विस्फोटमा मारिने नागरिक होइनन् : गृहमन्त्री थापा
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले आइतबारको विस्फोटमा मृत्यु भएका सामान्य नागरिक नभएको बताएका छन्। सोमबार प्रतिनिधिसमा बैठकमा बोल्दै गृहमन्त्री थापाले विस्फोटमा मृत्यु, घाइते भएका सबै जसो विप्लव समूहसँग सम्बद्ध रहेको भन्दै उनले गैरकानुनी काम गर्ने सर्वसाधारण नहुने अभिव्यक्ति दिएका हुन्।
‘उनीहरु सामान्य जनता होइनन्। घटना घटाउने कै ज्यान गएको छ’ थापाले भने–‘गैरकानुनी काम गर्ने सर्वसाधारण हुन सक्दैन’। उनीहरू घटना घटाउन बम बनाउने क्रममा मारिएकाले उनीहरूलाई साधारण नागरिक भन्न नहुने उनले बताए।
प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले विप्लवले जनसरकारकारुपमा जनपरिषद् र जनसेनाकारुपमा चार कम्पनी गठन गरेको जानकारी दिए। उनीहरूको मुख्य निशाना काठमाडौं उपत्यका रहेकोसमेत उनले बताए। विप्लव समूहसँग सरकारको साँटगाँट त छैन ? भन्ने सांसदहरुको प्रश्नमा जवाफ दिँदै उनले यो प्रश्न नाजायज रहेको बताए। ‘यी नाजायज प्रश्न हुन ? कतै यी प्रश्नहरुको चाँही उनीहरुसँग त सम्बन्ध छैन भनेर उल्ट्याएर हेर्न सकिन्छ’ उनले भने-'मलाई लाग्छ यी विषयहरु हैनन्’।
यस सरकारको पालामा शान्ति सुरक्षामा सुधार आएको गृहमन्त्रीले दाबी गरे। सांसदका जिज्ञासामा जवाफ दिँदै गृहमन्त्री थापाले सम्पूर्णरुपमा शान्ति सुरक्षा कायम गर्न नसकिएको भएपनि आफू सरकारकामा आएका बेला र अहिलेको अवस्थालाई तुलना गर्दा शान्ति सुरक्षाको मामलामा सरकार सफल दाबी गरेका हुन्। विप्लव समूहसँग वार्ताको पहल पनि भएको उनले दाबी गरे।
बैठकमा प्रतिपक्षी दलका सांसदले शान्ति सुरक्षा दिने कुरामा सरकार असफल भएको भनी आलोचना गरे। सरकारको कमजोरीका कारण जनता त्रासमा रहेको उनीहरुको भनाई थियो। विप्लव समूहले शान्ति र स्थायीत्वकाविरुद्ध संविधान विरोधी गतिविधि गरेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने गृहमन्त्री थापाले बताए।