प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार दोस्रो जित
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले प्रदेश १ लाई एक सय १३ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २६.५ ओभरमा अलआउट हुँदै ९१ रन मात्र जोड्न सक्यो । प्रदेश १ लाई सस्तैमा समेट्न आर्मीका सुशन भारीले ह्याट्रिक गरे । उनले २६औं ओभर लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । यस्तै करण केसीले दुई तथा जितेन्द्रकुमार मुखिया, हरि चौहान र साहब आलमले एक÷एक विकेट हात पारे । प्रदेश १ का राजन मगरले २६ रन बनाए । यस्तै मुकुन्द यादवले १८ र रवि रोयले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा जोड्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा अलआउट हुँदै दुई सय चार रन मात्रै बनाउन सक्यो । आर्मीका लागि राजेश पुलामीले ५६ रनको अर्धशतकीय पाली खेले । यस्तै हरि चौहानले ४१, कप्तान विनोद भण्डारीले ३०, करन केसी २६ र कुशल मल्लले १६ रन बनाए । प्रदेश १ का दीपेश कँडेलले तीन विकेट लिए । यस्तै सिद्धान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले दुईदुई विकेट लिए । आर्मीका राजेश पुलामी खेलको म्यान अफ दी म्याच घोषित भए ।
जितसँगै समूह बीमा रहेको आर्मीले दुई खेलबाट चार अंक जोडेको छ । अंकतालिकाको शीर्ष स्थानमा रहेको आर्मीले पहिलो खेलमा प्रदेश २ लाई एक सय ७१ रनले पराजित गरेको थियो । यसैगरी अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित ग¥यो । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा अलआउट हुँदै एक सय ८५ रन बनायो । पुलिसका दिलीप नाथ र कुशल भुर्तेलले अर्धशतकीय पाली खेले । दिलीप नाथले ७२ र कुशलले ६२ रन बनाए । पुलिसका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशका सुदन पोखरेल उक्लैले पाँच विकेट लिए । यस्तै दिवानले पुनले दुई तथा दिनेश अधिकारी र रवीन्द्र शाहीले एकएक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको कर्णाली २७ ओभरमा ९१ रनमै समेटियो । कर्णालीका सुशान्त थापाले २९ रन बनाए । यस्तै महेश खत्रीले १७ र दिनेश अधिकारीले १६ रन बनाए । कर्णालीलाई धराशायी बनाउन पुलिसका आरिफ शेखले चार विकेट लिए । यस्तै ललित राजवंशीले तीन तथा सागर ढकाल, पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारे । जितसँगै पुलिसले दुई अंक जोडेको छ । प्रतियोगिताका विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।