खुलेर हेर्ने दृष्टि हामीसँग छैन

खुलेर हेर्ने दृष्टि हामीसँग छैन

गत चैतको पहिलो शुक्रबार। बेलुकीपख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटको अपोजिटबाट ओरालो हुँदै देब्रेतिर जाने बाटोका केही घुम्ती छिचोलेर हामी पुग्यौं, एउटा घर। त्यहाँ थिए, डा. दिवाकर आचार्य । त्यही घरको दोस्रो तलाको बैठक कक्षमा केही मिनेटमै टुप्लुक्किए, उनै आचार्य। हँसिलो मुद्रामा। हाल अक्सफोर्ड विश्वविद्यालयमा स्पाल्डिङ प्राध्यापकका रूपमा कार्यरत दिवाकर आचार्य नेपाललगायत जापाज, जर्मनी, अस्ट्रिया र नेदरल्यान्डका विश्वविद्यालयमा अध्यापन र शोध गरेका बौद्धिक हुन् । संस्कृत दर्शन, नेपाली संस्कृति एवं इतिहासका विज्ञ आचार्यको ६८ पृष्ठको पछिल्लो पुस्तक ‘नीपजन र नेपाल : एउटा छोटो आद्य इतिहास’ (२०७४) विशेष पठनीय छ। अन्तर्वार्ताभर हरदम मुस्कुराइरहेका उनै शालीन र सरल प्राध्यापकसित भूमीश्वर पौडेल माधव नेपालको प्रश्नोत्तर :

तपाईं विश्वविख्यात विश्वविद्यालय अक्सफोर्डमा अध्यापन गराउनुहुन्छ, विद्यार्थी पश्चिमाहरू बढी हुन्छन्। उनीहरूले संस्कृतलाई कसरी हेरिरहेका छन् ? 
(मुस्काए, दायाँ गोडा बायाँमाथि खप्ट्याए।) पछिल्लो समय पश्चिमाहरूले संस्कृतलाई विशद् ज्ञानको भण्डारका रूपमा बुझ्न थालेका छन्। यसमा रहेका विविध विषयवस्तुको अध्ययन र त्यसका प्रभावबारे जानकारी लिन उनीहरू उत्सुक छन्।

नेपाल र पश्चिमा मुलुकहरूको संस्कृत अध्ययन–अध्यापनमा केकस्तो निकटता–दूरता पाउनुभयो ? 
यसलाई हामीले विभिन्न कोणबाट हेर्नुपर्छ। कतिपय कुराहरू हाम्रो परम्परागत शिक्षा प्रणालीमा राम्रा छन्। कतिपय कुराहरू आधुनिक शिक्षा प्रणालीमा राम्रा छन्। यी दुवैलाई समायोजन गर्न सक्यौं भने त्यो सुनमा सुगन्ध हुन्छ। आधारभूत ग्रन्थहरू घोक्नुपर्छ भन्ने परम्परा राम्रो हो। अरू देशमा पनि यस्तै परम्परा छ। जापान, चीन आदि मुलुकका मानिस आफ्ना मूलभूत कुरा घोक्छन्। त्यसले धेरै नै सहयोग गर्छ। आधुनिक शिक्षा प्रणालीमा चाहिँ कुनै पनि विषयलाई कसरी हेर्ने, कसरी विश्लेषण गर्ने, आलोचनात्मक दृष्टिकोणले हेर्नुपर्छ।

हामीकहाँ संस्कृत भन्नेबित्तिकै यसलाई धर्म, कर्मकाण्ड र भाषामा मात्र सीमित राखिएको छ। केही हदसम्म यी कुरा सही भए पनि संस्कृत पढ्नु भनेको धर्म वा कर्मकाण्ड गर्नु मात्र होइन। संस्कृतमा ज्ञानका विधा धेरै छन्। कामशास्त्र, कृषिशास्त्र, अर्थशास्त्र, वास्तुकलाशास्त्र आदि धेरै क्षेत्र छन्। तर हामीले संस्कृतलाई एकांगी बनाएका छौं। संस्कृत अध्यात्म केन्द्रित हुँदा अन्य विषय ओझेलमा परेका छन्। यसलाई आधुनिक विधाहरूसँग समायोजन गरेर प्रतिस्पर्धात्मक रूपमा अगाडि बढाउन सकिएको छैन। 

यसमा दोष हाम्रै त होला नि, होइन ? 

दोष हाम्रै हो। संस्कृतलाई हेर्ने दृष्टिकोणमा बाहिरका मानिसको मात्र दोष छैन। हामीले यहाँ पढ्दाखेरि नै संस्कृतका गुरुहरू नै संस्कृत किन पढ्ने ? संस्कृत पढेर काम छैन, संस्कृतको भविष्य छैन भन्नुहुन्थ्यो। पछिल्लो समयमा केही व्यक्तिको प्रयासले विस्तारै दृष्टिकोणमा परिवर्तन आउन थालेको छ। संस्कृत पढेका कतिपय मानिसमा हीनताबोधचाहिँ छ। 

अहिले विकसित प्रविधिको चमत्कार संस्कृतका लागि केही होइन, यो त पहिले नै विकास भइसकेको थियो भनिन्छ नि ? 

भारत र नेपालमा संस्कृतमा सबै चिज छ भन्ने गलत धारणा छ। पुराना चिजहरू वेदमै छन्; रकेट बनाउने प्रविधि युरोपेलीहरूले चोरेर लगे भन्नु बकवास मात्र हो। हामीले संस्कृतलाई विज्ञानसँग समायोजन गरेर अघि बढ्नुपर्छ। ती ग्रन्थहरू लेखिएको समयमा त्यहाँ उल्लिखित विषय निकै उपयोगी र अग्रगामी थिए होलान्। तर अहिले विकसित प्रविधिसँग त्यति मेल नखान सक्छन्। विज्ञानले गरेका सबै प्रगति ऋग्वेदमा पाउँछौं भन्नु पनि गलत हो। 

आफूमा जे छ त्यही कुरालाई अध्ययन अनुसन्धान गरेर अगाडि बढ्नु राम्रो हुन्छ। नभएको कुरालाई बढाइचढाइ गर्नु आत्मरतिमा रमाउनु मात्र हो। कल्पनाका कुराहरू हरेक समाजमा हुन्छन्। पुराकथा हरेक सभ्यतामा हुन्छन्। तर त्यसलाई प्रयोग गरेर प्रमाणित भएका कुरालाई मात्र हामीले मान्नुपर्छ। अहिले जे भइरहेको छ, त्यो पहिला नै हाम्रोमा थियो भन्नु एक हिसाबले हामीले विज्ञानलाई नै समर्थन गरेको हो। हाम्रो धर्मसंस्कृतिमा राम्रा कुरा छन् भने हामीले त्यसलाई त्यही रूपमा नै ग्रहण गर्नुपर्छ, मूल्य स्थापना गर्नुपर्छ। त्यसलाई विज्ञानले प्रमाणित गर्नु भनेको त हामीले विज्ञानलाई नै महत्व 
दिएको ठहर्छ।

विदेशमा संस्कृत भाषा किन पढाइ भइरहेको छ ? 

एसियाको संस्कृतिलाई कसरी मूलधारमा ल्याउन सकिन्छ भनेर विदेशीहरू सक्रिय छन्। आधुनिक चिन्तन प्रणालीसँग संस्कृत कति नजिक छ ? र कसरी टाढा छ ? यसका विशेषता के हुन् ? आधुनिक शिक्षासँग यसका समानता–असमानाता के छन् आदि दृष्टिकोणबाट युरोपेलीहरूले संस्कृतलाई हेरेका छन्। ऋग्वेद भाषावैज्ञानिकहरूले पढिरहेका छन्। यो भारतीय सभ्यताको पुरानो वाङ्मय हो। यसलाई थोरै मानिसले मात्र पढ्छन्। संस्कृत पढ्ने सबैले ऋग्वेद पढेका हुँदैनन्। भाषालाई विश्लेषण गर्नका लागि ऐतिहासिक भाषाविद्हरूले मात्र पढ्छन्। आयुर्वेदमा रिसर्च मेडिकल साइन्सका शोधार्थीले अनुसन्धान गरिरहेका छन्। 

के संस्कृतको अध्ययन–अनुसन्धानमा हाम्रो ध्यान नगएको हो ? 

वास्तुकला हाम्रै प्रविधिअनुसार बनेका छन्। तर त्यस क्षेत्रमा हाम्रो अध्ययन नै छैन। साहित्य, वेदान्त, व्याकरणभन्दा हामी बाहिर जाँदैनौं। आयुर्वेदको आचार्य भइसक्दा पनि रामदेवको औषधि किनेर खाएर हुन्न। औषधि बनाउन जान्नुपर्‍यो नि। त्यो खालको समस्या हामीकहाँ प्रशस्त छ। हामीकहाँ परम्परागत ढाँचाका निश्चित विषय थिए। ती विषयभित्र एउटा वा दुईवटा ग्रन्थमा मात्र सीमित हुने परिपाटी छ। सुगारटाइ छ। दायाँबायाँ नजाने प्रवृत्ति छ। विदेशमा भने नयाँनयाँ कुरा खोज्न र अध्ययनको दायरा बढाउन आफ्नो विधाभन्दा बाहिर गएर पनि अध्ययन गर्ने प्रवृत्ति छ। त्यस्तो प्रवृत्ति नेपालमा विरलै भेटिएला। 

विदेशीहरूले संस्कृतको कुन कुरामा आफ्नो अनुसन्धान अघि  बढाएका छन् ? 

अनुसन्धान विगतकै कुरामा सीमित छन्। हाम्रो क्षेत्रको अनुसन्धान भनेको एक किसिमले विगतको चिजको अध्ययनमा सीमित छ। समकालीन हिन्दू जीवन प्रणाली कसरी गइरहेको छ भन्नेमा कसैकसैले अध्ययन गरिरहेका छन्। तिनीहरूले सांस्कृतिक र सामाजिक कोणबाट गरिरहेका हुन्छन्। क्लासिकल अध्येताहरूले अनुसन्धान गर्दा हाम्रो जसरी शास्त्र नै पढ्छन्। उनीहरूको अध्ययन भनेको इतिहासको अध्ययन हो। ल्याबमा गएर परीक्षण नै गर्ने अध्ययन कम हुन्छ। कतैकतै चाहिँ परम्परागत प्रयोगात्मक विधामा केही अध्ययन भइरहेका छन्। आयुर्वेदमा, गणितमा यस्ता काम भइरहेका छन्। ब्रिटेनमा ठूलोठूलो स्केलमा संस्कृतको पढाइ भइरहेको छ भन्नु गफ मात्र हो। पुराना भाषा ल्याटिन, ग्रिकको अवस्था संस्कृतको भन्दा खराब छ। विदेशमा अनुसन्धान गर्नेहरू त्यही विषयमा केन्द्रित हुन्छन्। पूर्णकालीन रूपमा त्यसमै लाग्छन्। 

नेपालमा चाहिँ के कुरामा बढी समस्या देख्नुहुन्छ ? 

यहाँ राजनीति बढी हुन्छ। विदेशीहरू अध्ययनमा लागेपछि दिलो ज्यान दिएर समर्पित हुन्छन्। अनुसन्धानात्मक अध्ययन हुँदा शिक्षक सहजकर्ता मात्र हुन्छन्। शिक्षक र विद्यार्थी दुवै घोटिनुपर्छ। उनीहरूले कक्षामा आएर पढ्ने कुरा त छँदै छ, हरेक साता शिक्षकले रिडिङ लिस्ट दिनुपर्छ। अनि निबन्ध लेख्नका लागि समस्या दिन्छन् शिक्षकले। एक वर्षभित्र १५ वटा अनुसन्धानात्मक लेख तयार पार्नुपर्छ। व्यक्तिगत रूपमै अध्ययन गर्ने हो। ती निबन्धमाथि छलफल हुन्छ। त्यस्ता छलफलले ज्ञान परिनिष्ठित हुन्छ। त्यहाँ एक किसिमको एकेडिमिक लाइफ छ। एकेडेमिक समाज छ। त्यसैले त्यहाँको वातावरण रमाइलो छ। 

हामीकहाँ पाठ्यक्रम तोकिएको हुन्छ। उताचाहिँ एक किसिमको गाइड लाइन मात्रै हुन्छ। पाठ्यक्रम नै हँदैन। यति पढ्ने उति पढ्ने भन्ने हुँदैन। हरेक क्षेत्रमा अद्यावधिक हुनुपर्‍यो। शिक्षक र विद्यार्थी उत्तिकै चनाखो हुनुपर्‍यो। उनीहरूले कुन विषयमा केके भइरहेको छ, त्यो पढ्ने हो। कुनै एउटा विषय वा शीर्षकमा केन्द्रित भएर पढ्ने होइन। त्यसैमाथि छलफल गर्ने हो।
विदेशमा तुलनात्मक साहित्य, कविको चेतना, भाषिक अध्ययन, खगोलीय पक्षमा भएका कार्यहरू, तर्कशास्त्र गर्नेहरू बौद्ध र न्यायतिर केन्द्रित छन्।

हाम्रो देशमा परम्परागत भाषा अध्ययनका लागि संस्कृत विश्वविद्यालय छ। तर विदेशमा त्यस्तो हुँदैन। विदेशमा विश्वविद्यालयभित्रैको विभाग हुन्छन्। तिनमै अध्ययन–अध्यापन र अनुसन्धान कार्य हुन्छन्। भाषाविज्ञान, धर्मविद्या, ओरियन्टल स्टडिज, इन्डियन स्टडिज, क्लासिकल इन्डियन रिलिजन आदिबारे खोज अनुसन्धान भइरहेको छ। ब्राह्मनिजम, वैष्णनिजम, शैवनिजम, बुद्धिजमका मोड्युल छन्। त्यहाँ यिनै चारमध्ये विद्यार्थीले दुइटा छनोट गर्छन्। ब्राह्मनिजमभित्र उपनिषद्, कुमारिल, धर्मशास्त्र, मीमांसा, शांकरभाष्य, रामानुज भाष्य आदि पढाइ हुन्छ। यो शास्त्रीय ढाँचाको पढाइ भयो।

यहाँ विद्यार्थी र शिक्षक दत्तचित्त छैनन्। त्यसका विभिन्न कारण छन्। शिक्षक हेलमेट टिचर बन्नु परेको छ। विद्यार्थी पनि त्यस्तो वातावरणमा छैनन्। मूल चिन्तन राजनीति हुन्छ। पाठ्यक्रम यहाँ फिक्स छ। सुरुदेखि अत्यसम्म एउटै विषय पढाइ हुन्छ यहाँ। गहिरो ज्ञानमा जाने भन्ने छैन। 

नेपालमा संस्कृत पढे पनि सतही ज्ञान मात्र लिने गरिन्छ। यहाँ शास्त्रीय ढाँचाको पाठ्यक्रम छ। तर विदेशमा गहिरो गरी अध्ययन गरिन्छ। नेपालमा फराकिलो गरी ज्ञान आर्जन गर्ने प्रवृत्ति छैन। व्याकरण नै पढ्दा सिद्धान्तकौमुदी, त्यसकै टीका–प्रटीका, नागेश आदिमा निश्चिभन सूत्र, फक्किका आदिबाट बाहिर जाँदैन। 

विदेशमा पढ्दाचाहिँ ठूलो मात्रामा भाषाविज्ञानको कोणबाट अध्ययन गरिन्छ। किनकि भाषाविज्ञानको विकास नै पाणिनिबाट भएको हो। संस्कृत व्याकरण कसरी पाणिनिमा आधारित भएर विकसित हुँदै गयो ? पाणिनिभन्दा बाहिर चान्द्र, कातन्त्र आदि व्याकरणको केकसरी अध्ययन गर्न सकिन्छ भनेर केन्द्रित हुने गरिन्छ। पाणिनि पढेर त्यसमा चाख बस्यो भने चान्द्र, कातन्त्र आदि व्याकरणमा अनुसन्धान गर्ने हिसाबले पढिन्छ। उताको पढाइ गतिशील, लचकदार, फराकिलो दृष्टिकोण हुन्छ। यहाँ दर्शन पढेमा निश्चित दर्शनको मात्र पढाइ हुन्छ। एउटा दर्शन पढिरहेकालाई अर्को दर्शन कठिन लाग्छ। उता तुलनात्मक अध्ययन हुन्छ। न्याय नै पढिरहेको छ भने त्यसमा दिङनागको तर्क प्रणाली, धर्मकीर्तिको तर्क प्रणाली, जैन अकलंकको तर्क प्रणालीको तुलनात्मक अध्ययन गरेर निष्कर्षमा पुग्ने काम हुन्छ।

त्यसो भए संस्कृतलाई व्यवहारोपयोगी एवं अनुसन्धानमूलक बनाउन के गर्नुपर्ला ? 

दृष्टिकोण बदल्ने र दृष्टि खोल्ने गरी योजना बनाई कार्यान्वयन गर्नुपर्छ। यसका लागि रिसर्च सेमिनार, रिसर्च वर्कसप गर्न सकिन्छ। विद्यार्थी आफैं पनि पहिला त पढाइमा केन्द्रित हुनुपर्छ। साथै सिर्जनशील हुनुपर्छ। त्यसबाट धेरै कुरा खुल्न सक्छ। जस्तै, वेदान्तमा हामी दृष्टि–सृष्टिवाद भन्छौं। यसको तात्पर्य हामीले देखेर नै संसार छ भन्ने हो। त्यो कुरालाई हामीले वेदान्त र अध्यात्ममा मात्र केन्द्रित गरेका छौं।

सत्तरीको दशकमा त्यस्तै सोसियोलिजीमा यस्तै अवधारणा आयो पश्चिममा। यसलाई पढेर ल्याइएको हो वा कसरी आयो ? व्यक्ति आफू हो। उही गुनाकै संसार हुन्छ। समाजको केन्द्रमा व्यक्ति आफू छ। समाजसँगको कनेक्सन पनि उसको आफ्नो चिन्तन र सोच्ने तरिकामा भर पर्छ भन्ने एउटा सिद्धान्त छ। यही कुरा शंकराचार्यको पालामा रहेछ। तर हामीले त्यही कुरालाई अहिलेसम्म बुझ्न सकेनौं। बराहमिहिर ठूला वैज्ञानिक हुन्, छैटौं शताब्दीका।

उनले अवलोकन गरेर पुच्छ्रेताराहरू आउने उल्लेख गरेका छन्। केही वर्षअघि नयाँ पुच्छ्रेतारा आयो। यो कुरालाई १४÷१५ सय वर्षअघि नै बराहमिहिरले लेखेका रहेछन्। त्यो पुच्छ्रेतारा आयो। त्यसलाई पश्चिमाले पत्ता लगाएर सुमाकर या त्यस्तै के नाम दिए। त्यसपछि मात्र यताका पण्डितहरूले यो त हाम्रै हो भन्ने दलिल पेस गरे। उसले भन्नुअघि नै ताराको नाम दिन पाएको भए पुच्छ्रेताराको नाम बराहमिहिर हुन सक्थ्यो। खुलेर हेर्ने दृष्टि हामीसँग छैन। यसैले हामी कमजोर छौं। प्राज्ञिक वातावरण, दृष्टिकोणको फैलावट आवश्यक छ। त्यस्तो वातावरण बिस्तारै बन्दै जानेछ।

तपाईंको अध्ययन, अनुसन्धान र अनुभव नेपालले लिन सक्ला ? 
नेपालमा संस्कृतबारे अध्ययन धेरै भएका छन्। तर वैज्ञानिक र खोजमूलक अध्ययन कमै मात्र भएका छन्। त्यसैले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर संस्कृतको विशद् अध्ययन–अनुसन्धानमा लाग्ने मेरो दृढ इच्छा छ। यसबारे विश्वविद्यालयका पदाधिकारीसँग छलफल प्रक्रिया अघि बढेको छ। आगामी दिनमा सोही विश्वविद्यालयमा पूर्वीय दर्शनबारे केही काम गर्ने योजना छ। यससँगै अन्य योजना पनि छन्। आशा गरौं, बिस्तारै अघि बढ्लान्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.