समायोजनपछि रित्तिँदै गाउँपालिका

समायोजनपछि रित्तिँदै गाउँपालिका

रुपन्देही : कर्मचारी समायोजनपछि रुपन्देहीका स्थानीय तह कर्मचारीविहीन भएका छन्। कर्मचारी नभएपछि बजेट कार्यान्वयनसमेत प्रभावित भएको छ। रुपन्देहीको गैडहवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित निजामतीतर्फ ६ जना मात्रै कर्मचारी छन्। ‘३ जना संघमा समायोजन भएर जाँदै हुनुहुन्छ। त्यसपछि अझै खाली हुन्छ,’ गैडहवाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने, ‘यहाँ अब को–को आउनुहुन्छ भन्ने नामावली प्राप्त भएको छैन।’ निजामतीबाहेक गैडहवामा स्वास्थ्य र पशुतर्फका कर्मचारी पनि सरुवा भएको छ।

गैडहवा गाउँपालिकामा २० कर्मचारीको दरबन्दी छ। हाल ६ जना निजामती र ४ जना स्थानीय स्तरका कर्मचारी मात्र छन्। १, ३ र ९ नम्बरमा निजामतीबाहेकका स्थानीयस्तरका कर्मचारीले वडासचिवको भूमिका निर्वाह गरेका छन्। ६ र ७ मा एउटै वडा कार्यालय र सचिव छन्। कर्मचारी अभावले वडा नम्बर २ का वडासचिवले गाउँपालिकाको कार्यालय पनि हेर्नुपरेको छ। इन्जिनियर र लेखाका कर्मचारी पनि गाउँपालिकामा नभएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। ‘लेखा अधिकृत, लेखापाल र सहलेखापाल कोही हुनुहुन्न। अन्य स्थानीय तहसँग समन्वय गरेर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई भनेर एक जना ल्याइएको छ,’ उनले भने। जसअनुसार ती लेखापालले ३ दिन सम्मरीमाई गाउँपालिका र ३ दिन गैडहवा गाउँपालिका हेर्छन्।

रुपन्देहीको कञ्चन गाउँपालिकामा कर्मचारी समायोजनपछि २ जना कर्मचारी खाली छन्। यसअघि लेखाका ३ जना कर्मचारी रहेकोमा २ जना खाली भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले बताए। ‘गाउँपालिका रित्तोजस्तै छ। प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र स्वास्थ्यको एक जना हुनुहुन्छ’, उनले भने, ‘१९ जनाको दरबन्दी छ। कर्मचारी माग गरेर केन्द्रमा पठाएका छौं।’ कञ्चनमा वडा सचिवका रूपमा भने स्थानीय स्तरकै कर्मचारी छन्।

रुपन्देहीको सियारी गाउँपालिकामा पनि २ जना वडासचिवको दरबन्दी खाली हुँदै छ। एक जना संघमा र एक जना अर्को स्थानीय तहमा जाने तयारीमा छन्। ‘एउटा वडा पहिलेदेखि नै खाली थियो। अब फेरि ३ जना खाली हुँदै छन्,’ प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले भने। गाउँपालिकाको कार्यालयमा पनि निकै थोरै कर्मचारी रहेको उनको भनाइ छ।

रुपन्देहीको मर्चवार क्षेत्र कर्मचारीको रोजाइमै नपर्ने ठाउँ हो। मर्चवार क्षेत्रमा पर्ने सम्मरीमाई गाउँपालिकामा कार्यरत ३ जना कर्मचारीको संघमा समायोजन भएको छ। ‘यहाँ आउन कसैले समायोजन रोजेका छैनन्। अहिले भएका खाली भएपछि झन् रिक्त हुन्छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले बताए।

स्थानीय तहमा जनप्रतिनिधि आएको २ वर्ष हुन लाग्दा पनि कर्मचारीको पूर्णता हुन सकेको छैन। उल्टै भएका कर्मचारी पनि खाली हुँदा निकै समस्या भएको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चु केवटले बताए। ‘हामीले त योजना र नीति बनाउने हो। कागजी काम गर्ने त कर्मचारीले हो। कर्मचारी नहुँदा विकास निर्माणका काम राम्रोसँग गर्न सकिएको छैन,’ उनले भने, ‘नागरिक हामीसँग बारम्बार झगडा गर्छन्। जितेर गएर किन कर्मचारी पूरा गर्न सक्नुभएको छैन भन्छन्।’ हालै सम्पन्न प्रदेश समन्वय समितिको बैठकमा पनि यसबारे कुरा उठाएको केवटले बताए। कर्मचारी नभएपछि योजना सम्पन्न भएको भुक्तानीसमेत रोकिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.