रुखले किचेर विद्यालय जाँदै गरेका विद्यार्थीको मृत्यु, एक घाइते
इलाम : इलामको सूर्योदय नगरपालिका- ६ तारा गाउँस्थित हर्कटेबाट थापा गाउँ जाने भित्रि सडक जेसिभिले खन्ने क्रममा ढलेको रुखले लागेर विद्यालय जाँदै गरेका बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्।
बाटो खन्दै गरेको को१ ख २४२७ को जेसिविले रुख लडाउँदा स्थानीय तेज माया गजमेरका १२ वर्षीय छोरा भेषराज गजमेरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्थान बस्ने खडानन्द रसाइलीकी छोरी १४ वर्षीया कृतिका रसाइलीको टाउकोमा गम्भीर चोट लागेको छ।
गजमेरको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते रसाइलीलाई प्राथमिक उपचार पछि झापाको विर्तासिटि अस्पताल पठाइएको छ। दुबैजना कन्यामको कृष्णश्रम विद्यालयका विद्यार्थी हुन्।
बिहान साढे ९ बजे विद्यालय जाने क्रममा रुखले किचेको स्थानीय ज्ञानु भट्टराईले जानकारी दिए।घटनापछि जेसीवि चालक मोरङ बिराटनगरका २९ वर्षीय राजेन्द्र तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। स्थानीयले चालकको लापरवाहीको कारण दुर्घटना भएको आरोप लगाएका छन्। वडाअध्यक्ष शिवकुमार बस्नेतले बाटो मर्मत गर्ने क्रममा दुर्घटना भएको बताए। बालक शव प्राथामिक स्वास्थ्य केन्द्र फिक्कलमा पोष्टमार्टमका लागि राखिएको छ।
प्रतिक्रिया दिनुहोस !