पप्पुका पुलमा संसदीय समितिको चासो
ओखलढुंगा : निर्माण क्षेत्रमा बद्नामी कमाएको ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनले अलपत्र पारेका मध्यपहाडी लोकमार्गमा अवस्थित पुलका विषयमा संसदीय समितिले चासो देखाएको छ।ठेक्का लिएर आठ वर्षसम्म निर्माण नगरेका तीनवटा पक्की पुलको संघीय संसदको विकास तथा प्रविधि समितिले अनुगमन गरेको हो।
तीनमध्ये खाङसाङको पप्पु कन्सट्रक्सन र सोखुखोलाको नेपाल प्रगति जेभी पप्पु कन्सट्रक्सनले ठेक्का लिएका हुन्। बादुरा खोलाको भने सगरमाथा घिमिरे निर्माण सेवाले ठेक्का लिएको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि निर्माण कम्पनीले हालसम्म काम सम्पन्न गरेका छैनन्।
पुलको स्थलगत अनुगमनका लागि संघीय संसदको विकास तथा प्रविधि समितिको टोलीले स्थानीय, ठेकेदारको प्रतिनिधि र मध्यपहाडी लोकमार्ग आयोजना प्रमुखसँग अन्तरक्रिया समेत गरेको छ। अनुगमन टोलीका संयोजक समितिका सभापति कल्याणी खड्काले निर्देशन दिँदै भनिन्, ‘बढीमा तीनदेखि छ महिना समय दिनु। यदि त्यति समयमा पनि कामको गति अघि नबढे ठेक्का प्रक्रिया तोड्नु पर्छ।’ सँगै ठेक्का लागेका सडकको पिच चार वर्ष पहिले सकिएर भत्किन थालिसके पनि पुल नबन्नु लज्जाको विषय भएको खड्काको भनाइ छ।
मध्यपहाडी लोकमार्ग आयोजनाका संयोजक दीपक केसीले बादुरा खोलको पुलको प्रगति पछिल्लो समय देखिएको तर पप्पुको कामको प्रगति नदेखिएकोले अब तीन महिनापछि पनि काम अघि नबढे ठेक्का तोड्न बाध्य हुने बताए। खाङसाङमा निर्माणाधीन पुल स्थानीयसँगको विवाद देखाउँदै रोकिएपछि निर्माणाधीन पुलमै घाँस उम्रेर जीर्ण बनिसकेको छ।
त्यसैगरि सोखुखोलामा भने नेपाल प्रगतिले काम गर्छु भनेर नगरिकन भागेकोले गत वर्षदेखि आफ्नो कम्पनीले काम थालेको पप्पुका प्रतिनिधि सुजित कुशवाहाले बताए। ‘नेपाल प्रगतिले काम गर्छु भनेर सुरु गर्यो। उ भागेपछि हामीले पोहोरदेखि काम गर्यौं,’ उनले भने, ‘हामीले काम गरेपछिकै एक करोड भन्दा बढी निकासा रोकिएको छ। यदी निकासा भो भने हामी अबको सात महिनामा काम सक्छौंँ।’ सोखुखोला पुल भ्याट बाहेक करिब ८ करोडमा ठेक्का लागेको हो। हालसम्म ६० प्रतिशत भन्दा बढी काम सकिएको पप्पुको दाबी छ।
बादुरा खोलाको पुल भने ठेक्कामा उल्लेख गरिएको फलामको रकमको कारणले ढिला भएको ठेकेदार कम्पनीको दाबी छ। ठेक्कामा फलाम प्रतिकिलो ८० रुपैयाँ लेखेकोमा आठ मात्र उल्लेख भएको भन्दै प्रतिकिलो आठ रुपैयाँकै दरले काम गरिरहेको कम्पनीका प्रतिनिधि रामप्रसाद पन्तले बताए। हाल बजारमा १ सय २० रुपैयाँ प्रतिकिलो फलाम भएकोमा एक सय १२ रुपैयाँ घाटा सहेर काम गरिरहेको उनले बताए। तर पुलको धेरैजसो काम सकिसकेको छ। अबको तीन महिनामा ढलान सक्ने उनले बताए।
४ करोड १५ लाखमा ठेक्का लागेको बादुरा खोला पुल नबन्दा वर्षामा घण्टौं सम्म सवारी आवतजावत रोकिने गरेको छ। मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डमा पुल नबन्नाले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा आवत् जावत तथा यस क्षेत्रकै विकास प्रभावित भएको कारण विकास समितिले अनुगमन गरी सरकारलाई त्यही अनुसारको निर्देशन तथा सुझाव दिन स्थलगत अनुगमन गरिएको विकास समिति सदस्य एवं सांसद यज्ञराज सुनुवारले बताए। अनुगमनमा समिति ल्याउन पहल गरेका उनले समितिले तत्कालै निर्देशन दिएको पनि बताउ।
ती पुलहरु निर्माण नहुँदा ओखलढुंगासहित खोटाङ र सोलुखुम्बुबाट संघीय राजधानी आवत जावत गर्ने सडकमा वर्षेनी बाढीले सडक अवरुद्ध हुने गरेको छ। सिन्धुलीको फिक्कल गाउँपालिका ४ मा पर्ने खाङसाङ, सोही गाउँपालिका ६ मा पर्ने सोखु खोला र बादुरा खोला गरी तीनवटा पुल ठेक्का लागेको आठ वर्षमा पनि नबनेका हुन्। यो भू–भाग ओखलढुंगाको दक्षिणी भेगको प्रवशेद्वार समेत हो। यो राजधानी काठमाडौं हुँदै सदरमुकाम ओखलढुंगा, छिमेकी जिल्लाहरु उदयपुर, खोटाङ र सोलुखुम्बु र ओखलढुंगाका सुनकोसी तथा पलापु गाउँपालिका आवत जावत मुख्य मार्ग हो।
पुल नहुँदा उपभोग्य वस्तु ढुवानी तथा आवत जावतमा अवरोध आउने भएकाले पहाडी जिल्लाका उपभोक्ता मर्कामा परेको उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए। उनले अलपत्र पुल निर्माण चाँडो गराउन सबै पक्षबाट पहल हुनु पर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !