यार्सागुम्बा टिप्न लेकतिर
गोरखा : यार्सागुम्बा संकलन गर्न स्थानीय लेक गएपछि छेकम्पार दुई सातादेखि सुनसान छ। चुमनुब्री गाउँपालिका–७ को छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, फुर्पे, पाङ्दुन, छुले र निले गाउँका अधिकांश घरमा ताला लागेको स्थानीय निमा लामाले जानकारी दिए। यी गाउँका करिब पाँच सय घरधुरीबाट दुईहजारभन्दा बढी स्थानीय लेक लागेकाले गाउँ नै रित्तो भएको वडाध्यक्ष पासाङ फुञ्जो लामाले बताए। ‘यार्सागुम्बा टिप्न जान नसक्ने बुढाबुढी घर कुरेर बसेका छन्’, लामाले भने, ‘बुढाबुढी नभएको घरका मान्छे घरमा ताला लगाएर लेक गएका छन्।’
यार्सागुम्बा टिप्न डेढ महिनासम्म उनीहरु लेकमै रहन्छन्। स्थानीयको शान्ति सुरक्षाका लागि प्रहरी पनि गाउँलेसँगै लेकतिरै गएको गएका छन्। छेकम्पार सीमा प्रहरी चौकीमा कार्यरत ६ जनामध्ये तीनजना लेकतिरै गएका छन्। बालबच्चा समेत यार्सागुम्बा संकलन गर्न गएपछि छेकम्पारका विद्यालय पनि बन्द भएका छन्। आवासीय सुविधासहित सञ्चालित बुद्ध आधारभूत विद्यालयबाहेक छुलेनिले र छेकम आधाभूत विद्यालय बन्द छ।
बुद्ध आधारभूत विद्यालयमा पनि यार्सागुम्बा संकलन गर्न नसक्ने उमेरका बालबालिका मात्र छात्रवासमा छन्। अरु सबै लेकतिर गएका विद्यालयले जनाएको छ। ‘दुई कक्षासम्म पढ्ने २०, २१ जना बालबालिका छन्’, प्रधानाध्यापक छिरिङ फुञ्जो लामाले भने, ‘तीन कक्षाभन्दा माथिका त सबै गएका छन्।’
चुमनुब्री–१ सामागाउँ र सामाका वासिन्दा पनि यार्सागुम्बा संकलन गर्न जाने तयारीमा रहेको वडाध्यक्ष वीरबहादुर लामाले जानकारी दिए। सबैजना लेकतिरै जाने भएपछि मेलमिलापकर्ता छनोट गर्न र न्यायिक समितिको तालिममा सहभागी हुने मान्छे पनि नपाइएको वडाध्यक्षको भनाइ छ। ‘यार्सागुम्बाबाट आएको पैसाले गाउँलेले वर्षदिन गुजारा चलाउनुपर्छ’, वडा नं. १ का अध्यक्ष लामाले भने, ‘यस्तो अवस्थामा नजानु भन्नु पनि कसरी।’
केही वर्षयता सामागाउँ र छेकम्पारका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बा बनेको छ। ‘एकजनाले कम्तीमा २० हजारदेखि बढीमा दुईलाख रुपैयाँसम्म कमाउँछन्’, वडा नं. ७ का अध्यक्ष पासाङ फुञ्जोले भने, ‘चाइनिज ठेकेदारलाई यार्सागुम्बा बेचेपछि कमाएको पैसाले तिब्बती बजार जोङ्गामा गएर वर्षदिनलाई पुग्ने रासन ल्याउँछन्।’
यार्सागुम्बा संकलन गरेबापत प्रतिव्यक्ति पाँचसय रुपैयाँ राजस्व संकलन गर्नुपर्ने नियम छ। जसमध्ये २५ प्रतिशत मनास्लु संरक्षण क्षेत्र आयोजनाले राख्ने र ७५ प्रतिशत रकम गाउँको कोषमा राख्ने नियम भएको वडाध्यक्ष लामा पासाङले जानकारी दिए। सामागाउँमा बुधबारदेखि यार्सागुम्बा संकलन गर्ने निर्णय भएको वडाध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !