बालबालिकालाई मन पर्ने पुस्तक
सावित्री तिमल्सिना । भाइबहिनीहरूलाई मन पर्ने बालकथा संग्रह ‘परेवाको मन’ र ‘पानी र जमिन’ बजारमा आइसकेका छन्। परेवाको मन तिलकप्रसाद सापकोटाले लेखेका हुन् पानी र जमिन शान्ता गौतमले लेखेकी हुन्। दुवै कृतिका कथा छोटा छन्। सरल छन् र सबैले बुझ्न सक्छन्। बालबालिकालाई अतिरिक्त ज्ञान होस् भन्ने उद्देश्य राखेर शान्ता र गौतमले यी पुस्तक लेखेका हुन्।
भाइबहिनीहरू, सापकोटाका बालकथा तथा सचित्र बालकथा गरी पाँचवटा बालकृति प्रकाशित भइसकेका छन्। ती कृति हुन्– खुसीको आँसु (सचित्र बालकथा), हट् घोडा हट् (सचित्र बालकथा), आमपाम (बालकथा संग्रह), सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला (सचित्र बालकथा)। परेवाको मन पछिल्लो बालकृति हो।
परेवाको मन कृतिमा सातवटा कथा छन्। ती हुन्– परेवाको मन, शान्ति र सुन्तली, दाजु भाइ, हजुरआमाको माया, परेवा ढुकुरको घर, पढ्न थाले पवन र काफल पाक्यो। यी कथा समाज र प्रकृतिलाई केन्द्रविन्दु बनाएर लेखिएको छ।
शान्ति र सुन्तली यस कृतिको पहिलो कथा हो। यसमा अप्ठ्यारा बाटो हिँडेर टाढाका स्कुलमा पढ्नुपर्ने ग्रामीण समाजका बालबालिकाले द्वन्द्वकालमा हुने विस्फोट आदि असुरक्षाका कारण विद्यालय छोड्नु परेको विषय समेटिएको छ। परेवाको मनले आमा नहुँदा परेका बचेरा पनि दुःखी हुन्छन् भन्ने सन्देश दिएको छ। सहरका बोर्डिङमा स्कुलमा पढाउन ल्याइएका बालबालिका गाउँमै बस्न र रमाउन चाहन्छन् भन्ने सन्देश हजुरआमा माया कथाले सन्देश दिएको छ। दैनिक पत्रपत्रिका नियमित पढ्ने गरेमा बालबालिकाको बौद्धिक विकास हुन्छ भन्ने सन्देश पढ्न थाले पवन कृतिले दिएको छ।
भाइबहिनीहरू, गौतमका चारवटा कृति प्रकाशित भइसकेका छन्। ती हुन्– हाम्रा गीतहरू –बालगीत संग्रह), फाटेको मन –गीत एवं गजल संग्रह, पढौं, लेखौं कखग... (सचित्र बालकविता)। पानी र जमिन पछिल्लो बालकथा संग्रह हो।
पानी र जमिन पुस्तकमा नौवटा कथा रहेका छन्। ती हुन्– पानी र जमिन, चुरोट र चन्द्रमा, इशा र निशा, मुस्लेभूत र ममता, प्रियंका र पखेटा, पूजा र पानी, नेपालका गहना, निष्ठुरी आमा र मुकुको टाइसन।
पानी र जमिन यस कृतिको पहिलो कथा हो। यस कथामा पानी र जमिनमाथि दुव्र्यवहार गर्ने मानिसलाई यी दुई वस्तुको महत्त्व बुझाएको सन्देश छ। चुरोट खाने मानिसहरू दम र खोकी जस्ता रोग लागेर अकालमै मर्छन् भन्ने सन्देश यस चुरोट र चन्द्रमा कथामा दिइएको छ। मुस्लेभूत र ममता कथाले नौलो मानिसलाई विश्वास गर्यो भने अनेक दुःख भोग्नुपर्छ भन्ने सन्देश दिएको छ। नेपालको गहना कथाले गाई, डाँफे, लालीगुराँस, सिम्रिक, चन्द्रसूर्य अंकित झन्डा हाम्रा गहना हुन्, यिनीहरूको संरक्षण गरी विश्वमा चिनाउने हामी सबै नेपालीको कर्तव्य हो भन्ने सन्देश दिएको छ।
दुवै कृतिको गोपीकृष्ण ढुंगानाले सम्पादन गरेका हुन्। आवरण र भित्री चित्रहरू प्रज्ज्वल थापा मगरले बनाएका हुन्। ट्रिनिटी प्रकाशनले बजारमा ल्याएको यी कृतिमा रहेका कथाले बालबालिकालाई विभिन्न क्षेत्रको ज्ञान प्रदान गर्नेछ।
पुस्तकको भूमिकामा पुस्तकका सम्पादक ढुंगानाले लेखेका छन्, ‘सफलताको बिजारोपण सपनाबाट हुन्छ, सुमधुर भविष्यका लागि सुन्दर सपना देख। सपनाले योजना बुन्न सिकाउँछ, लक्ष्य प्राप्त गर्न सजग र सतर्क गराउँछ अनि चिन्तनशील बनाउँदै सफलता दिलाउँछ।’