बैंकहरूको स्प्रेडदर उच्च
काठमाडौं : वाणिज्य बैंकहरूले कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर नियामकीय सीमाभन्दा उच्च राखेका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेडदर) ५.६ प्रतिशत रहेको उल्लेख छ।
मौद्रिक नीतिको व्यवस्थाअनुसार कर्जा र निक्षेपको भारित औसत ब्याजदर अन्तर यस आर्थिक वर्षको अन्त्यसम्म ४.५ प्रतिशत हुनुपर्छ। यसअघि ५ प्रतिशतसम्म ब्याजदर अन्तर कायम गर्न पाइन्थ्यो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) गणना गर्दा भारित औसत कर्जा दर र भारित औसत निक्षेप दरलाई आधार बनाउने व्यवस्था गरेको छ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार चैत मसान्तसम्म बैंकहरूको औसत भारित कर्जा दर १२.२८ प्रतिशत र भारित औसत निक्षेपदर ६.६७ प्रतिशत छ।
यो अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर एकल अंकमा झरेको छ। अहिले औसत आधार दर ९.६४ प्रतिशत रहेको समीक्षामा उल्लेख छ। त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरूले ११६५ अर्ब रुपैयाँ अन्तरबैंक कारोबार गरेका छन् भने अन्य वित्तीय संस्थाले १९९ अर्ब रुपैयाँ अन्तरबैंक कारोबार गरेका छन्। अन्तर बैंक औसत ब्याजदर ५.२८ प्रतिशत रहेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ।