुईचार सिनहरू हेरेर ती फिल्मसितै गाँसिएका अनुभवलाई मस्तिष्कमा पुनः ताजा गराउनुमा पनि छुट्टै रमाइलो छ।
यिनीहरूको फिल्म हेरेर रोएँ, हाँसेँ। प्रेम र सम्बन्धका एबीसीडी पनि त्यहीँबाट सिकेँ। फिल्मप्रतिको मोह यिनैका फिल्मले झनै बढाइदियो। 

टुट्दै गरेको तारालाई धरतीमा भएका हिरो हिरोइनले आकाशतिर हेरी केही कुरा मागेको दृश्यमा पनि रमाइयो। झरेका परेलीलाई हातमा राखी फुकेर उडाउँदा मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासको विश्वास पनि गरियो। हिरोइनलाई जाडो हुँदा हिरोले पछाडिबाट आफ्नो ज्याकेट खोलेर लगाइदिने दृश्य ‘हाउ रोमान्टिक’ भन्दै पनि हेरियो। ज्याकेट थियो तर प्रेमिका थिइनन्। त्यसको पीडा आफ्नै 
ठाउँमा छ। 

तर मलाई बलिउडमा सबैभन्दा मन पर्ने फिल्ममेकर वासु चटर्जी, हृषीकेश मुखर्जी र गुलजार। अरूका फिल्म मैले हेरेँ। तर यिनीहरूका फिल्म मैले पढेँ। अझै पढ्दै छु। 
गुलजारले निर्देशन गरेका ‘परिचय’, ‘खुस्बु’, ‘किताब’, ‘इजाजत’, ‘नमकिन’लगायत फिल्म सुन्दर काव्य जस्तो लाग्छन्; जो बेलाबेलामा पढिरहन्छु। अनि सधैं पढिरहूँ लाग्ने, आँखा छचल्किरहने शेखर कपुर निर्देशित गुलजारको स्क्रिनप्ले भएको फिल्म हो— सन् १९८३ को मासुम। त्यसो त मासुमलाई एरिक सेगलको उपन्यास म्यान, वुम्यान एन्ड चाइल्डमा आधारित भएर लेखिएको पटकथा भनिन्छ। तर यो मेरो नजरमा सार्वकालिक श्रेष्ठ फिल्म हो।

वासु चटर्जीका अधिकांश फिल्म हेर्दा ओठबाट मन्द मुस्कान छुटिरहेको हुन्छ। अमोल पालेकरको छोटी सी बातजस्तो बडिया फिल्म बलिउडमा कमै मात्र लाग्छन्। रजनीगन्धा, बातोँ बातोँ मै, चितचोर अथवा अशोक कुमार एके हंगल्स र उत्पल दत्तको सौखिन्स अनि अशोक कुमारकै खट्टा मीठा, धर्मेन्द्र र हेमा मालिनीको दिल्लगी अनि अनिल धवन, जया भादुरीको पिया का घर चटर्जीका कमेडी जानराका उम्दा फिल्म लाग्छन् मलाई। चटर्जीकै फिल्म स्वामी र अपने पराये भने गम्भीर र बेजोड लाग्छन्।

हृषीकेश मुखर्जीको आनन्दले जति रुवाउँछ, आशीर्वादले भावुक बनाउँछ, चुपके चुपके र गोलमाल, किसी से ना केहेना, रंगबिरंगी, नरम गरमले उति नै हसाउँछन्। अभिमान र गुड्डी जस्ता सफ्ट ड्रामा पनि बनाउँछन् मुखर्जी। अर्कातिर उनी सरल, सामान्य र मनोरञ्जनात्मक कथाभित्र उनेर खुबसुरत र बावर्ची जस्तो दार्शनिक र सन्देशमूलक फिल्म पनि बनाउँछन्। 
अनि सत्तरीअसीको दशकले जन्माएको दुई जना कलाकार निकै शक्तिशाली लाग्छन् मलाई। आज पनि म तिनका फिल्म पटकपटक हेर्छु। मुस्कुराउँदै। 

केही सिक्छु। अलिकति भावुक पनि हुन्छु। र समग्रमा तृप्त हुन्छु। ती दुई कलाकार हुन् अमोल पालेकर र फारुक सेख। फारुकका चस्मे बद्दुर, कथा, किसी से ना केहेना, साथ साथ, रंगी बिरंगी र २०१३ को लिसन अमाया मेरा मन पर्ने सिनेमा हुन्। बलिउडको अनुहार बिस्तारै फेरिँदै गएको छ। अधिकांश मसला फिल्ममा रमाउने बलिउड दर्शक आजकाल कन्टेन्टमा कन्सियस देखिन्छन्। कलाकारको अनुहारलाई भन्दा कथालाई आधार मानेर दर्शहरू हलसम्म जान थालेका छन्।

ठूला स्टार नभए पनि धेरै राम्रो र कम बजेटका थुप्रै फिल्म छन्, जसले कम से कम म जस्तो दर्शकको मनचाहिँ मज्जाले जितेको छ। यिनैमध्ये मलाई मन पर्ने पार्चेड, भेजा फ्राई, फस गए रे ओबामा, दो दुनी चार, पान सिंह तोमर, डेली बेली, मसान, आँखो देखी, द डेथ इन अ गन्ज, आय यम कलाम, रेनकोट, मनोरमा सिक्स फिट अन्डर, तेरे बिन लादेन, चलो दिल्ली, उडान, दम लगा के हैसा, खोसला का घोसला, एक चालीस की लास्ट लोकल, इङलस विङलस, बबल गम, कारवाँ, रात गई बात गई, फ्याटसो, मदारी, तेरे मेरे फेरे, स्ट्रेट, अंकुर अरोरा मर्डर केश, एन यच १०, सेफ आदि। 

हलिउड फिल्मसित साइनो गाँसिएको धेरै भएको छैन। इतिहासलाई पस्कने, सम्बन्धहरूका आयाम केलाउने, विज्ञानलाई प्रस्तुत गर्ने, थ्रिल दिने, स्वैरकल्पना देखाउने कुराहरूमा हलिउड अगाडि छ। तर मलाई हलिउडका रोमान्सहरूले चाहिँ कमै छुन्छन्। बरु बलिउडका अनि साउथका, कोरियन र केही नेपाली फिल्मको रोमान्सले धेरै छोएको छ। 
केही वर्षयता नबिर्सिऊँ भनेर हेरेका हलिउड, कोरियन, फ्रेन्च स्पेनिस आदि फिल्महरूको नाउँ टिपेर राख्ने गरेको छु। कुनै पनि फिल्म हेर्दा आईएमडीबी (इन्टरनेट मुभी डाटाबेस) रेटिङ हेरेर अनि अलिकति सिनोप्सिस पढेर मात्र फिल्म हेर्ने गरेको छु। र हेरिसकेको फिल्मले आफूलाई पारेको प्रभावका आधारमा त्यसलाई आफैंले रेटिङ गर्ने गरेको छु। जस्तो कि— ब्रुकलिन–८, ब्याडल्यान्डस–७, गन विथ द विन्ड–७.५, द हेल्प–९ आदि। भोलिपर्सि, कुनै फिल्म दोहोर्‍याएर हेर्नुपर्दा आफैंले गरेको रेटिङका आधारमा फिल्म छान्न सजिलो हुने सुविधा पनि रहने भो। 

हलिउड फिल्मको कुरा गर्दा मैले सबैभन्दा माथि नाउँ राख्ने फिल्ममेकरको नाउँ हो— अल्फ्रड हिचकक। ‘साइको’बाट हेर्न सुरु गरेको उनको फिल्मको सिलसिला ‘भर्टिगो’, ‘रियर विन्डोज’, ‘स्ट्रेन्जर्स इन अ ट्रेन’ हुँदै ‘रेबेका, ‘नोटोरिअस’, ‘टु क्याच अ थिफ’, ‘द बर्ड्स’, ‘नर्थ बाई नर्थवेस्ट’, ‘डायल एम फर मर्डर’, ‘मार्नी’ ‘रोप’सम्म पुग्यो। यीभन्दा बाहेकका फिल्म अनलाइनमा उपलब्ध नभएकाले हेर्न पाइएको छैन। उनका फिल्म हेरेर उनको कति फ्यान भएँ भने सिड्नी भ्रमणमा निस्कँदा म्याडम तुस्साडमा उनको मैनको स्ट्याच्यु देख्नासाथ टाँस्सिएर एउटा फोटो खिचिहालेँ। 

भर्टिगो, रोप र रिअर विन्डो हेरेर जेम्स स्टेवार्टको फ्यान भएँ। उनको बडी ल्यांग्वेज, अभिनय, मुस्कान सब थोक मन पर्‍यो। उनले ‘इट्स अ वन्डरफुल लाइफ’मा गएर धेरै ठूलो प्रभाव पारे। म बाँच्नुको अर्थ बेकार छ भन्नेका लागि यो फिल्म सुन्दर जवाफ हुन सक्छ। एक समय म नभएको भए के हुन्थ्यो भनेर आफैंलाई प्रश्न गरेँ। इट्स अ वन्डरफुल लाइफमा जस्तै नतिजा खोज्दै बसेँ। हो रहेछ। म नभएको भए, धेरै थोक हुन्थेनन्। धेरै घटना हुन्थेनन्। 
यो फिल्मले जति गहिराइमा गएर सोच्न बनाउने कमै फिल्म भेट्छु म। 

मलाई सबैभन्दा मन पर्ने जानरा हो यात्रा। टायम ट्राभल होइन। त्यसो त टायम ट्राभल मुभी पनि खुब मन पर्छन्। तर ट्राभल मुभी भनेपछि म हुरुक्कै। मलाई मन परेका फिल्महरू द वे, वाई तु मामा ताम्बेन, ट्र्याक्स, वाइल्ड, द बिच, लिटल मिस सनसाइन, द दार्जिलिङ लिमिटेड, आउट अफ अफ्रिका, विकी क्रिस्टिना बार्सिलोना, अन्डर द टस्कान सन, अ गुड इयर, द वे ब्याक आदि हुन्। अन्डर द टस्कान सन हेरेपछि महिना दिन इटाली गएर बस्ने धोको पालेको छु। आईएमडीबी रेटिङ अलिक कमै भए पनि मेरा लागि यो धेरै नै राम्रो फिल्म हो। हर सिजनमा हेर्छु, मुस्कुराउँछु र हलुका इमोसनल पनि हुन्छु। 

यी फिल्महरूले यात्रा नगरे पनि यात्राको आनन्द दिनेमात्र होइन, केही कुराहरू पक्कै सिकाउँछन्। कम से कम मलाई सिकाएका छन्। यी फिल्महरू हेर्नेभन्दा पनि पढ्ने फिल्महरू हुन् जस्तो लाग्छ। बलिउडकै जोया अख्तर निर्देशित जिन्दगी ना मिलेगी दोबारा र दिल धडकने दो पनि मैले पटकपटक हेर्ने फिल्मको सूचीमा पर्छन्।
सम्बन्धहरूका आयाम बुझाउने फिल्महरूमा सिनेमा प्याराडिसो, सेकेन्डह्यान्ड लायन्स, द डिसेनडेन्ट्स, द इन्टचेबल्स, ब्लु इज द वार्मेस्ट कलर, कल मी बाई योर नेम, चिल्ड्रेन अफ हेभेन, द कलर अफ प्याराडाइज्, द बोइ इन अ स्ट्राइप्ड पाइजामाज्, रोमा पर्छन्। 

प्रेरणादायी फिल्महरूमा अक्टुबर स्काई, द थेउरी अफ एभ्रिथिङ, १२७ आवर्स, द किङ्स स्पिच, टु किल अ मकिङबर्ड, क्याप्टेन फेन्टास्टिक, होटल रुवान्डा, द इमिटेसन गेम, द ब्लाइन्ड साइड, बुक थिफ आदि। हर फिल्मले प्रेरणा दिन्छन्। ऊर्जा दिन्छन्। म दुःखी भएँ भने झोक्र्याएर बस्दिनँ। यस्तै कुनै फिल्म खोजेर हेर्छु। तिनले मभित्रको दुःखको तुवाँलोलाई फटाइदिन्छन् जसले आफैंले आफैंलाई स्पष्ट र सुन्दर स्वरूपमा देख्न पाउँछु। 

मलाई अर्को रुचि भएको विधामा दोस्रो विश्वयुद्ध पनि पर्छ। दोस्रो विश्वयुद्ध र योसँग सम्बन्धी फिल्महरू जस्तै द ग्रेट इस्केप, ब्ल्याक बुक, द काउन्टरफिटर्स, एनिमी एट द गेट्स, एटोन्मेन्ट, ह्याकस रिज, डाउनफल, एलाइड, ट्रेन अफ लाइफ आदि मेरा मनमा बसेका फिल्म मात्र हुन्। यस्तै फिल्म लगातार हेरिरहँदा एकपटक हिटलर सपनामा आएर तर्साएको समेत थियो।

अनि अन्त्यमा, साउथ इन्डियन फिल्म नहेर्ने आजकाल को होला ? तर म साउथका चल्तीका तामिल र तेलगु एक्सन फिल्म जो ट्रेन्डिङमा परिहाल्छन्, ती फिल्म हत्तपत्त हेर्दिनँ। हेरे पनि आईएमडीबी रेटिङ हेरर मात्र। मलाई साउथमा पनि मलयालम फिल्म बढी मन पर्छन्। मलायली एक्टर निभिन पउली, मोहनलाल, दलकिर सलमान, पृथ्वीराज मेरा मन पर्ने कलाकार हुन्। तामिल र तेलगुका पनि अलिक फरक स्वादका फिल्महरू हेर्ने गर्छु। प्रेमम, उस्ताद होटल, ओह्म शान्ति ओशाना, हे जुड, ओप्पम, एन्नु निन्ते मोइदन, कञ्चरपालेम, जोसेफ, एन्ते उम्मान्ते पेरु मेरा मन पर्ने फिल्म हुन्।

विदेशी भाषाका जति नै सुकै फिल्म हेरे पनि वासुदेव, साइनो, लाहुरे, नुमाफुङ, दक्षिणा, झोला, प्रेमपिण्ड, वसन्ती, बलिदान जस्ता मीठा नेपाली फिल्मको स्वाद जिब्रोबाट कहिल्यै हराउन सक्दैनन्। यी त्यस्ता फिल्म हुन्, जो बाहिरफेरका रेस्टुरेन्टमा चहारेर जतिसुकै व्यञ्जन खाए पनि कहिलेकाहीँ घरमै भुलुक्क उमालेर खाएको गुन्द्रुक र सिन्कीसित खाएको एक थाल भातको स्वाद जस्तै हो। 

राम्रा त अरू पनि थुप्रै नेपाली फिल्म छन्। तर यी बिर्सन नसकिने फिल्न हुन्। प्राविधिक रूपमा अझै बाहिरका सिनेमासित स्पर्धा गर्न नसके पनि विषयवस्तुका आधारमा नेपालमा थुप्रै अब्बल फिल्म बनेका छन्। हाम्रो माटोमा धान, गहुँ, मकै, फापर, कोदो मात्र होइन; असंख्य अनगिन्ती कथाहरू पनि निरन्तर फलिरहन्छन्, टिप्न जान्ने पटकथा लेखक र निर्देशक, निर्माताको अभाव मात्र हो। 
०००
हरेक जिब्रोका स्वाद फरक हुन्छन्। माथि उल्लेख गरिएका फिल्म, तिनका जानरा र फिल्ममेकरहरू मेरो रुचि र स्वादका हुन्। केही फिल्म यस्ता हुन्छन् जो एउटा उमेरमा र मुडमा मन पर्छन्। केही फिल्म हुन्छन्, जो हर मुड, हर उमेरमा मन पर्छन्।हेरेका अनेक फिल्ममध्ये यी कुनै न कुनै रूपमा मेरो मन छोएका फिल्महरू हुन्। सिनेमाहरूको सिंगो आकाशमा मेरा आँखाले देखेका केही चम्किला तारा जस्तै सिनेमालाई गन्ने प्रयासमात्र गरेको हुँ। कतिपय फिल्म हेर्‍यो अनि बिर्सियो हुन्छन्। तिनका सम्झना चौबीस घण्टासम्म पनि रहन पाउँदैनन्। यी फिल्म भने मैले दोहोर्‍याई तेहेर्‍याई हेरिरहने फिल्म हुन्। 

कति किताबले दिन नसकेको ज्ञान फिल्महरूले सिकाए। बुझ्न नसकेका सम्बन्धका कति आयामहरू फिल्मले नै बुझायो। दुःख परेका बेलामा फिल्म हेरेँ, अलिकति मल्हम लगायो। खुसी भएका बेलामा फिल्म हेरेँ, खुसीका अझै अरू स्वरूपहरूसित साक्षात्कार गरायो। निद्रा नलागेका बेला हेरेँ फिल्महरू, मीठो निद्रा दिलायो। एक्लो महसुस गरेका दिनहरूमा साथी बन्दै कैयौं फिल्म काँधमा हात राख्दै हाँस्दै, मुस्कुराउँदै आयो।

म कैयौं नातागोता, इष्टमित्र, साथीभाइ, प्रेमिका, गुरु आदि फिल्मकै पात्रहरूमा भेट्टाउँथेँ। म रुन्थेँ, फिल्मका भावुक दृश्यहरूमा। र त्यो रुवाइले जति तृप्ति केहीले नदिए जस्तो लाग्थ्यो। म हाँस्थेँ फिल्मका दृश्यहरूमा। र त्यो हँसाइ जो वास्तविकतामा यत्तिकै सजलै उपलब्ध हुँदैनथ्यो ! म नगएका कति ठाउँमा फिल्मले नै पुर्‍यायो। विगतमा पुर्‍यायो फिल्मले नै। आगतमा टेकायो फिल्मले नै। म पुग्नै नसक्ने युगमा पनि फिल्मले नै पुर्‍यायो। मलाई कल्पना गर्न सक्ने सामथ्र्य पनि फिल्मले नै दिलायो। प्रश्न गर्न सिकायो फिल्मले। जवाफको लालसा रसायो मस्तिष्कमा फिल्मको कारणले नै। मेरो जीवनमा फिल्म नहुने हो भने म आफूलाई कति एक्लो र असहाय ठान्नेछु, त्यो भयावह स्थितिको कल्पना पनि गर्न सक्दिनँ।
@subinbhattarai1समर लभ, साया, प्रिय सुफीजस्ता चर्चित आख्यानका लेखक हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.