ओखलढुंगाका २२ बस्ती पहिरोको उच्च जोखिममा

ओखलढुंगाका २२ बस्ती पहिरोको उच्च जोखिममा

ओखलढुंगा : सिद्धिचरण नगरपालिका वडा नं. ८ का सल्लेरीका रामबहादुर गुरुङ वर्षा सुरु भएपछि निदाउन सक्दैनन्। उनको घरैमुनिसम्म डरलाग्दो पहिरो आइसकेको छ। १० वर्ष पहिले सुरु भएको पहिरोले घरको करेसाबारी नै बगाइसकेको गुरुङले बताए। उनले भने, ‘जब वर्ष सुरु हुन्छ, रातभरि निदाउन सकिँदैन, कतिबेला बगाउने हो भन्ने चिन्ता हुन्छ।’

उनको मात्रै होइन भीमबहादुर गुरुङ, गोविन्दप्रसाद पौडेल लगायत ४० परिवार र एक विद्यालय समेत तिलखोरिया पहिरोको जोखिममा छन्। स्थानीयको १ सय रोपनीभन्दा बढी खेतबारी पहिरोले बगाइसकेको छ। नियन्त्रणका लागि प्रयास भए पनि पहिरो डरलाग्दो भएकाले स्थानीय स्तरमा संभव नभएको वडा अध्यक्ष हेम तामाङले बताए। पहिरोले ४० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। पहिरोले विद्यालयको खेलमैदान समेत बगाएको उनको भनाइ छ।

मोलुङ गाउँपालिका २ वरुणेश्वरस्थित डाँडागाउँकी ६६ वर्षीय निम्पुटी शेर्पा पनि वर्षाद्मा रातभरि सुत्दिनन्। गाउँमै बाँस र खरको सानो झुप्रो बनाएर बसिरहेकी उनी ७ वर्षअघि नै पहिरोले गर्दा घर जोखिममा परेपछि विस्थापित भएकी थिइन्।

निर्वाहमुखी खाद्यवाली र तरकारी लगाएर जीविका धान्ने जग्गा समेत पहिरोेले बगाइदिएपछि शेर्पा अहिले चिन्तित छिन्। ‘जाऊँ भने कता जाऊँ, जाने ठाउँ छैन,’ उनी भन्छिन्, ‘बसौं भने पहिरोले बसिखान दिएको छैन।’

०५० सालभन्दा अघि लिपेखोलाको कटानका कारण चलेको डाँडागाउँको पहिरोले करिब ३ सय रोपनी जमिन बगाइसकेको छ। आधा दर्जनभन्दा बढी घर विस्थापित गराएको पहिरोका कारण सिंगो गाउँ नै धाँजा फाटेको छ।

पहिरोले गर्दा डाँडागाउँ र धनेपुका ५६ घर परिवार जोखिममा छन्। तत्कालीन जिल्ला भूसंरक्षण कार्यालय ओखलढुंगाले तयार गरेको अभिलेख अनुसार जिल्लाभित्र रहेका १४६ वटा ठूला पहिरो मानव नियन्त्रण बाहिर छन्।

०७२ सालको भूकम्पपछि पहिरोको संख्या थपिएको छ। भूकम्पले मोलुङ गाउँपालिकाको हर्कपुर र प्राप्चा, लिखुको टारकेराबारी, खिजीदेम्वाको रगनी लगायतका गाउँ पहिरोको चपेटामा परेका छन्। बस्तीभन्दा तल र माथिको भूभागमा पहिरो गएपछि ती स्थानका बस्ती स्थानान्तरणको काम सुरु गरिएको पुनः निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाइका प्रमुख युवराज खरेलले बताए। पहिरोले विस्थापित ८४ परिवारको स्थानान्तरण प्रकृया सकिएको उनको भनाइ छ।

भूकम्पपछिको पहिरोले विस्थापित भएका बस्ती स्थानान्तरणको काम थालिए पनि अन्य क्षेत्रमा पहिरो रोकथाम र नियन्त्रणका काम हुन सकेका छैनन्। पहिरोबाट सिद्धिचरण नगरपालिका, वरुणेश्वर, माम्खा, मोली, बेतिनी, वाक्सा, च्यानाम, बलखु, हर्कपुरलगायतका स्थानमा रहेका ठूला पहिरोले ५ सय भन्दा बढी हेक्टर जमिन बगाइसकेको छ।

ओखलढुंगा जिल्लालाई भूक्षयका दृष्टिकोणले प्रदेश नं. १ कै सबैभन्दा संवेदनशील जिल्ला मानिएपनि ठूला पहिरो नियन्त्रणका लागि हालसम्म कतैबाट पहल हुन सकेको छैन। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार ओखलढुंगाका २२ वटा बस्ती बर्सेनि पहिरोको उच्च जोखिममा छन्। मध्यम जोखिममा १४ वटा र जोखिममा ३ वटा छन्। जिल्लाभित्र असंख्य मात्रामा रहेका साना पहिरो नियन्त्रणको प्रयास भइरहेपनि मानव नियन्त्रण बाहिर रहेका ठूला पहिरोले दर्जनौँ बस्ती जोखिममा पारेको छ। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले समितिको बैठकबाट विपद्को अवस्थाको आंकलन गरेर उद्धार तथा राहतका लागि तयारी गरिएको बताए। उनले पहाडमा बाढी पहिरोको जोखिम भएपनि त्यसका लागि सरकारले बृहत योजना ल्याएर नियन्त्रणका काम गर्नु पर्ने बताए। स्थानीय स्तरमा स सना राहत तथा उद्धारका काम मात्र संभव हुने आचार्यको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.